Skip This
टर्की भूकम्पमा अहिलेसम्म ४१ हजारले गुमाए ज्यान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १३:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

टर्की भूकम्पमा अहिलेसम्म ४१ हजारले गुमाए ज्यान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:५५:oo

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्। दुवै देशमा हजारौँ घरबारविहीन भएका छन्। 

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सयजनाको मृत्यु भएको छ। 

टर्कीमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ। सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन्। टर्कीमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ। टर्कीमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन्। 

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका दशवटा प्रान्तमा अकल्पनीय क्षति भएको छ। छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ। 

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै संघर्ष गरिरहेका छन् भने भूकम्पको एक सय २०५ घन्टापछि एक महिलासहित नौजनालाई जीवितै उद्धार गरिएको छ।

टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताए। राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उनले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा आफ्नो देश परेको बताए। 

आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ। टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। 

अदाना सहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन्। भवन संहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ। 

टर्कीको तुलनामा सिरियाको स्थित दयनीय बनेको संयुक्त राष्ट्रसंघका अधिकारीहरूले बताएका छन्। युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुखले दुवै देशका करिब दुई करोड २६ लाख भूकम्पपीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन्। प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा संक्रामक रोगको जोखिम बढेको छ। 

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन्। 

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ। सिरियाका भूकम्पपीडितले आफूहरूलाई मार्न वा आफ्ना घर फर्काउन माग गरेका छन्। गृहयुद्धका कारण आफ्नै भूमिमा शरणार्थी बनेका उनीहरूले सिरिया सरकारसँग घरफिर्तीको माग गरेका हुन्। 

संयुक्त राष्ट्रसंघले आगामी तीन महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग नगद सहयोग गर्न अपील गरेको छ। 

महासचिव एन्टोनियो गुटरेसले टर्कीका लागि पनि सहयोग जुटाउन विश्व समुदायसमक्ष आग्रह गरेका छन्। टर्कीको रेडक्रिसेन्टले आगामी डेढ वर्षसम्म क्षतविक्षत टर्कीमा सहायता परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ। 

यसैबीच, दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनले पठाएका मानवीय सहायता सामग्री बोकका मालबाहक ट्रक सिरिया पुगेका छन्।

एलसाल्भाडोर, जर्मनी, मेक्सिको, कतार, दक्षिण कोरिया, स्विटजरल्यान्ड, युक्रेन र अमेरिकाबाट उद्धारकर्ताले ल्याएका तालिमप्राप्त कुकुरको सहयोगमा भूकम्पको एक सातापछि पनि भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्न सफलता प्राप्त भएको खोज तथा उद्धारमा संलग्न स्वयंसेवकहरूले बताएका छन्। 

लागुऔषध नियन्त्रण, सुरक्षा कारबाही र दैवी विपत्तिका वेला सहयोग गर्न विशेष रूपमा तालिम दिइएका कुकुर टर्की र सिरियाका भूकम्पले भत्काएका घरका भग्नावशेषबाट उद्धार गर्न साँच्चै सहयोगी भएका एकजना कतारी उद्धारकर्ताले एएफपीलाई बताए। 

प्रारम्भिक आकलनअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलरबराबरको क्षति भएको छ। झन्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ। एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन।
 

ad
ad