१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार ०७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थायी कमिटीमा पेस भएका प्रतिवेदन अध्ययन गर्दै माओवादी कार्यदल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार ०७:५६:००

माओवादी कार्यदलले स्थायी कमिटीमा पेस भएका विभिन्न प्रतिवेदनमाथि अध्ययन थालेको छ । महासचिव देव गुरुङको संयोजकत्वको कार्यदलमा उपमहासचिवहरू सदस्य छन् । वर्षमान पुन उपचाररत रहेकाले उनीबाहेकका उपमहासचिवहरू गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत कार्यदलमा छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष कृष्णबहादुर महराले पेस गरेको पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पेस गरेको संगठनसम्बन्धी प्रतिवेदन र उपमहासचिव गिरिराजमणि पोखरेलले पेस गरेको स्कुल विभागको प्रतिवेदनमाथि अध्ययन सुरु गरेको सदस्य पोखरेलले जानकारी दिए । 

उनका अनुसार प्रतिवेदनमाथि सदस्यहरूले उठाएका विषयसमेत समावेश गरेर कार्यदलले भावी योजना तयार पार्नेछ । आगामी सोमबार बस्ने बैठकमा कार्यदलले योजना पेस गर्नेछ । ‘निर्वाचनमा प्राप्त जनादेशको विश्लेषण गर्दै संगठनात्मक रूपमा पार्टीलाई सशक्त बनाउने प्रयासमा छौँ,’ पोखरेलले भने, ‘आज पनि हामीले कार्यदलमा दिनभरि छलफल गरेका छौँ । भोलि पनि छलफल हुन्छ । त्यसपछि पर्सि बस्ने स्थायी कमिटी बैठकमा योजना पेस गर्छौँ ।’ 

केन्द्रीय नेताहरूको कार्यविभाजनको विषयमा पनि कार्यदलले प्रस्ताव तयार पार्नेछ । नेपाल समाजवादी पार्टीसँग एकताको प्रस्ताव बैठकमा पेस भएको छ । एकीकृत समाजवादीसँग भने शीर्ष तहमा छलफल गरेर अगाडि बढ्नुपर्ने सुझाव कार्यदलको छ । कार्यदलको प्रतिवेदनका आधारमा स्थायी कमिटीले निर्णय गर्ने भएको छ । कार्यदललाई दुई दिनको समय दिएर स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको थियो ।