१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

व्यवस्थापन संकायमा विद्यार्थीको खडेरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार ०६:५८:००

प्रवेश परीक्षामै कोटा अपुग, क्याम्पसलाई तोकिएको कोटाको झन्डै आधा विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने अवस्था

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सेमेस्टर प्रणालीका कार्यक्रममै विद्यार्थीको खडेरी लागेको छ । विगतमा विद्यार्थीको निकै आकर्षण भएका क्याम्पसमा मास्टर्सका कोर्समा समेत विद्यार्थी पाउन मुस्किल भएको हो । त्रिविले सञ्चालन गरेको एमबिए, एमबिए–फाइनान्स, एमबिएम, एमटिटिएमजस्ता कोर्समा क्याम्पसलाई तोकिएको कोटाको झन्डै आधा विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने अवस्था छ । 

त्रिवि व्यवस्थापन डिनको कार्यालयले ६ माघसम्म सिम्याट (प्रवेश परीक्षा)को फारम भर्ने आधिकारिक समय दिएको थियो । तर, ५ माघसम्म अधिकांश कलेजमा आधा विद्यार्थीले पनि फारम भरेका छैनन् । व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गरेको र विद्यार्थीको धेरै आकर्षण रहने शंकरदेव तथा नेपाल कमर्स क्याम्पसमा समेत एमबिए–फाइनान्समा उस्तै अवस्था छ । नेपाल कमर्स क्याम्पस प्रमुख प्रा. ध्रुवप्रसाद सिलवालले एमबिए फाइनान्स र एमबिएममा ४४ जनाको कोटा रहेकामा १५ देखि १८ जनाले प्रवेश परीक्षाको फारम भरेको बताए । एमबिए–फाइनान्स नयाँ कार्यक्रम हो भने एमबिएमले अघिल्लो वर्षदेखि स्वीकृति पाएको थियो । त्रिविको नियमित कार्यक्रमअन्तर्गतको एमबिएसमा भने करिब चार सयले फारम भरिसकेका छन् । 

नियमितबाहेक मास्टर्सका कार्यक्रममा शंकरदेव क्याम्पसको हालत पनि उस्तै छ । यसपटक नयाँ स्वीकृति पाएको एमबिए–फाइनान्स अध्ययन गर्ने विद्यार्थीको अभाव छ । ४४ जनाको कोटा रहेको सो कार्यक्रम अध्ययनका लागि अहिलेसम्म २० जनाले मात्र प्रवेश परीक्षाको फारम भरेको क्याम्पस प्रमुख प्रा.डा. केशव जोशीले बताए । एमबिएसमा भने विद्यार्थी संख्या धेरै छ । त्रिविको अर्को आंगिक क्याम्पस पब्लिक युथमा पनि प्राइभेट कार्यक्रममा विद्यार्थी खडेरी छ । अघिल्लो वर्षदेखि अनुमति पाएर एमटिटिएम कार्यक्रम सुरु गरेको क्याम्पसमा प्रवेश परीक्षाका लागि फारम भर्नेको संख्या एकदमै न्यून छ ।

क्याम्पस प्रमुख बलराम थापाका अनुसार ४ माघसम्म चारजनाले मात्र प्रवेश परीक्षाका लागि फारम भरेका थिए । ‘केही कार्यक्रममा विद्यार्थी नपाएर समस्या छ, फारम खुलाएको झन्डै एक महिनामा एमटिटिएममा चारजनाले फारम भरेका छन्,’ थापाले भने । नेपालमा बसेर अध्ययन गरेपछि रोजगारी पाइन्छ भन्ने विश्वास कम भएको र विदेश अध्ययनमा जाने लहरले विद्यार्थीको संख्या कम भएको हुन सक्ने उनको भनाइ छ । ‘बैंकहरू मर्ज भइरहेका छन्, पर्यटन क्षेत्रमा समस्या छ, म्यानुफ्याक्चर इन्डस्ट्री कमजोर देखिन्छन् । जनशक्ति उत्पादन भएका छन्, तर रोजगारी पाएका छैनन्,’ उनले भने । 

विश्वविद्यालय क्याम्पसमै कम विद्यार्थी
त्रिविको विश्वविद्यालय क्याम्पसमै विद्यार्थी कम भएका छन् । व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराम शर्माले प्राइभेट कार्यक्रममा विद्यार्थी कम भएको जानकारी आएको बताए । ‘दोब्बर दस्तुर तिरेर फारम भर्ने समय एक हप्ता छ, कति आउँछन् हेरौँ, नतिजा ढिला भएकाले अझै विद्यार्थी आउन सक्छन्,’ उनले भने, ‘विद्यार्थी कता गइरहेका छन् भनेर अब खोजी गर्नुपर्ने भएको छ ।’