
भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’सम्बन्धी सचिव प्रभात कुमारले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।
सोमबार मन्त्रालयमा भएको भेटमा प्रभात कुमारले नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास आयोजनाबारे जानकारी लिएका थिए । नेपालसँग अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको उनको भनाइ छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ठ छिमेकीको रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि सधैँ सहकार्यको हात बढाएकोमा खुसी व्यक्त गरे ।
भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल्वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा सञ्चालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको बताइएको छ । हाल निर्माणको क्रममा रहेका बालाजु–त्रिशूली सडक र भालुबाङ–बाग्दुला–भीमगोठे सडक एक्जिम बैंकको लगानीअन्तर्गतका हुन् ।