मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १४ शनिबार ०९:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दाङमा सीता एयरको परीक्षण उडान सम्पन्न

Read Time : < 1 मिनेट
२०७९ माघ १४ शनिबार ०९:२५:००

दाङको तुलसीपुर उपमहानगरपालिका–१२, टरीगाउँस्थित विमानस्थलमा शुक्रबार सीता एयरले परीक्षण सम्पन्न गरेको छ । दिउँसो साढे एक बजे सीता एयरको ९एन–एजेएच कलसाइन नम्बरको १९ सिटे जहाज टरीगाउँ एयरपोर्टमा अवतरण गरेको हो ।

सीताको जहाज विमानस्थलको रनवेमा पूर्व र पश्चिम दुवैतर्फबाट सफलतापूर्वक अवतरण गरेको थियो । विमानस्थलमा दुवैतर्फबाट जहाज अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डंगोलले बताए । ‘दुवैतर्फबाट अवतरण सहजै छ,’ उनले भने, ‘यहाँको समग्र प्रतिवेदन क्याल्कुलेसन गरेर प्रतिवेदन निकाल्छौँ ।’ 

विमानस्थलनजिकै रहेका रूख र पानीको ट्यांकीले उडान–अवतरणमा केही असहज बनाउने क्याप्टेन डंगालले बताए । यस्तै, आकाशमा चराहरू धेरै हुनाले उडान–अवतरणमा समस्या आउन सक्ने पनि उनको भनाइ छ । ‘विमानस्थलआसपासमा चराको गतिविधि धेरै रहेछ, नजिकै फोहोर धेरै हुन सक्छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने । 

सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले परीक्षण उडानको विस्तृत प्रतिवेदन आएपछि मात्रै नियमित उडान हुने बताए । अहिले नियमित उडान नहुँदा यात्रुहरूले पटक–पटक धोका पाउने गरेका छन् । नियमित उडानका लागि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । ‘समयमा जहाज नआउने, नियमित नआउने समस्या छ,’ उनले भने, ‘जसले गर्दा काठमाडौं जान–आउन नेपालगन्ज वा भैरहवा जानुपर्ने अवस्था छ, यहाँका नागरिकले सहज र नियमित सेवा पाउनुपर्छ भन्ने हो ।’ 

अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्विनअटर जहाजले सातामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार तुलसीपुरमा उडान गर्दै आइरहेको छ । केही समयअघि समिट एयरले पनि उडान गर्ने गरेको थियो । अहिले दाङ–काठमाडौंको न्यूनतम भाडादर आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौं–दाङको भाडा न्यूनतम नौ हजार १० रुपैयाँ रहेको छ । सीता एयरले उडान सुरु गरेपछि प्रतिस्पर्धा बढेर हवाई भाडा पनि घट्ने अपेक्षा गरिएको छ ।