१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

१४ माघमै नेपाल आएका भारतीय मोन्टी देसाईलाई क्यानले नौ दिनपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ । औपचारिक जिम्मेवारी नपाए पनि देसाईले बन्द प्रशिक्षणमा खेलाडीलाई प्रशिक्षण दिइरहेका थिए ।

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo

नेपाल क्रिकेट संघ (क्यान)ले भारतका मोन्टी देसाईलाई नेपाल आएको नौ दिनपछि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आधिकारिक रूपमा मुख्य प्रशिक्षकको जिम्मेवारी नपाए पनि देसाईले नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा हेर्दै आइरहेका थिए । क्यानले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रक्रियागत ढिलाइ भएका कारण देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन ढिला भएको जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनबहादुर सिंहले सोमबार पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा देसाईलाई सार्वजनिक गरेका हुन् । प्रशिक्षक देसाई १४ माघमै नेपाल आइपुगेका थिए । नेपाल आएको भोलिपल्टदेखि नै देसाईले कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा पुगेर प्रशिक्षण दिएका थिए । क्यानका अध्यक्ष चन्दले देसाईको प्रशिक्षणमा राम्रो नतिजा निस्कने आशा व्यक्त गरे । यसका साथै चन्दले टोलीमा प्रशिक्षक धेरै समय नटिक्ने समस्याबाट छुटकारा पाउने बताए । 

दुई वर्षको सम्झौता अवधि
क्यानले तीन वर्षभित्र राष्ट्रिय क्रिकेट टोलीमा चार प्रशिक्षक परिवर्तन गरेको छ । मुख्य प्रशिक्षकले सम्झौताअनुरूप जिम्मेवारी नसम्हाल्दा नेपाली टोली अस्तव्यस्त बन्यो । तर, नवनियुक्त मुख्य प्रशिक्षक देसाईले सम्झौताअनुसारै कार्यकाल पूरा गर्ने क्यानका अध्यक्ष चन्दको भनाइ छ । क्यान र देसाईबीच दुई वर्षको सम्झौता भएको क्रिकेट म्यानेजर विनोद दासले बताएका छन् । उनले सम्झौताअनुसार देसाई नेपालमा वर्षको दुई सय ४० दिन रहनेछन् । ‘उहाँ (देसाई)सँग दुई वर्षको सम्झौता भएको छ । जसअनुसार उहाँ वर्षको २४० दिन नेपालमै बिताउनुहुन्छ,’ दासले भने । 

क्यानका अध्यक्ष चन्दले सरकारी प्रक्रिया र युवा तथा खेलकुदमन्त्री नहुँदा प्रशिक्षक नियुक्तिमा ढिलाइ भएको बताए । चन्दले प्रक्रिया पूरा भएर मात्रै देसाईलाई सार्वजनिक गरेको जनाए । ‘प्रशिक्षकलाई झिकाउन अलिकति ढिला भयो । यो प्रक्रियागत ढिलाइ हो । सरकारी प्रक्रियामा ढिलाइ र मन्त्री पनि नभएकाले प्रशिक्षक नियुक्तिमा समस्या आयो,’ चन्दले भने, ‘सबै प्रक्रिया पूरा भएपछि हामीले आज आधिकारिक रूपमा देसाईलाई सार्वजनिक गरेका हौँ ।’ क्यानले १४ माघमै देसाईलाई नेपाल झिकाएको उनले बताए । 

गत मंसिरमा भारतका मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रह्यो । यसबीचमा क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका पाँच प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो । त्यसपछि देसाईलाई नियुक्त गर्ने क्यानले निर्णय लिएको हो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो । सम्झौता सकिनुअघि नै प्रभाकरले पद छाडेका थिए । प्रभाकरको कार्यकालमा नेपाली टोलीमा खेलाडीबीच धेरै गुट बनेको थियो । साथै, प्रभाकरको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट स्पर्धामा गतिलो नतिजा निकाल्न सकेन । 

सन्दीप राख्ने वा नराख्ने  जिम्मा प्रशिक्षकलाई 
आउँदो फागुनमा नेपालले लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्दै छ । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित शृंखला २ फागुनेदखि हुँदै छ । क्यानले २० लाख धरौटीमा रिहा भएका पूर्वकप्तान सन्दीप लामिछानेलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाएको छ । सन्दीपलाई प्रशिक्षणमा बोलाउने क्यानको निर्णयप्रति चौतर्फी आलोचना र विरोध भइरहेको छ । क्यानका अध्यक्ष चन्दले सन्दीप अन्तिम टोलीमा पर्ने या नपर्ने प्रशिक्षक र छनोट कमिटीको हातमा रहेको बताए । ‘क्यान सन्दीपलाई राख्नैपर्छ र हटाउनैपर्छ भन्नेमा छैन । क्लोज क्याम्पमा रहेका सन्दीपलाई छनोट गर्ने या नगर्ने प्रशिक्षक र छनोट कमिटीको कुरा हो,’ चन्दले भने । 

निजी भ्रमणमा नेपाल आए रिजवान
पाकिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद रिजवानले लामिछानेलाई भेटेका छन् । रिजवानले नेपालको दुईदिने भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किसकेका छन् । आइतबार नेपाल आएका रिजवानले सोमबार बिहान नेपाली क्रिकेट टोलीलाई भेटेका थिए । रिजवानले बलात्कार अभियोगमा धरौटीमा छुटेका सन्दीपलाई होटेलमा भेटेका हुन् । रिजवानले सन्दीपलाई भेटेर हौसला तथा मनोबल बढाए । 

 एकदिवसीय मान्यता जोगाउन भूमिका खेल्ने
मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै देसाईले नेपालको एकदिवसीय मान्यता जोगाउन भूमिका खेल्ने बताएका छन् । उनले नेपाली खेलाडी क्षमतावान् रहेको र बाँकी खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन प्रयास गर्ने बताए । ‘नेपालका खेलाडी निकै क्षमतावान् छन् । मैले पहिला र अहिले पनि हेरेको छु । अहिलेको योजना १२ खेलमा रहेको छ ।

जुन खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने हुनेछ,’ देसाईले भने ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ मा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा १८ अंकका साथ छैटौँ स्थानमा छ । नेपाललाई १२ खेलमध्ये ९ खेलमा जित्नैपर्ने दबाब छ । यदि नजितेको खण्डमा नेपालको एकदिवसीय मान्यता खोसिने सम्भावना छ ।

देसाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । त्यस समय नेपालले भारतको यू–१९ टोलीलाई हराएको थियो । देसाईले सन् २०१४ को आइसिसी टी–२० विश्वकप छनोटमा सल्लाहकारकै रूपमा काम गरेका थिए ।

ad
ad