मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७९ फाल्गुण ४ बिहीबार २१:०६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जावलाखेलकाे फाइनल यात्रा तय, बाहिरियाे संकटा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ फाल्गुण ४ बिहीबार २१:०६:००

संकटा क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब ललितपुर जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब ललितपुरले १–० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो। 

जितसँगै जावलाखेल युथ क्लब ललितपुरले कम्तीमा उपविजेताको उपाधि सुरक्षित गरेको छ भने पराजित हुँदै संकटा क्लब उपाधि होडबाट बाहिरिएको छ। 

पहिलो हाफसम्म बराबरीको अवस्थामा रहेको खेलको ४९औँ मिनेटमा जावलाखेलका सुनील खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

हिसुब थपलियाको क्रस पासमा खड्काले गोल गरेका हुन्। दोस्रो हाफपछि केही सुधारिएको खेल प्रदर्शन गरेको जावलाखेलले केही आकर्षक अवसरहरूसमेत सिर्जना गरेको थियो । तर, खेलमा थप गोल भने गर्न सकेन। 

खेलको दोस्रो हाफमा संकटाका खेलाडीहरूले गरेको सशक्त प्रहारको जावलाखेलका गोलरक्षक अनिस देउलाले उत्कृष्ट बचाउ गरे। 

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खड्काको गोल नै निर्णयक बन्यो। टिमको निर्णायक पहिलो गोलमा ‘असिस्ट’ गरेका हिसुब थपलिया खेलको म्यान अफ दी म्याच घोषित हुँदै ट्रफी र १० हजार पुरस्कार प्राप्त गर्न सफल भए।

खेलको सुरुदेखि नै दुवै टोलीकाे प्रदर्शन भने फितलो रह्यो। जितसँगै फाइनल प्रवेश गरेको जावलाखेल युथ क्लब ललितपुरले शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलका विजेता टोलीसँगउ पाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आयोजक बागमती युवा क्लबका अनुसार शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडाैं र सुदूरपश्चिम–११, धनगढीबीच प्रतिस्पर्धा हुनेछ। 

शुक्रबार हुने दोस्रो सेमिफाइनल प्रतिस्पर्धाका लागि सुदूरपश्चिम–११, ले प्रिक्वार्टरफाइनलमा पाहुना टोली युनाइटेड कुर्सेङ फुटबल क्लब दार्जिलिङ र क्वार्टरफाइनलमा चर्चब्वाइज युनाइटेड ललितपुरलाई पाखा लगाएको थियो भने एक खेल बाई पाएको मच्छिन्द्र फुटबल क्लब काठमाडाैंले क्वार्टरफाइनलमा आयोजक बागमती युवा क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

फागुण ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख राजर्षि जनक कप र उपविजेता टोलीले नगद ५ लाख प्राप्त गर्ने छन्। 

रणनीतिअनुसार खेले नतिजा हाम्रो भयो : सुनील श्रेष्ठ, प्रशिक्षक जावलाखेल

पहिले त हामीले लिएको रणनीतिअनुसार नै केटाहरूको प्रर्दशन रह्यो। पहिलो गोल हाम्रो हुनुपर्छ भन्ने थियो। त्यो सफल भयो। जसले गर्दा खेलाडीहरू उच्च मनोबलमा अन्तिमसम्म रहे। 

अनुभवी र राष्ट्रिय टिममा आबद्ध भइसकेका खेलाडी विपक्षी टिममा रहेकाले खेलाडीमा दबाबको अवस्था थियो। तर, पहिलो र निर्णायक गोल भयो त्यसले गर्दा नतिजा हाम्रो पक्षमा आएको हो। 

नयाँ भर्खरका खेलाडी भए पनि उनीहरूबीचको तालमेल पूर्ण टिमवर्क थप सशक्त रह्यो। प्रदर्शन पनि पहिलोभन्दा दोस्रो, दोस्रोभन्दा तेस्रो उत्कृष्ट हुँदै गएको महसुस भइरहेको छ।

अवसर सदुपयो गर्न सकेनौँ : सल्यान खड्गी, प्रशिक्षक संकटा

मुख्य त पाएका अवसरहरूलाई सदुपयोग गर्न नसक्दा पराजय ब्यहोर्नुपर्यो। पहिलो हाफ निकै चुनौतीपूर्ण बन्न गयो । खेलाडीहरूबीच तालमेल हुन सकिरहेको थिएन। जसले गर्दा हामीले स्कोर गर्ने अवसर नै आएन। 

दास्रो हाफमा खेलाडी लयमा देखिएका थिए। तर, त्यति बेलासम्म हामी १ गोलले पछि पर्यौँ । त्यसपछि प्रेसर पनि पर्यो। समग्रमा हामीले उत्कृष्ट प्रदर्शन गर्न नसक्नुनै हारको कारण बन्न पुग्यो।