
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छिन्। शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
अध्यक्ष बास्कोटाले पार्टीका पूर्वअध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजे पनि आफूलगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन्।
बास्काेटाले विवेकशील साझा पार्टीका नेताहरूअधिकांश दलहरूमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरु उत्पादन गरिरहेको दाबी गरिन्। उनले पार्टीमा पूर्वअध्यक्षलाई गाली गर्ने आवाज उठेको भए पनि महाधिवेशन गर्नु नै रवीन्द्र मिश्रका लागि गतिलो झापड भएको बताइन्।
उनले महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने दाबी गरिन्।
उनले भनिन्, ‘यो मेरो ६ महिनाको सर्टटम गोल हो। किनभने पार्टी नै सक्याएर राप्रपाकरण गर्न खोजिएको थियो। तर पार्टीको अस्तित्व छ भनेर निर्वाचन आयोगमा हामी दर्ता भएर हामी चुनावमा गयौँ। हामी २ लाख १२ हजार मतलाई झारेर तल ल्यायौँ होला तर विवेकशील साझा तराजु चुनाव चिन्हमा चुनावमा खडा भयो। विवेकशील साझाका नेताहरु कांग्रेस, कम्युनिष्ट, रास्वपा, राप्रपा सबै दलमा हुनुहुन्छ। यो भनेको विवेकशील साझा विद्यार्थी उत्पादन गर्ने जस्तै नेताहरु उत्पादन गर्ने फ्याक्ट्री रहेछ । कयौँले पूर्व अध्यक्षलाई गाली गरौँ भने तर केही गर्नु पर्दैन, यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो। महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गर्छ, त्यो सबैभन्दा ठूलो झापड हो, गाली गर्नै पर्दैन, हारिसकेको मान्छेलाई हामीले फेरि किन हराउन जरुरी छ।’
अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनै पनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने तर्क गरिन्।