१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जब प्रेमीले नै घुम्ने प्रलोभनमा कोकिनको सुटकेस बोकाएर नेपाल पठाए...

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१४:oo

३२ वर्षीया युक्रेनी युवती डारिया एन्टोनेन्को पाँच वर्षदेखि थाइल्यान्डको बैंककमा बस्दै आएकी थिइन् । ब्युटिसियनका रूपमा त्यहाँ काम गर्ने उनको करिब चार वर्षअघि एक डिस्कोमा अफ्रिकी मूलका युवकसँग भेट भयो । त्यही भेटबाट नजिकिएर उनीहरू प्रेमी–प्रेमिका बने । 

उनै प्रेमीले गत महिना डारियालाई ब्राजिल घुम्नका लागि प्रस्ताव राखे । खर्चसमेत दिने बताएपछि उनी तत्कालै तयार भइन् । आफ्नो केही सामान पनि ब्राजिलबाट ल्याउनुपर्ने भन्दै उनलाई दुई हजार डलर खर्च दिएर टिकट काटिदिए । सोहीअनुसार गत १० डिसेम्बरमा डारिया ब्राजिलको साओ पाउलो पुगिन् । त्यहाँ उनलाई एक व्यक्तिले दुईवटा सुटकेस दिएका दिए । 

साओ पाउलोमा केही दिन बसेर २१ डिसेम्बरमा दुबई हुँदै नेपाल आइन् । प्रेमीले उनलाई ब्राजिलसँगै नेपाल पनि घुम्ने अफर गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनी सीधै ठमेलको बुद्ध होटेलमा पुगिन् । ‘आपराधिक प्रोफाइलिङ’का आधारमा विमानस्थलबाटै निगरानी गरेको प्रहरीले बेलुका उनलाई ठमेलमा पक्राउ गर्‍यो । उनका दुई सुटकेसबाट पाँच केजी ६ सय ग्राम कोकिन बरामद गर्‍यो । 

थप अनुसन्धानका क्रममा उक्त सुटकेस लिन थाइल्यान्डबाटै आएकी २५ वर्षीया थाई युवती अरिया फोनुकलाई ठमेलको अर्काे होटेलबाट पक्राउ ग¥यो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । दुवैलाई एउटै गिरोहले नेपाल पठाएको ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले बताए । 

‘पक्राउ परेका दुवै युवती बैंकक बस्छन्, तर उनीहरूबीच चिनजान छैन । एउटै गिरोहले उनीहरूलाई नेपालमा कोकिन कारोबारका लागि पठाएको देखिन्छ,’ एसएसपी खनालले भने । कोकिन नेपाल हुँदै बैंकक लैजान लागिएको खुलेको छ । आफूलाई सुटकेसभित्र लागुऔषध छ भन्ने थाहा नभएको र घुम्ने प्रलोभनमा आफू फसेको युक्रेनी युवतीको दाबी छ । 

ब्राजिलबाट सीधै बैंकक पुग्दा प्रहरीको विशेष निगरानी र चेकिङ हुन सक्ने भएकाले उनीहरूले नेपाललाई ट्रान्जिट देशका रूपमा प्रयोग गरेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । विगतमा पनि यसरी नेपाललाई ट्रान्जिट बनाउने क्रममा कोकिनसहित धेरै विदेशी पक्राउ परिसकेका छन् ।

दक्षिण अमेरिकी देशहरूमा उत्पादन हुने कोकिन नेपाल हुँदै युरोपलगायत देशमा पुग्ने गरेको छ । यो गिरोहका नाइकेहरू बैंककमै रहेको एसएसपी खनाल बताउँछन् । इन्टरपोलसँगको सहकार्यमा प्रहरीले गिरोहका नाइकेमाथि अनुसन्धान अघि बढाएको छ ।

 दक्षिण अमेरिकाको  कोकिन नेपाल हुँदै विश्वबजारमा

पाँच वर्षमा २८ केजी बरामद 
दक्षिण अमेरिकी देशहरूमा उत्पादन हुने कोकिनको माग नेपालमा छैन, तैपनि पटक–पटक बरामद हुँदै आएको छ । पछिल्लो पाँच वर्षमा २८ केजी कोकिन नेपालमा बरामद भएको प्रहरी तथ्यांक छ । ०७४/७५ मा पाँच केजी, ०७६/७७ मा १५ केजी, ०७७/७८ मा एक केजी, ०७८/७९ मा डेढ केजी र चालू आर्थिक वर्षको अहिलेसम्म पाँच केजी ६ सय ग्राम बरामद भएको हो ।

नेपालमा खपत नभए पनि अन्तर्राष्ट्रिय गिरोहले कोकिन ओसारपसारका लागि नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । नेपालको विमानस्थलमा कमजोर सुरक्षा जाँच हुने आकलन र पक्राउ परे पनि अन्य देशको तुलनामा कम सजाय हुने भएकाले नेपाल ट्रान्जिट बनेको हो ।

नेपालमा २० वर्षसम्म कैद सजाय हुने गरेको छ । प्रहरीले गिरोहका सदस्यलाई पटक–पटक पक्राउ गरे पनि नाइकेसम्म पुग्न सकेको छैन । कोका नामक बिरुवाको पातबाट बन्ने कोकिन कडा किसिमको र महँगो लागुऔषध मानिन्छ । जुन केजीकै करिब तीन करोड रुपैयाँबराबरमा कारोबार हुने प्रहरी अधिकारी बताउँछन् । 

ad
ad