एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्यान्डको बैंककमा भएको एएसबिसी यू–२३ पुरुष तथा महिला च्याम्पियनसिपमा रजत विजेता नेपाली खेलाडी पुष्पा तामाङ स्वदेश फर्किएकी छिन् । शुक्रबार राति पदकविजेता पुष्पासँगै नेपाली टोली फर्किएको थियो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
खेलाडीलाई स्वागत गर्दै राखेपका सदस्यसचिव घिसिङले आफूले वाचा पूरा गरेको बताए । ‘प्रतिस्पर्धामा ऐतिहासिक प्रदर्शन गर्ने नेपाली बक्सिङ टोलीको भव्य स्वागत गर्ने बताएको थिएँ, आज मैले आफ्नो वाचा पूरा गरेको छु, यसमा खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्,’ घिसिङले भने । उनले विजेता खेलाडीहरूलाई नगद पुरस्कार घोषणा गरेका छन् । यद्यपि, ऐतिहासिक प्रदर्शन गरेकी पुष्पालाई कति रकम प्रदान गरी सम्मान गरिने भन्ने उनले बताएनन् ।
बैंककमा राम्रो प्रदर्शनका बाबजुद पदक जित्न नसकेका दुई मुक्केबाज लालप्रसाद उप्रेती र इन्द्र सुनारलाई पनि जनही २५ हजार रुपैयाँ दिने निवर्तमान प्रमुख प्रशिक्षक प्रकाश थापामगरले बताएका छन् । यसैबीच, प्रतियोगिताका समयमा अन्तर्राष्ट्रिय बक्सिङ संघ आइवाबाट सञ्चालन भएको अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल कोर्स परीक्षामा संघका केन्द्रीय सदस्य पुष्करराज पन्त र आइवा २ स्टार रेफ्री जज कोर्स परीक्षाका लागि नेपालका आइवा १ स्टार अन्तर्राष्ट्रिय रेफ्री जज रामचन्द्र थापामगरसँगै धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।
बढी अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउनु
नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले प्रतिभाशाली तथा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीलाई तत्काल बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बताएका छन् । ‘सुष्मालगायत सम्भावना भएका उत्कृष्ट खेलाडीहरूलाई तत्काल वैदेशिक प्रशिक्षण र बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्छ,’ महर्जनले भने । यसै वर्ष चीनमा १९औँ एसियन खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । एसियन खेललाई मध्यनजर गरी नेपालले तयारी गर्नुपर्ने महर्जनको भनाइ छ । ‘१९औँ एसियन गेम्समा पनि ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ, यसका लगि हामीले तयारी गर्नुपर्छ,’ १६औँ एसियन गेम्सका कांस्य पदक विजेतासमेत रहेका महर्जनले भने ।
४८ केजीमा रजत पदक
प्रतियोगिताअन्तर्गत महिलातर्फको ४८ किलो तौलसमूहका सुष्माले एसियनस्तरमा बलियो मानिएका भियतनाम र मंगोलियाका खेलाडीलाई ५–० र आरएससीका आधारमा पराजित गर्दैे फाइनल स्थान पक्का गरेकी थिइन् । फाइनलमा उज्वेकिस्तानका आइवा युथ विश्व च्याम्पियनसँग अंकका आधारमा उनी पराजित भइन् । पुष्पाले पहिलो राउन्डमा निकै राम्रो प्रर्दशन गर्दै ४–१ को स्प्लिट डिसिजनमा पछाडि परेकी थिइन् । दोस्रो र तेस्रो राउन्डमा उज्वेकिस्तानका खेलाडीको खेल रणनीति परिवर्तनपछि उनको निरन्तर आक्रमण र अंक बटुल्ने प्रयास असफल रहेको थियो । पदक विजेता अन्य खेलाडीमा महिलातर्फको फेदर वेट ५४ देखि ५७ किलो तौलसमूहमा हेमा राईले कांस्य, महिला लाइट हेभीवेटमा ७५ देखि ८१ किलो तौलसमूहमा त्रिशा जवेगुले कांस्य र पुरुषतर्फ क्रुजर वेट ८० देखि ८६ किलो तौलसमूहमा विजय बाटाले कांस्य पदक जितेका छन् । २० देशको सहभागिता रहेको सो एएसबिसी एसियनस्तरको यू–२२ बक्सिङ प्रतियोगितामा नेपालले एक रजत पदक र तीन कांस्य गरी चार पदक जित्दै वरीयताक्रममा सातौँ स्थान ओगट्न सफल रहेको छ ।