१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मेलबर्न
२०७९ माघ १५ आइतबार ०७:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सावालेन्कालाई पहिलो ग्रान्डस्लाम उपाधि

Read Time : < 1 मिनेट
मेलबर्न
२०७९ माघ १५ आइतबार ०७:४३:००

आर्यना सावालेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी छिन् । बोलारुसकी सावालेन्काले शनिबार मेलबर्नमा भएको महिला एकलतर्फको उपाधि भिडन्तमा काजकिस्तानकी एलिना रेबाकिनालाई २–१ को सेटमा पराजित गरिन् । पहिलोपटक ग्रान्डस्लाम उपाधि जित्ने क्रममा सावालेन्काले पुनरागमन जित निकालेकी हुन् । रोड लेभर एरिनामा पहिलो सेट इलिनाले ६–४ ले जितिन् । पहिलो सेट ३४ मिनेट चलेको थियो । यसपछि दबाबमा आएकी सावालेन्काले स्वाभाविक खेल खेल्दै पुनरागमन गर्न सफल भइन् । 

उनले दोस्रो सेटमा ६–३ को जित निकाल्दै १–१ को अवस्थामा पुर्‍याइन् । तेस्रो तथा निर्णायक सेटमा ६–४ को स्कोरमा उनले जित निकालिन् । महिला एकलतर्फ २४ वर्षीया सावालेन्काको पहिलो अस्ट्रेलियन ओपन तथा ग्रान्डस्लाम उपाधि हो । दुईबीचको फाइनल प्रतिस्पर्धा दुई घन्टा २८ मिनेट चलेको थियो । 

सावालेन्काले यसअघि युगलतर्फ सन् २०१९ मा युएस ओपन जितेकी थिइन् । सेमिफाइनलमा सावालेन्काले पोल्यान्डकी मेग्डा लिनेटलाई ७–६ (७–१) र ६–२ ले हराइन् । यसैगरी, रेबाकिनाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ६–२ र ६–४ ले पराजित गरेकी थिइन् । 

भावुक सावालेन्का
खेल जितेपछि सावालेन्का निकै भावुक भइन् । उनले आफ्ना समर्थकलाई धन्यवाद दिँदै उतरचढावका बीच सफलता हासिल गरेको बताइन् । ‘मेरो टोलीलाई धन्यवाद छ ! हामीले गत वर्ष निकै उतारचढाव भोगेका थियौँ, ट्रफी प्राप्त गरेपछि सावालेन्काले भनिन्, ‘मलाई माया गर्नुभएकोमा धन्यवाद !’ यसैगरी, सावालेन्काले अविश्वसनीय खेल प्रदर्शनका लागि एलिनालाई बधाई दिइन् । ‘अविश्वसनीय खेलका लागि एलिनालाई बधाई दिन चाहन्छु । तिमी एक महान् खेलाडी हौ,’ विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी सावालेन्काले प्रतिस्पर्धीको सम्मानमा भनिन् । रेबिकिना पहिलोपटक वरीयतामा दशौँभित्र स्थान बनाएकी थिइन् । सात महिनामा रेबिकिना दोस्रोपटक ग्रान्डस्लामको फाइनलमा पुगेकी हुन् । सावालेन्का र रेबिकिनाले पहिलोपटक मेलबर्नमा टेनिस खेलेका थिए ।