मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कन्सुलर सेवा विभागको अन्डरग्राउन्डमा छाप लगाउन लाइन बसेका सेवाग्राही (बायाँ) । कन्सुलर सेवा विभाग परिसरमा घाम ताप्दै विभागका कर्मचारी । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ १६ सोमबार ०७:२६:००
Read Time : > 4 मिनेट
समाचार प्रिन्ट संस्करण

कन्सुलर र राहदानी सेवा लिन सधैँ सास्ती : सेवाग्राही लाइनमा पालो कुर्दै, कर्मचारी घाम ताप्दै

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ १६ सोमबार ०७:२६:००

‘बिहान ९ बजे आएर लाइन बसेको बल्लतल्ल छाप लगाइदिए, एउटा पुलिस रिपोर्टमा छाप र तोक लगाउन चार–चार ठाउँ लाइन बस्नुपर्ने रै’छ,’ आइतबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा भेटिएका बौद्धका तेन्जिङ शेर्पाले भने, ‘यो ठाउँ कहिल्यै नसुध्रने भो ।’ उनी दिउँसो ४ बजेपछि मात्रै प्रहरी रिपोर्टमा तोक लगाएर फर्किएका थिए । 

आइतबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी र कन्सुलर सेवा विभागका कर्मचारी कार्यालय परिसरभित्र चौरमा घाम ताप्दै थिए । आफ्नो नियमित काम छाडेर कर्मचारी घाम ताप्नमा मस्त भइरहँदा सेवा लिन आएका मानिसको भिड निकै लामो भइसकेको थियो । राहदानी विभागतर्फ राहदानी बनाउन र कन्सुलर सेवा विभागतर्फ प्रहरी क्लियरेन्स प्रमाणपत्रको अनलाइन प्रमाणीकरण गर्न आउनेको भिड थियो । हातमा पुलिस रिपोर्ट र राहदानी बनाउने डकुमेन्टसहितको फाइल समाएर सयौँ सेवाग्राही कन्सुलर र राहदानीको कार्यालय भवनतिर भौँतारिरहेका देखिन्थे । भिडभाडका कारण गेटदेखि नै सेवाग्राहीको धकेलाधकेल देखिन्थ्यो ।

एउटै भवनमा राहदानी र कन्सुलरसम्बन्धी सेवा भएकाले कता कुन सेवा भन्नेमा समेत सेवाग्राही अलमलमा परेको देखियो । सेवाग्राहीको भिड व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मेहम्मे परिरहेको थियो । तर, कन्सुलर सेवा विभागमा सेवाग्राहीको प्रहरी रिपोर्टमा तोक लगाउने अधिकृत यज्ञ पौडेल भने कार्यालयको तेस्रो तलामा बिदाइ भएर जान लागेका महानिर्देशक धनबहादुर वली र कामु महानिर्देशक प्रकाशमणि पौडेलकहाँ गफिँदै थिए । रिपोर्टमा तोक लगाउन उनको विकल्पमा अन्य कर्मचारी छैनन् । पौडेल महानिर्देशककहाँ गफिँदै गर्दा सेवा लिन पुगेका सेवाग्राही पहिलो तला र अन्डरग्राउन्डमा आ–आफ्नो प्रहरी रिपोर्ट कुरिरहेका थिए । 

बुटवल तामनगरका राजु घिमिरे पनि कन्सुलर सेवा विभागमा प्रहरी रिपोर्टमै छाप लगाउन लामबद्ध थिए । छिटो काम सकाएर फर्कने सोचमा उनी बिहान ९ बजे नै विभागमा पुगेर लाइन बसे । तर, छाप र तोक लगाउन सात घन्टा लाग्यो । ‘प्रहरीले व्यक्तिगत चारित्रिक विवरण पठाइसकेको डकुमेन्टमा एउटा छाप लगाउन एक दिन लाइन बस्नुपर्ने,’ उनले सुनाए, ‘भवन भव्य छ, तर सेवा झुर रहेछ, त्यसैले हो हाम्रो देश नबनेको ।’ 

गेट नम्बर ३ तर्फ रहेको राहदानी विभागमा सेवा लिन आउनेको भिड पनि थेगिनसक्नु छ । उसले पनि अन्डरग्राउन्डमै सेवाग्राही उभ्याइरहेको छ । अन्डरग्राउन्डदेखिको भिडले त्रिपुरेश्वर मुख्य सडकसमेत अवरोध हुने गरेको छ । राहदानी बनाउने प्रक्रिया थाहा नहुँदा कोही यताउत सोध्दै भौँतारिरहेका छन् । ‘पुरानो कार्यालयमा बरु छिटो सेवा पाइन्थ्यो, एउटै लाइन बस्दा काम सकिन्थ्यो, तर यहाँ थरीथरी लाइन बस्दा दिन बित्छ, काम सकिँदो रहेनछ,’ म्याग्दीबाट राहदानी बनाउन आएकी रिना सापकोटाले भनिन्, ‘एउटा राहदानी पाउन सात दिन दुःख पाएँ ।’ तर, विभागले आइतबार विभागको अनलाइन सिस्टम डाउन भएको भन्दै सेवाग्राहीलाई कुराएको थियो । 

 राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटा भन्छिन् -कार्यालयमा भिडभाड त छ, तर हामीले सबैखाले सेवा–सुविधा दिन सक्दैनौँ

त्रिपुरेश्वरस्थित राहदानी र कन्सुलर सेवा प्रवाह गर्ने भवनको आकार ठूलो भए पनि यसको सेवा प्रवाह भने कमजोर छ । आइतबार दिनभर दुवै सेवा लिन विभाग पुगेका सयौँ सेवाग्राहीले यसैगरी दुःख पाए । हुन त यहाँ भिडभाड हुने र सेवाग्राहीले दुःख पाएको आइतबार होइन, हरेक दिन सेवाग्राहीले राहदानी र कन्सुलर सेवा लिन आउँदा यसरी नै सास्ती खेप्नुपर्छ । एउटै भवनभित्र परराष्ट्र मन्त्रालयअन्तर्गतका यी दुईवटा विभागले सेवा प्रवाह दिने गरे पनि उनीहरूको सेवा सेवा प्रवाह भने कमजोर छ । यसअघि केशरमहलबाट सेवा प्रवाह गर्न साँघुरो भएको भन्दै एक वर्षअघि नयाँ भवनसहित कन्सुलर र राहदानी सेवा विभाग त्रिपुरेश्वर सरेको थियो । तर, यहाँ सरेपछि सेवाग्राहीलाई झन्झन् सास्ती हुने गरेको छ । पुरानो भवन फेरिए पनि सेवा प्रवाहको अवस्था भने फेरिएको छैन ।

 अन्डरग्राउन्ड पार्किङको ठाउँबाट सेवा प्रवाह, माथिल्लो तला खाली 
राहदानी र कन्सुलर सेवा विभागको अन्डरग्राउन्डलाई पार्किङ बनाउन काठमाडौं महानगरले चार महिनाअघि नै निर्देशन दिए पनि कन्सुलर सेवा विभागतर्फको अन्डरग्राउन्डमा पार्किङ छैन । गेट नम्बर २ बाट सेवा लिन छिर्दा सेवाग्राहीले यहाँ पार्किङ गर्न पाउँदैनन् । विभागले माथिल्लो तलमा प्रशस्त कोठा हुँदाहुँदै पनि सेवाग्राहीलाई अन्डरग्राउन्डमा निसास्सिने गरी लाइन लगाउने गरेको छ । कन्सुलर सेवा विभागमा तोक लगाउन सेवाग्राहीलाई अन्डरग्राउन्डमा लाइन लगाइन्छ ।

जब कि कार्यालयको दोस्रो र तेस्रो तला खाली छ । त्यहाँ अधिकृत तथा निर्देशकलाई छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । तर, सेवाग्राहीलाई भने अन्डरग्राउन्डमा अस्तव्यस्त हुने गरी उभ्याउने तथा ‘वेटिङ’ गराउने गरिएको छ । कन्सुलर सेवा विभागका सेवा लिन आउनेले सवारीसाधनसमेत पार्किङ पाउँदैनन् । त्यस्तै, गेट नम्बर ३ राहदानी विभागतर्फको गेटमा पनि प्रहरीले सेवाग्राहीको सवारी पार्किङ दिँदैन । यसअघि महानगरले विभागको अन्डरग्राउन्डमा पार्किङ कायम गर्न बताए पनि विभागले त्यसलाई अटेर गर्दै आएको छ । 

 गृह मन्त्रालयको अनुगमनपछि झन् खस्कियो सेवा 
झन्डै एक महिनाअघि १३ पुसमा तत्कालीन गृहमन्त्री रवि लामिछाने राहदानी र कन्सुलर सेवा विभागको अनुगमन गर्दै सेवा प्रवाह सहज बनाउन निर्देशन दिएका थिए । उनी अनुगमन जाँदा कन्सुलर सेवा विभागले झ्यालबाटै तोक लगाएर सेवाग्राहीको प्रहरी रिपोर्ट दिन्थ्यो । माघयता भने सेवाग्राहीलाई झ्यालबाटै तोक लगाएर फाइल दिइन्न । पुलिस रिपोर्टमा अधिकृत यज्ञ पौडेलले तोक लगाएपछि मात्रै प्रहरीले रिपोर्ट बाँड्छ । यस गर्दा सेवा प्रवाह झन् सुस्त भएको छ । पौडेलको विकल्पमा अन्य कर्मचारी नभएकाले उनी बिदा बसेमा, कार्यालय ढिलो आएमा, छिटो कार्यालयबाट निस्किएमा सेवा प्रवाह नै ठप्प हुन्छ ।

 कन्सुलर सेवा विभागका प्रवक्ता प्रकाश अधिकारी भन्छन् - भिड भएको राहदानी विभागतर्फ हो, हाम्रोमा होइन, हामीले छिटो–छिटो सेवा दिइरहेका छौँ । कहिलेकाहीँँ सेवाग्राहीको चाप बढ्छ ।

‘मैले सक्दो काम गर्ने हो, मेरो विकल्पमा अन्य कर्मचारी छैनन्, त्यसकारण छिटो सेवा प्रवाह गर्न सकिन्न,’ उनले भने, ‘कि त तोक लगाउनका अर्को कर्मचारी पनि राख्नुपर्‍यो ।’ उनका अनुसार दैनिक दुई हजारले कन्सुलरको सेवाका लागि अनलाइन फारम भर्छन् । फारम भरेअनुसार उनीहरूलाई अर्को दिन सेवा दिन भने नसकिने उनको भनाइ छ । त्यस्तै, पछिल्लो समय दिउँसो २:३० बजेदेखि नै कन्सुलरमा नयाँ सेवाग्राहीलाई प्रवेश दिइन्न । भिडभाड कम गर्न सेवा प्रवाहको समय लम्ब्याउनु साटो झन् घटाएपछि हरेक दिन भिडभाड हुन्छ । 

 विभाग भन्छ– पालो कुर्ने  विश्वव्यापी प्रचलन हो 
राहदानी विभागले सेवाग्राहीले पालोअनुसार नै सेवा पाइरहेकाले आ–आफ्नो पालो कुर्नुपर्ने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले राहदानी वितरण र उत्पादन प्रक्रियामा कुनै बिचौलिया नभएको दाबी गरेको छ । ‘राहदानी विभागको फारम भरेका सेवाग्राही मात्र आफ्नो अपोइन्टमेन्ट मिति र समयमा राहदानी विभाग आउनुहोला,’ विभागले भनेको छ, ‘पालो कुर्ने विश्वव्यापी प्रचलन हो ।’ 

 फारम भर्दा बिचौलियाकै भर, विभागले अनलाइन फारम भर्ने डेस्कसमेत राखेन 
लिखित फारम बन्देज गरिसकेको राहदानी र कन्सुलर सेवा विभागको अनलाइन फारम भर्न भने निकै सास्ती हुने गरेको छ । सातामा तीन–चार दिन दुवै निकायको सर्भर बिग्रन्छ । कहिले फारम भरे पनि फारम शुल्क तिर्ने सिस्टम नै ह्याङ हुन्छ । त्यस्तै, अनलाइन फारम भर्न नजाने, इन्टरनेटको पहुँच नभएकाहरू बिचौलियाकै भर पर्नुपर्छ । राहदानी विभाग कार्यालयको बाहिरपट्टि खोलिएका विभिन्न साइबर नै यसका बिचौलिया हुन् ।

फारम भर्न नजान्ने र राहदानी तथा कन्सुलरको सेवा प्रक्रिया नै नजान्नेलाई बिचौलियाले ठगी गर्दै आइरहेका छन् । विभागले अनलाइन फारम भर्ने र बैंक भौचर तिर्न सहजीकरणसमेत नगर्दा चर्को मूल्य तिरेर सेवा लिन सेवाग्राही बाध्य छन् । साइबरहरूले अनलाइनमार्फत एउटा फारम भरेको चार सय रुपैयाँसम्म लिने गर्छन् । 

कन्सुलरमा बुझाउनुपर्ने पाँच सय शुल्क तिर्दा ८० रुपैयाँ छुट्टै चार्ज लिन्छन् । कतिपयले त फारम भर्नेदेखि राहदानी र प्रहरी रिपोर्टमा छाप लगाइदिने भन्दै सेवाग्राहीसँग २५–३० हजारसम्म लिने गरेका छन् । यसअघि सेवाग्राही ठगी गरेको भन्दै प्रहरीले केही बिचौलियालाई कारबाहीसमेत गरेको थियो । यसअघि १३ पुसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले अनुगमन गर्दा कार्यालयमै अनलाइन फारम भर्ने सुविधा दिनसमेत निर्देशन दिएका थिए । तर, नेपाल प्रहरीले हेल्प डेस्क सञ्चालन गरे पनि विभागले अनलाइन फारम भर्ने सुविधा दिन सकिरहेको छैन । 

राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटाले सबैखाले सुविधा सेवाग्राहीलाई दिन नसकिने बताइन् । ‘कार्यालयमा भिडभाड त छ, तर हामीले सबैखाले सेवा–सुविधा दिन सक्दैनौँ,’ उनले भनिन् । विभागले बिचौलियाले सेवाग्राहीलाई प्रलोभनमा पारेर चर्को मूल्य असुलेको प्रहरीलाई खबर गर्न आइतबार विज्ञप्ति जारी गर्दै आग्रह गरे पनि विभागअगाडि नै रहेका साइबरहरूले खुलेयाम ठगी गर्दा प्रहरी र विभागले अनुगमनसमेत गरेको छैन ।

बिचौलियाहरूले एउटा राहदानी नवीकरण गर्दा सेवाग्राहीबाट चार हजार रुपैयाँ लिने गरेका छन् । उनीहरूले ह्वाट्सएपमा कर्मचारीलाई म्यासेज टिपाउने र नवीकरण गर्ने गरेका छन् । विभागका अनुसार हाल विभाग र मातहतका कार्यालयमा देशभरबाट करिब १० हजार आवेदन पर्छन् भने दैनिक ६ हजार मात्रै राहदानी जारी हुन्छ । यो तथ्यांक जिल्ला प्रशासन कार्यालयसहित देशभरबाट वितरण हुने राहदानीसहितको हो । त्यस्तै, समयको हिसाबले एउटा राहदानी बनाउन २५ मिनेट लाग्छ । हालसम्म विभागबाट ५० हजारभन्दा बढी इ–पासपोर्ट जारी भइसकेको छ । 

कन्सुलर सेवा विभागका प्रवक्ता प्रकाश अधिकारीले भने १०–१५ मिनेटमै सेवा प्रवाह गरिरहेको दाबी गरे । ‘भिड भएको राहदानी विभागतर्फ हो, हाम्रोमा होइन, हामीले छिटो–छिटो सेवा दिइरहेका छौँ,’ उनले भने, ‘कहिलेकाहीँँ सेवाग्राहीको चाप बढ्छ ।’ उनले कन्सुलर बाहिरपट्टि चौरमा घाम ताप्ने कर्मचारी पनि विभागका नभएको दाबी गर्दै यदि कोही बसेको भए कारबाही हुनेसमेत दाबी गरे ।