१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माधव नेपालको दृष्टिमा यस्ता छन् अरू राजनीतिक दल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४७:oo

एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

नेपालले २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको चरित्रको विश्लेषण गरेका छन् ।  

राजनीतिक शक्तिहरू उपशीर्षकमा समेटिएको विश्लेषणमा उनले कांग्रेसलाई पुँजीपति वर्ग चरित्र भएको पार्टी भनेका छन् । ‘नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापि, यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।’

नेपालले एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भनेका छन् । ‘यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ,’ उनले लेखेका छन्, ‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लगाउँदैन भन्ने देखिन्छ ।’ 

नेपालले माओवादीलाई वर्ग अडान स्पष्ट नभएको राजनीतिक पार्टी भनेका छन् । सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण प्रक्रियामा आएको यो पार्टी शान्तिप्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ । तर, सत्तास्वार्थका निम्ति कुनै पनि वेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।’

नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुँजीपति वर्ग चरित्रको पार्टी भनेको छ । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको, संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति स्पष्ट दृष्टि नभएको पार्टीका रूपमा उनले रास्वपालाई विश्लषेण गरेका छन् । ‘यो पार्टी प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ,’ नेपालले भनेका छन् । 

राप्रपालाई उनले सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको बताएका छन् । ‘यो पार्टी समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र संघीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनर्स्थापना गर्न चाहन्छ,’ नेपालले उल्लेख गरेका छन् । 

नेपालले जसपालाई प्रजातान्त्रिक समाजवादी सिद्धान्त अँगालेको, संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध, जनमत पार्टीलाई विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनुपर्दछ भन्ने पृथकतावादी सोच अँगालेको पार्टी भए पनि अहिले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध दल भनेका छन् । 

लोसपालाई उनले बुर्जुवा चरित्रको पार्टी भनेका छन् । ‘मुख्य गरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहेको छ,’ उनले भनेका छन् । 

ad
ad