Skip This
दिक्तेलका नगरप्रमुखले दिए जापानी समकक्षीलाई ‘चिन्डो’ उपहार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १३ शुक्रबार १९:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दिक्तेलका नगरप्रमुखले दिए जापानी समकक्षीलाई ‘चिन्डो’ उपहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १९:२४:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरपालिकाका नगरप्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्कने सामग्री उपहारस्वरूप प्रदान गरेका छन्। 

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका नगरप्रमुख भट्टराईले तोचिगी नगरप्रमुख हिदेकोलाई किराँत समुदायको संस्कार एवं संस्कृतिसँग सम्बन्धित बाबु (चिन्डो), चोयाबाट बनेको भुने तथा थुन्से, नेपालको हिमालको फोटो, बुद्धको मूर्ति, एकसिंगे गैँडाको मूर्ति, दुई देशको झन्डाअंकित लोगो (चिह्न) लगायतका उपहार प्रदान गरेका हुन्।  

भेटघाटका क्रममा नगरप्रमुख भट्टराईले नगरप्रमुख हिदेकोलाई दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका भ्रमणका लागि औपचारिक रूपमा निमन्त्रणासमेत दिएका छन्। ‘जापानको सडक, शिक्षा, कृषि, फोहाेर व्यवस्थापन र सरसफाइ, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्यबोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ, नगरप्रमुख भट्टराईले भने, ‘यहाँ (जापान) आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेकोभन्दा धेरै गुणा बढी ज्ञान तथा अनुभव गर्ने अवसर प्राप्त भएको छ। यसले मलाई थप ऊर्जा मिलेको छ। कार्यक्षेत्र फर्किएर कार्यान्वयनमा ल्याउँछु।’

गत मंसिर ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नगरप्रमुख भट्टराई गत पुस २९ गते भ्रमणका लागि जापान जाएका थिए। जापान भ्रमणका क्रममा नगरप्रमुख भट्टराई र ओखावा हिदेकोबीच हिजो (बिहीबार) औपचारिक भेटघाट भएको हो।

नगरप्रमुख भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झन्डा लहरै राखिएको थियो। भट्टराई गेटबाट प्रवेश गरेलगत्तै दायाँ–बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झन्डा हल्लाउँदै स्वागत गरेका थिए। 

खोटाङका शैक्षिक अभियन्ता सूर्यबहादुर राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र फोटो राख्दै नगरप्रमुख भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, सांस्कृतिक पहिचानजन्य सामग्री जापान पुर्‍याउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। 

नगरप्रमुख भट्टराईले तोचिगी नगरका नगरप्रमुख सामु नेपाल र जापानको घनिष्ठ र मित्रवत् सम्बन्ध अमर बनाउन तोचिगी गएको बताएका छन्।  

तोचिगी नगरले नगरप्रमुख भट्टराईलाई दिएको सम्मानले गौरवान्वित बनाएको आरआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताए। तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस सञ्चालन गर्दै आएका महेश लुइँटेलले नगरप्रमुख भट्टराईलाई दिएको सम्मान यसअघि तोचिगीको सरकारीस्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिए। 

दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्बन्ध स्थापित गर्न कोसेढुंगा साबित हुने र भगिनी सम्बन्ध स्थापित हुने संकेतका मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताए। नगरप्रमुख भट्टराई अहिले खोटाङमा जन्मिएर जापानमा कार्यक्षेत्र बनाएर बसेका नेपालीसँग भेटघाट गरिरहेका छन्।