मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ९ सोमबार १६:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कामै नसकी भुक्तानी लिने एनजिओलाई फोहोर उठाउने ठेक्का दिँदै तुलसीपुर उपमहानगर

Read Time : > 1 मिनेट
२०७९ माघ ९ सोमबार १६:४०:००

दाङको तुलसीपुर उपमहानगरको फोहाेर व्यवस्थापनको जिम्मा गैरसरकारी संस्था (एनजिओ)लाई दिने तयारी गरिएको छ । विवादित बनेको काठमाडौंको ‘इनरिच नेपाल’ नामक संस्थालाई उपमहानगरले फोहाेर व्यवस्थापनको जिम्मा दिने तयारी गरेको हो । त्यसका लागि उपमहानगरपालिकाको छैटाैँ कार्यपालिका बैठकले ठेक्का दिन प्रक्रियासमेत अघि बढाएको छ ।

फोहोर व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले प्रस्तावना पेस गर्न गत जेठमा आह्वान गरेको थियो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले इनरिच नेपाललाई जिम्मा दिने गरी विपत् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर ६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । सो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ ।

‘इनरिच नेपाल’ संस्था जीवन थापाले ल्याएका हुन् । उनले उपमहानगरपालिकामा आफ्नो प्रस्तावना पनि प्रस्तुत गरेका थिए । उनले प्रस्तावना लिएर नेपालगन्जको कोहलपुर नगरपालिकासहित विभिन्न स्थानमा काम गरिसकेको स्रोतले बताएको छ । यसअघि धनगढी उपमहानगरपालिकामा स्मृति बाटिका निर्माण गरेको भन्दै प्रगति प्रतिवेदनविना नै तीन लाख ७५ हजार भुक्तानी लिएपछि सो संस्था विवादित बनेको थियो । संस्थासँगको सम्झौतामा कम्तीमा एक हजार बिरुवा वृक्षारोपण सफल भइसकेपछि मात्र कार्य सम्पन्न प्रतिवेदनको आधारमा रकम भुक्तानी हुने व्यवस्था थियो । तर, उपमहानगरपालिकाले भने सम्झौतामा उल्लेखित बिरुवा रोपण कार्य, हुर्केका बोटबिरुवालगायत बाटिका निर्माणको प्रगति प्रतिवेदनविना नै एकमुष्ट रूपमा बाटिका निर्माण भएको झुटो विवरण बनाएर भुक्तानी दिएको थियो ।

यस्तै, थुप्रै समस्या ठाउँ–ठाउँमा देखिएपछि तत्कालीन नगरप्रमुख घनश्याम पाण्डेले थापालाई फोहाेर व्यवस्थापनको जिम्मा दिएका थिएनन् । तत्कालीन अवस्थामा पनि पटकपटक उनले फोहाेर व्यवस्थापनको जिम्मा पाउनुपर्ने भन्दै लबिङ गरेका थिए । ‘पटकपटक हामीकहाँ आउनुभयो । उहाँले हामीलाई धेरै आश्वासन पनि देखाउनुभएको थियो,’ तत्कालीन एक कार्यपालिका सदस्यले भने, ‘उहाँले आवश्यकताभन्दा बढी ललिपप देखाउन थालेपछि हामीलाई शंका लाग्यो र अनुमति दिएनौँ ।’

अर्कोतर्फ फोहाेर व्यवस्थापनको जिम्मा लिएर त्यसअनुसार काम नहुँदा आफूहरूले नै जनताबाट गाली पाउने अवस्था आउने भन्दै उपमहानगरपालिकाले नै यो जिम्मा लिनुपर्ने उनले बताए ।

अहिले नै फोहाेर व्यवस्थापनको जिम्मा दिने वा नदिने भन्ने कुरा टुंगो नलागेको र आफूहरूले यसमा अध्ययन गरिरहेको कार्यदल संयोजक वर्षात भण्डारीले बताए । ‘हामीले यसमा छानबिन गरिरहेका छौँ,’ उनले भने, ‘अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार हामी अघि बढ्छौँ ।’

उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले भने निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताइन् । निजी क्षेत्रसँग मिलेर फोहाेर व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।