१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ माघ ११ बुधबार ०७:४६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आदिलले म्याच ८ र १२ मा ‘स्पट फिक्सिङ’ गरेको पुष्टि

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ माघ ११ बुधबार ०७:४६:००

‘स्पट फिक्सिङ’ गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहम्मद आदिल आलमले १२ र १४ पुसमा भएको नेपाल टी–२० क्रिकेट खेलमा फिक्सिङ गरेको खुलेको छ । कीर्तिपुर क्रिकेट मैदानमा १२ पुसमा टी–२० को म्याच–८ चल्दै थियो । आदिललाई बिचौलियाले एउटा ‘नो बल’ र अर्को ‘वाइड बल’ हान्न प्रस्ताव गरेका थिए । मैदानमा उत्रिएका उनले पहिलोमा ‘नो बल’ र दोस्रोमा ‘वाइड बल’ हानेका थिए । 

आदिलले १४ पुसमा सोही मैदानमा म्याच–१२ मा पनि ‘स्पट फिक्सिङ’ गरेका थिए । उनलाई उक्त खेलमा पनि एउटा ‘नो बल’ र अर्को ‘वाइड बल’ हान्न प्रस्ताव थियो । क्रिजमा उत्रिएका उनले प्रस्तावअनुसार नै बलिङ गरेका थिए । प्रहरीका अनुसार उनलाई राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मेहबुब आलमले ‘स्पट फिक्सिङ’का लागि प्रस्ताव गरेका थिए । आलमले उनलाई सामाजिक सञ्जाल ‘ह्वाट्सएप’मार्फत प्रस्ताव गरेका थिए । सोही प्रस्ताव उनले खेलका क्रममा कार्यान्वयन गरेको नेपाल प्रहरीअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए । 

एसपी सञ्जयसिंह थापा, प्रवक्ता, सिआइबी

आदिललाई मेहबुब आलमले ‘स्पट फिक्सिङ’का लागि ‘एप्रोच’ गरेजस्तो देखिन्छ । उनलाई मेहबुबले सामाजिक सञ्जाल ‘ह्वाट्सएप’मार्फत फिक्सिङका लागि ‘एप्रोच’ गरेका थिए । सोहीअनुसार उनले दुईवटा म्याचमा फिक्सिङ गरेका छन् । जस्तो ‘एप्रोच’ आएको छ, सोहीअनुसार उनले बलिङ गरेका छन् । जसबाट उनले ‘स्पट फिक्सिङ’ गरेको पुष्टि हुन्छ ।

‘आदिललाई मेहबुब आलमले ‘स्पट फिक्सिङ’का लागि ‘एप्रोच’ गरेजस्तो देखिन्छ । उनलाई मेहबुबले सामाजिक सञ्जाल ‘ह्वाट्सएप’मार्फत फिक्सिङका लागि ‘एप्रोच’ गरेका थिए । सोहीअनुसार उनले दुईवटा म्याचमा फिक्सिङ गरेका छन् । जस्तो ‘एप्रोच’ आएको छ, सोहीअनुसार उनले बलिङ गरेका छन् । जसबाट उनले ‘स्पट फिक्सिङ’ गरेको पुष्टि हुन्छ,’ उनले भने ।

फिक्सिङको अभियोगमा सिआइबीले २० वर्षीय आदिललाई सप्तरीको राजविराजस्थित लंका टोलबाट र ४१ वर्षीय मेहबुबलाई मोरङको विराटनगर महानगरपालिका– १ शान्तिचोकबाट सोमबार पक्राउ गरेको थियो । मेहबुबले आदिलबाहेक अर्का एक विदेशी खेलाडीलाई पनि फिक्सिङको प्रस्ताव गरेका थिए । मेहबुबको सेभेन थ्री स्पोर्टस्बाट लिगको प्रसारण अधिकार लिएका भारतीय नागरिक जतिन आहुवालियासँग राम्रो सम्बन्ध छ । उनैबाट मेहबुबले फिक्सिङको अफर लिएका थिए ।

सिआइबी प्रवक्ता एसपी थापाले मेहबुबले फिक्सिङका लागि गरेको प्रस्ताव प्रमाणका रूपमा सुरक्षित रहेको बताए । ‘मेहबुबले सामाजिक सञ्जालमार्फत फिक्सिङको प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्तावको ‘स्क्रिन सट’ भेटिएका छन् । जसबाट उनी घटनामा संलग्न भएको पुष्टि हुन्छ,’ उनले भने । सिआइबीका अनुसार फिक्सिङमा दुई खेलाडीसहित १० जना संलग्न छन् । जसमा चार नेपाली र ६ विदेशी छन् । प्रहरीले नेपालका एक खेलाडी र बिचौलियाको भूमिका रहेका एक पूर्वखेलाडी पक्राउ गरिसकेको छ । अब दुई नेपाली पक्राउ पर्न बाँकी छन् । उनीहरूमध्ये एक टिम ओनर र अर्का म्यानेजर हुन् । त्यस्तै, विदेशीतर्फ एक खेलाडीसहित पाँचजनालाई पक्राउ गर्न बाँकी छ । जसमध्ये केही टिम म्यानेजर छन् भने केही टिमका स्टाफ र केही कोच पनि रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

सिआइबीका एसएसपी दिनेश आचार्यले ‘स्पट फिक्सिङ’का लागि पाँच खेलाडीलाई प्रस्ताव भएकोमा दुईजनाले मानेको र तीनजनाले अस्वीकार गरेको अनुसन्धानबाट खुलेको बताए । ‘स्पट फिक्सिङ’का लागि सबै गरी पाँच खेलाडीलाई ‘एप्रोच’ भएको देखिन्छ । जसमध्ये तीनजनाले टिम क्याप्टेनलाई जानकारी दिए । र, ‘एप्रोच’ अस्वीकार गरे । बाँकी दुईले भने कसैलाई जानकारी दिएनन् । र, ‘एप्रोच’ स्वीकार गरे । अनुसन्धानबाट त्यस्तै देखिन्छ,’ उनले भने ।

सिआइबीका अनुसार ‘स्पट फिक्सिङ’का लागि खेलाडीलाई बिचौलियाले ६ देखि १० लाख रुपैयाँसम्मको प्रस्ताव गरेका थिए । प्रस्ताव गर्ने बिचौलियको भूमिकामा मेहबुब थिए । जसको ‘मास्टरमाइन्ड’ भारतीय नागरिक जतिन थिए । सेभेन थ्री स्पोर्टस्का सञ्चालकसमेत रहेका उनले ३२ करोडमा सम्झौता गरी आगामी आठ वर्षका लागि नेपाल टी–२० को व्यवस्थापन अधिकार लिएका थिए । जसमध्ये उनले नेपाल क्रिकेट संघ (क्यान)लाई ९२ लाख मात्रै बुझाएका छन् । फिक्सिङमा प्रहरीले अनुसन्धान गरेलगत्तै उनी भागेर भारत पुगेका थिए ।