मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २८ बिहीबार ०६:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने : विश्व बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २८ बिहीबार ०६:२६:००

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहेको थियो ।  आगामी आव ०८०/८१ (सन् ०२३/२४) मा नेपालको आर्थिक वृद्धिदर थप खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । 

रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैंकको भनाइ छ । चालू आवमा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख छ । गत आवमा यो क्षेत्रको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । यसैगरी, आगामी आव ०२३/२४ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । 

यो वर्ष दक्षिण एसियाली मुलुकमा भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशतमा खुम्चिने बताइएको छ । गत आवमा भारतको आर्थिक वृद्धिदर ८.७ प्रतिशत थियो । यसैगरी, पाकिस्तानको आर्थिक वृद्धिदर भने दुई प्रतिशतमा झर्ने प्रक्षेपण छ । गत आवमा पाकिस्तानको आर्थिक वृद्धिदर ६ प्रतिशत थियो । यसैगरी, चालू आवमा भुटानको आर्थिक वृद्धिदर ४.१ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत, माल्दिभ्सको ८.२ प्रतिशत हुने अनुमान गरिएको छ । दुई वर्षदेखि आर्थिक संकटमा रहेको श्रीलंकाको आर्थिक वृद्धिदर यो वर्ष पनि ऋणात्मक हुने देखिएको छ ।

 यो वर्ष विश्वव्यापी अर्थतन्त्रको वृद्धिदर पनि खुम्चिने विश्व बैंकको प्रक्षेपण छ । यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण छ । जुन गत आवको भन्दा १.२ प्रतिशत बिन्दुले कम हो । गत आवमा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत थियो । तर, चालू आवमा भने आर्थिक वृद्धिदर घट्ने अनुमान छ । आगामी आव ०२३/२४ मा भने विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा उक्लिने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । महामारी, विश्वव्यापी आर्थिक मन्दी, रुस–युक्रेन युद्ध, विश्वव्यापी महँगी खराब वित्तीय अवस्थालगायतका कारण विश्वव्यापी अर्थतन्त्र प्रभावित भएको विश्व बैंकको भनाइ छ ।