
जुम्लाको पातारासी गाउँपालिका– १ गडीगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम ०८० वैशाख २ सम्म सम्पन्न गर्नुपर्नेछ। ९९८ किलोवाट बिजुली उत्पादन गर्न प्याकेज १ को ०७६ जेठ १० गते आयोजना सम्झौता भएको थियो। आउँदो वैशाखमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम भने ५० प्रतिशत मात्रै पूरा भएको छ।
यस्तै प्याकेज २ वितरणतर्फ ३१ भदौ ०७९ मा कार्य सम्पन्न गर्ने गरी १९ कात्तिक ०७७ मा आयोजना सम्झौता गरिएको थियो। लाइन वितरण कार्य भने लगभग सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका नरेशदत्त रावलले बताए। उनले भने, ‘उत्पादनतर्फ ५० प्रतिशत काम भएको छ। रफ्तारले काम गरेको खण्डमा असार मसान्तसम्म काम सम्पन्न हुने देखिन्छ।’
आउँदो वैशाख महिनाभित्र बिजुली बाल्ने गरी योजनाको काम भइरहेको जनाइएको छ। अहिलेसम्म विद्युतगृहको ड्यामसाइडको काम सकिएको छ भने विद्युतगृह निर्माण र पाइपलाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ। अब पावरहाउसलगायतका संरचनाको फिनिसिङको काम बाँकी छ। वैशाख महिनाभित्र बत्ती बाल्ने योजना रहेको चुकेनी विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए। ‘यो जिल्लाकै गौरवको आयोजना हो। आयोजनाको बजेट ४२ करोड रहेको छ। आयोजनामा गाउँपालिकाले सबै घरधुरीलाई सेयर लगानीमा समेटिएको छ,’ उनले भने।
चुकेनी खोलाबाट उत्पादन हुने विद्युत् आयोजनामा दुई करोड रुपैयाँ पातारासी गाउँपालिकाले समेत लगानी गरेको छ। तीन हजार तीन सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए। उनका अनुसार विद्युत् आयोजनामा कामदारको समेत सेयर लगानी हुनेछ।
एक हजार एक स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख रुपैयाँ सेयर लगानी गरेका छन्। आयोजनाले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या हल गरी जिल्लालाई नै उज्यालो बनाउने अपेक्षा गरिएको छ। आयोजनाबाट तीन हजार चार सय ५३ घर परिवार लाभान्वित हुने भने पनि नेसनल ग्रिडसँग जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ।
जुम्लाका दुईवटा आयोजना चुकेनी र जाल्पादेवी हाइड्रो बिजुली नेसनल ग्रिडसँग जडान गर्नका लागि फाइल अगाडि बढाइएको बताइएको छ। चुकेनी जलविद्युत् आयोजनाका ठेकेदार रामप्रसाद पाण्डेसँग आयोजनाबारे बुझ्न खोज्दा फोन ‘रिसिभ’ गरेनन्।