मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १७:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भाजपा नेतृ राजनीतिक भेटघाटमा व्यस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १७:२०:००

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका लागि आफू प्रतीक्षारत रहेको बताएका छन्। नेपालको अनौपचारिक भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीसँग आइतबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गरेका छन्। 

प्रवक्ता इल्मीले आइतबारै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासँग भेटेकी थिइन्। प्रधानमन्त्रीसँगको भेटपछि इल्मीले ट्विटरमा लेखेकी छिन्, ‘दाजु सुनीलबहादुर थापासहित नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंमा भेट्न पाउँदा गर्व लागेको छ। उहाँले हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो स्नेह र सम्मान व्यक्त गर्नुभयो। उहाँ भारत भ्रमणका लागि प्रतीक्षारत हुनुहुन्छ।’

कांग्रेस नेता थापाका अनुसार भाजपा नेतृ इल्मीले संसदमा सबै दलको विश्वास प्राप्त गरेकोमा बधाई दिँदै त्यही मतको सन्देशअनुसार उनले सबैलाई मिलाएर अघि बढ्ने विश्वास व्यक्त गरेकी थिइन्। ‘विश्वासको मतलाई आत्मसात गर्दै अघि बढ्न उहाँले प्रधानमन्त्रीज्यूलाई सुझाव दिनुभएको छ। भारतको नेतृत्व र भाजपाबाट नेपाल सरकार, राजनीतिक दल र नेपाली जनताप्रति सद्भाव र सम्मान पनि उहाँले व्यक्त गर्नुभएको छ,’ थापाले भेटवार्तापछि भने। प्रधानमन्त्री प्रचण्डले भारतसँग नेपालले गहिरो समझदारी र साझेदारी गरेर अघि बढ्न चाहेको बताएका थिए। जलस्रोत र जलविद्युत् विकासलगायत विभिन्न क्षेत्रमा भारतसँग सहकार्य गरेर अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

सभापति देउवा र आफूसँगको भेटमा नेपाल र भारतबीच राजनीतिक दलहरू सम्बन्ध सुदृढीकरणमा जोड दिइएको थापाले बताए। ‘दुई देशमा जनस्तरको सम्बन्ध राम्रो छ। सरकारको स्तरमा पनि सम्बन्ध छ। तर, राजनीतिक दलबीचमा सम्बन्ध सुमधुर हुनुपर्ने आवश्यकता छ। राजनीतिक सम्बन्धले दुई देशबीचका समस्या समाधानका लागि महत्वपूर्ण र निर्णायक भूमिका खेल्छ भन्ने हाम्रो विश्वास हो। हाम्रो सभापति र मैले उहाँलाई यही कुरा भन्यौँ,’ पूर्वमन्त्री थापाले भने। तीन दिनअघि आएकी प्रवक्ता इल्मी आइतबार अपराह्न दिल्ली फर्केकी छिन्।