
सिन्धुपाल्चोकको विकट स्थानीय तह जुगल गाउँपालिकाले घरबार नभएका विपन्न परिवारलाई निःशुल्क बिमा गरिदिएको छ । माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिद, घाइते र आम्दानीको स्रोत नभएका अतिविपन्न परिवारलाई गाउँपालिकाले जीवन बिमा गरिदिएको हो ।
गाउँपालिकाले कार्यविधि बनाएरै बिमा कार्यक्रम ल्याएको अध्यक्ष रेशम स्याङ्बोले बताए । आर्थिक अवस्था कमजोर भएका ६ सहिद, चार घाइते र २० अतिविपन्न परिवार छनोट गरेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट बिमा गरिएको हो । गाउँपालिकाले यो वर्ष बिमा रकम चार लाख ९६ हजार तीन सय ३८ रुपैयाँ इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गरेको छ ।
प्रत्येक परिवारको एक लाख रुपैयाँका दरले १० वर्षे बिमा गरिएको स्याङ्बोले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा विजयी भएपछि पदभार ग्रहण गर्दा स्याङ्बोले सहिद, घाइते र गरिब स्थानीयको निःशुल्क बिमा गर्ने घोषणा गरेका थिए ।
गाउँपालिकाले निःशुल्क जीवन बिमा गरिदिएपछि सहिद परिवार कृष्णकुमारी सिलवाल, चरिमाया तामाङ र अतिविपन्न गंगा श्रेष्ठलगायत लाभान्वित ३० परिवारले खुसी व्यक्त गरेका छन् । विपन्न परिवारको छनोट गरेर बर्सेनि बिमा संख्या थप्दै जाने योजना रहेको स्याङ्बोले बताए ।