१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
निकोलस क्रिस्टोफ
२o८१ जेठ १ मंगलबार १o:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

महिलामाथि इरानी सरकारको बर्बरता कहिलेसम्म ?

Read Time : > 2 मिनेट
निकोलस क्रिस्टोफ
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२६:oo

देश /विदेश

इरानी जनता अहिले महिलाको केश देखिनुलाई अभद्रता मान्दैनन्, बरु केश नढाकेको नाममा बलात्कार गर्नुलाई गम्भीर अपराध मान्छन्

अभद्रताका नाममा गिरफ्तार भएका महिला र किशोरीमाथि यौन दुव्र्यवहारका घटना सतहमा आउँदा इरानी शासनको पाखण्डको अनुमान गर्न सकिन्छ । सुरक्षाकर्मीद्वारा प्रदर्शनकारीमाथि भएको बलात्कारबारे सिएनएनको एक दर्दनाक रिपोर्टमा कसरी एक २० वर्षीया युवतीलाई प्रदर्शनको नेतृत्व गरेको आरोपमा हिरासतमा राखिएको थियो र पछि प्रहरीले काराजको अस्पतालमा ती महिलालाई ल्याउँदा उनी पीडाले काँपिरहेकी थिइन् र उनको कपाल खौरिएको थियो । त्यति मात्र नभई उनको मलद्वारबाट रगत बगिरहेको थियो । उनी पुनः जेलमै जाकिएकी छिन् । 

ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेसनलले निष्पक्ष भई यौनहिंसाका घटनाको अभिलेख राखेका छन् । न्युयोर्कमा रहेको सेन्टर फर ह्युमन राइट्स इन इरानका हादी घैमीका अनुसार हिजाब नपहिरेर विरोध जनाएकी एक १४ वर्षीया बालिकालाई हिरासत राखियो र लगत्तै अस्पतालमा भर्ना गर्दा उनको योनि क्षतविक्षत भएको थियो र अन्ततः बालिकाको मृत्यु भयो । यस घटनालाई सार्वजनिक गर्न अघि सरेकी बालिकाकी आमा अहिले बेपत्ता छिन् । पीडितमा हुने लज्जा र भयका कारण यौनहिंसाका घटना पुष्टि हुन सक्दैनन् । सिएनएनका रिपोर्टले सरकारी अधिकारीले यौनहिंसाको वारदातलाई भिडियोमा कैद गरेर ब्ल्याकमेल गरेको पनि देखाएको छ । प्रदर्शनकारीको कत्लेआम भइरहेको तथ्य निर्विवाद छ । सार्वजनिक स्थलमा हिजाब जलाएकी १६ वर्षीया निका शाहकरामीलाई हिरासतमा लिइयो । पक्राउ परेको केही दिनमै अधिकारीले उनको मृत्यु भएको घोषणा गरे । पोस्टमार्टम रिपोर्टले उनको खप्पर, कोखको हड्डी, नितम्बको हड्डी, पाखुरा र पिँडुला भाँचिएको देखाएको थियो ।

यस अर्थमा इरानमा भइरहेको आन्दोलन हिजाबसँग मात्रै जोडिएको छैन । इरानी उभार त्यहाँको अक्षम, भ्रष्ट, दमनकारी र आततायी सत्ताविरुद्ध आएको हो । अयातोल्लाह रुहोल्लाह खोमेनीले सन् १९७९ मा आफूले इस्लामिक गणतन्त्र निर्माण गरेको क्रान्तिपछि ‘यदि सरकारले केही गलत गरिरहेको छ भने राष्ट्रले सरकारको मुखमा मुक्का बजार्नुपर्छ’ भनेका थिए । अहिले इरानी जनताले मुक्का बजार्ने प्रयास गरिरहेका छन् । अहिले जमिनी तहबाट भइरहेको इरानी क्रान्तिलाई अमेरिका र बाँकी विश्वले खुलेर समर्थन नगरेको देख्दा चकित एवं खिन्न भएको छु । मेरा विचारमा यसका पछाडि दुई मुख्य कारण छन् ।      

पहिलो, अधिकांश विदेशी पत्रकारलाई इरान प्रवेशमा अनुमति दिइएको छैन । नतिजा इरानी सत्ताका गुन्डासँग लड्न आफ्नो ज्यान जोखिममा राखिरहेका स्कुले बालबालिकाको समाचार संकलन गर्न सकिएको छैन । सम्भवतः प्रदर्शनमा पत्रकार मौजुद नहुँदा मामिलाले उचित महत्व नपाएको हुन सक्छ ।

दोस्रो, इरानीप्रति केही अमेरिकीले द्वेषयुक्त भावना राख्छन्, किनभने अमेरिकीमाझ इरानीले ‘अमेरिका मुर्दावाद’जस्ता कट्टरपन्थी नारा लगाउँछन् भन्ने गलत धारणा व्याप्त छ । वास्तवमा जनस्तरमा इरान मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकामैत्री मुलुक हुन सक्छ । कुनै समय मैले आफ्नी १४ वर्षीया छोरीलाई बिदामा इरान घुमाउन लगेको थिएँ । इरान घुमाइका क्रममा अमेरिकाविरोधी संग्रहालयको रक्षा गरिरहेका रिभोलुसनरी गार्डका एक युवासँग कुरा गर्ने मौका पाएको थिएँ । संग्रहालयका भित्तामा अमेरिकालाई ‘सैतानको संज्ञा दिइएको थियो, तर उनी हामीसँग ‘यी मुल्लाह नर्कमा जाऊन्’ भन्दै गफिँदै थिए । उनको सत्कारले इरानी जनता अमेरिकी जनतासँग भेट्दा उत्साहित हुन्छन् भन्ने देखाएको थियो । 

निडर युवतीहरू आज विरोध प्रदर्शनका अग्रभागमा छन् । बसिज अर्धसैनिक बलका एक सदस्यले एउटा विद्यालयमा भाषण गर्न खोज्दा त्यहाँका किशोरीले आफ्नो हिजाब खोलेर विरोध गरे । त्यसैगरी, काराजको एक विद्यालयमा बालिकाले सरकारी अधिकारीलाई पानी पिउने बोतलको झटारो हानेर निकालेका थिए ।  

अमेरिका र अन्य सरकार इरानी उभारका पक्षमा थोरबहुत बोल्दा पनि इरानी जनता कृतज्ञ भएको महसुस गर्छन् । सुरुमा ३८ वर्ष पाँच महिना र एक सय ४८ कोर्राको सजाय पाएकी र पछि सजाय घटेर १० वर्षको जेलजीवन व्याहोरेकी इरानी मानव अधिकार वकिल नसरिन सोतोदेहले महिला अधिकारसम्बन्धी राष्ट्रसंघको आयोगबाट इरानलाई निष्कासन गरेकामा विशेष रूपमा प्रशंसा गरेकी थिइन् । यद्यपि, सोतोदेह र अन्य बाइडेन प्रशासनले इरानी सत्तालाई थप अवैधानिक बनाउन प्रयास गरून् र त्यहाँ भइरहेको हत्या शृंखलाको खुलेर निन्दा गरून् भन्ने चाहन्छन् । उनीहरूले इरानमा दूतावास भएका पश्चिमी राष्ट्रसामु आफ्ना राजदूत फिर्ता बोलाउन पनि आग्रह गरेका छन् । यस सन्दर्भमा पश्चिमा जगत्ले विदेशमा धन थुपार्ने र पार्टी–मोजमस्ती गर्ने इरानका अधिकारी र तिनका परिवारविरुद्ध प्रतिबन्धलाई तीव्र पार्ने प्रयास गर्न सक्छन् । इरानी सत्ताका नाइकेलाई जवाफदेही बनाउन गुप्तचर संस्थाले इरानमा भइरहेको व्यापक दमनको सूचना चुहाउन हरसम्भव प्रयास गर्नुपर्छ । 

पहिले नै अलगावमा परेको र कडा प्रतिबन्ध व्यहोरिरहेको सन्दर्भमा इरानलाई दबाब दिनु निकै चुनौतीपूर्ण काम हो । यद्यपि, इरानले जनतालाई आतंकित पार्ने उद्देश्यले प्रदर्शनकारीलाई मृत्युदण्ड दिन थालेको सन्दर्भमा दबाबको प्रयासलाई थप चर्को बनाउनुपर्छ । हालसम्म दुईजना प्रदर्शनकारीलाई मृत्युदण्ड दिइसकिएको छ र कम्तीमा ३५जनलाई मृत्युदण्डको सजाय सुनाइएको छ वा मृत्युदण्डको माग गर्दै मुद्दा चलाइँदै छ । सन् १९७८ मा खोमेनी नेतृत्वमा भएको क्रान्तिका सन्दर्भमा द न्युयोर्क टाइम्समा एक इरानी वकिलले हामी खाल्डो जाकिनकै लागि उकालो चढ्दै छौँ भनेका थिए । आज चार दशकको अन्तरालमा गिरफ्तारी, यातना र मृत्युदण्डको परवाह नगर्दै स्कुले किशोरीका नेतृत्वमा इरानी जनता खाल्डोबाट उम्किने प्रयास गरिरहेका छन् । इरानी जनता अहिले महिलाको केश देखिनुलाई अभद्रता मान्दैनन्, बरु केश नढाकेको भनेर बलात्कार गर्नुलाई गम्भीर अपराध मान्छन् । र, यी इरानी जनतालाई अन्तर्राष्ट्रियस्तरको ऐक्यबद्धताको खाँचो छ ।

(क्रिस्टोफ पुलित्जर पुरस्कार विजेता अमेरिकी पत्रकार एवं न्युयोर्क टाइम्सका स्तम्भकार हुन्) 
द न्युयोर्क टाइम्सबाट 

 

ad
ad