मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ११ बुधबार ०६:२९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुष्मा आज स्वर्णका लागि भिड्दै

एसियनस्तरको बक्सिङ प्रतियोगितामा पहिलोपटक फाइनल पुगेकी सुष्मा तामाङ बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग भिड्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ११ बुधबार ०६:२९:००

नेपालको बक्सिङ खेलवृत्तमा बुधबार एउटा कथा रचिन सक्छ । अब एक मात्र जितपछि सुष्मा तामाङले नेपालको बक्सिङ इतिहासमै कीर्तिमान कोर्नेछिन् । थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको एएसबिसी यू–२२ महिला बक्सिङ च्याम्पियनसिपमा सुष्माले बुधबार स्वर्ण पदकको भिडन्तका लागि उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । एसियालीस्तरमा कुनै पनि नेपाली पहिलोपटक फाइनलमा पुगेको यो नै हो । 

यसअघि नेपाली मुक्केबाज एसियन प्रतियोगिताको सेमिफाइनलभन्दा माथि उठ्न सकेका थिएनन् । थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन जारी राखेकी सुष्माले गत आइतबार प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई आरएससीका आधारमा पराजित गर्दै ऐतिहासिक रूपमा फाइनल स्थान सुरक्षित गरेकी थिइन् । सुष्माले मंगोलियन खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्दा तेस्रो राउन्डमा हराएकी थिइन् । रेफ्री स्टोप कन्टेस्ट (आरएससी)का आधारमा सुष्मालाई विजयी घोषणा गरिएको थियो । सुष्माले क्वार्टरफाइनलमा भियतनामकी क्युनहानलाई ५–० अंकका आधारमा हराएकी थिइन् । 

४८ केजी तौलसमूहमा सुष्माले कम्तीमा पनि रजत पदक सुरक्षित गरेकी छिन् । प्रतियोगिताको सेमिफाइनल खेलपछि सुष्माले राष्ट्रका लागि स्वर्ण पदक दिलाउने लक्ष्य रहेको बताएकी थिइन् । उनले यो सफलता प्राप्त गर्न लामो समयको मिहिनेत भएको जनाइन् । ‘यो सफलता प्राप्तिका लागि मैले धेरै समयदेखि तयारी गरेकी थिएँ,’ सुष्माले भनेकी थिइन्, ‘कम्तीमा ऐतिहासिक रूपमा रजत पक्का छ, तर मेरो लक्ष्य स्वर्ण हो ।’ 

सुष्माले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँगको कुराकानीमा बुद्धिमानीपूर्वक प्रतिस्पर्धा गर्ने बताइन् । ‘उज्वेकिस्तानी खेलाडी पनि मजस्तै डिफेन्सिभ र एट्याकिङ खेल्छिन् । मैले उनको खेल नियालेकी छु । मैले पनि अगाडि बढेर बुद्धिमानीपूर्वक खेल्ने स्ट्राटेजी बनाएकी छु,’ सदस्यसचिव घिसिङसँगको कुराकानीमा उनले भनिन् । घरेलु प्रतिस्पर्धामा सुष्मा नक्साल बक्सिङ क्लबमा आबद्ध छिन् । नक्सालमा उनलाई नवीन तण्डुकारले प्रशिक्षण गराउँछन् ।

यसैगरी, थाइल्यान्डमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका प्रशिक्षक दीपक महर्जनले सुष्माले फाइनल पनि जित्दै ऐतिहासिक स्वर्ण हात पार्नमा विश्वस्त भएको बताएका छन् । ‘सेमिफाइनलमा सुष्माले निकै राम्रो खेलिन्,’ सेमिफाइनल खेलपछि दीपकले भनेका थिए, ‘यद्यपि, सेमिफाइनलका प्रतिद्वन्द्वी पनि राम्रो बक्सर थिए ।’ पछिल्लो समय सुष्मा उत्कृष्ट फर्ममा रहेको दीपकको भनाइ छ । ‘उनी राम्रो लयमा छिन्,’ दीपकले भने । 

 मास्केले दिलाएको  पहिलो कांस्य
नेपालको बक्सिङ इतिहासमा पहिलो पदक मुक्केबाज उमेश मास्केले दिलाएका थिए । उनले सन् १९७९ मा भारतको मुम्बईमा भएको एसियन बक्सिङ च्याम्पियनसिपमा कांस्य हात पारेका थिए । त्यही नै नेपालको पहिलो एसियालीस्तरमा पहिलो पदक थियो । सन् १९८६ मा सोलमा भएको एसियन खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा ६ नेपाली मुक्केबाजले कांस्य जितेका थिए ।

सन् २०१० मा चीनको ग्वाझाउमा भएको एसियन गेम्समा दीपक महर्जनले कांस्य जितेका थिए । ग्वाझाउ एसियाडमा नेपालले प्राप्त गरेको एक मात्र पदक दीपकको नाममा थियो । दीपक अहिले थाइल्यान्डमा प्रशिक्षकका रूपमा नेपाली टोलीसँगै छन् । 

विजय र त्रिशा सेमिफाइनलमै सीमित
बैंककमा भइरहेको प्रतियोगितामा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु सेमिफाइनलमै सीमित भएका छन् । बैंककस्थित ह्वामार्क इन्डोर रंगशालामा महिलातर्फ ७५ केजी तौलसमूहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसँग अंकका आधारमा पराजित भइन् । पुरुष ८६ केजी तौलसमूहका नेपाली मुक्केबाज विजय बाटा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलबाट आरएसीका आधारमा पराजित भए । नेपालले एएसबिसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन कांस्य पदक जितिसकेको छ ।