Skip This
रेमिट्यान्स कम्पनीका सञ्चालक नै हुन्डी कारोबारमा : अनलाइनमार्फत १७ करोडको अवैध कारोबार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार o७:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रेमिट्यान्स कम्पनीका सञ्चालक नै हुन्डी कारोबारमा : अनलाइनमार्फत १७ करोडको अवैध कारोबार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार o७:२९:oo

विदेशबाट औपचारिक रूपमा रेमिट्यान्स भित्र्याउने उद्देश्यले खोलिएको रेमिट्यान्स कम्पनीका सञ्चालक नै अवैध हुन्डीको कारोबारमा संलग्न देखिएका छन् । मोडर्न रेमिट्यान्स प्रालिका एक सञ्चालकलाई पक्राउ गरी प्रहरीले अन्यमाथि अनुसन्धान गरिरहेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोडर्न रेमिट्यान्सका सञ्चालकमध्ये एक उदयचन्द्र यादवलाई पक्राउ गरेको हो । उनी जिल्ला अदालत धनुषाको आदेशले जेल चलान भएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । उनलाई ब्युरोले २२ पुसमा पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनअनुसार अनुसन्धान गरी प्रहरीले अभियोजन गरेकोमा गत बुधबार जेल चलान भएका हुन् । 

एसएसपी आचार्यका अनुसार उनले अनलाइनमार्फत हुन्डीको कारोबार गर्दै आएका थिए । ‘भौतिक रूपमा पैसाको लेनदेन नगर्ने गरी अनलाइनमार्फत नै कारोबार गर्दै आएको देखिन्छ,’ एसएसपी आचार्यले भने, ‘हाम्रो अनुसन्धानमा उनले १७ करोड ६२ लाख २० हजारको कारोबार गरेको देखियो ।’ सोहीबराबरको रकमलाई प्रहरीले बिगो कायम गरेको थियो । उनको ल्यापटप तथा मोबाइल बरामद गरी प्रहरीले उनको कारोबारको विवरण पत्ता लगाएको थियो । भौतिक रूपमा पैसाको लेनदेन गर्दा जोखिम हुने भएकाले उनले अनलाइनमार्फत नै कारोबार थालेको आशंका गरिएको छ । नेपालमा भुक्तानी दिनुपर्ने व्यक्तिहरूलाई मोबाइल बैंकिङ तथा अनलाइन बैंकिङमार्फत दिने गर्थे । 

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको मोडर्न रेमिट्यान्सको उनी सेयरधनीमध्ये एक हुन् । कम्पनीकै आडमा उनले हुन्डीको कारोबार गरेको सिआइबी अनुसन्धानमा देखिएको छ । यसमा उनलाई सघाउने अन्य व्यक्तिउपर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

हुन्डी कारोबार फस्टाएका कारण पनि वैदेशिक मुद्राको सञ्चितिमा असर पर्दै आएको छ । हुन्डीबाट कारोबार हुँदा विदेशबाट नेपालमा पठाउनुपर्ने रकम उतै हुने र हुन्डी कारोबारीलाई नेपालबाटै भुक्तानी दिने गरेका छन् । यस्ता संगठित गिरोह धेरै भए पनि प्रभावकारी कारबाही हुन सकेको छैन । हुन्डी कारोबारीमाथि अनुसन्धान गर्न प्रहरीसँग पनि प्रस्ट कानुन छैन । कतिपयमाथि प्रहरीले आफैँ राष्ट्र बैंक ऐनअनुसार अनुसन्धान गर्छ भने कतिपयलाई राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने प्रहरीको दोहोरो कार्यशैली छ ।