१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Sunday, 22 September, 2024
२o७९ पौष १ शुक्रबार १३:o८:oo
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

चुरे विनाशले बस्ती नै सखाप

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १३:o८:oo

झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। चुरे विनाशको कारण कुनै वेला गुल्जार यहाँको बस्तीको अहिले नामोनिसान छैन। धनुषाको तत्कालीन दिगम्बरपुर गाविस– ४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन्। हाल उनीहरू गाउँभन्दा करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगेर बसोवास गरेका छन्। त्यस ठाउँलाई अहिले क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ।

‘केही वर्षअघिसम्म यहाँ मानिस बस्थे, तिनले खाने पानीको इनार यही हो,’ सामुदायिक वन उपभोक्ता समिति महासंघ प्रदेश–२ का अध्यक्ष सोमप्रसाद शर्माले भने, ‘अचानक एक दिन बाढी आयो र बस्ती बगायो।’ ६५ भन्दा बढी घरपरिवार रहेको त्यो बस्तीमा अहिले खाली जमिन छ। केही पोखरी खनिएका छन् र ठूलो क्षेत्र बगरमा परिणत भएको छ।

०४५ मा झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै बगरमा परिणत भयो। यहाँ बस्ती थियो भन्ने अहिले कुनै प्रमाण भेटिँदैन, एउटा इनारको भग्नावशेषबाहेक। अध्यक्ष शर्माले भने, ‘यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंँ।’

यस्ता थुप्रै बस्ती अन्यत्र पनि विस्थापित बनेका छन्। तराई–मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टिठलाग्दो दृश्य छन्। अनियन्त्रित उत्खनन र चुरे दोहनले केही वर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी बिलाएर गएको छ। पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन्। खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिपबोरिङ बन्द भएपछि तराई–मधेसका अधिकांश क्षेत्र मानव बसोवास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन्।

तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका– ८ मा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ। करिब दुई सय वर्ष पहिला यस गाउँमा थारू समुदायका मानिस भारतको मुंगेरबाट आएका हुन् भन्ने बुढापाका बताउँछन्।

वि.सं. २००७ पहिले नै यस भेगमा जंगल फँडानीको क्रम सुरु भइसकेको थियो। पाल्पाबाट १९९० सालतिर नै आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रतापशमशेरको संरक्षणमा जंगल फँडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए। ००७ सालको क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामानिवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए। आन्दोलनको क्रममा उनको खातीहरू (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती)सँग निकट सम्पर्क भयो।

हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति मानिएका दिगम्बरले त्यस भेगमा जंगल फँडानी गरी नयाँ बस्ती विस्तार गरेकाले उनको नामबाटै बस्तीको नाम दिगम्बरपुर राखियो। पछि बलबहादुर खाती गाउँका जमिनदार र हर्ताकर्ता भए।

पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ चार सय मिटर मात्र रहेकामा अहिले हजार मिटरभन्दा पनि बढी भएको छ। बर्सेनि जलाद खोलाले ५–६ बिघा जग्गा कटान गर्ने गर्दछ। ०४५ मा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो।

यहाँ बसोवास गर्दै आएका ७४ वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो उजाडस्थल हेर्न पुग्छन्। उनको बाल्यकालदेखिका थुप्रै सम्झना झलझली आउँछ। ‘हेर्दाहेर्दै सबैथोक लगिदियो,’ बुढाथोकीले भने, ‘म मात्र होइन, गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ ।’

रामेछापको नागदहबाट ०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। ‘बा–आमा मिलेर खेतीपाती सुरु गर्नुहुन्थ्यो,’ उनले सम्झिए, ‘हामी त्यहीँ खेलेर हुर्कियौँ।’

आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाए। जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुन्थ्यो। गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो।

ललितबहादुरले भने, ‘०४२ ताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागबेली परेर बग्न थाल्यो। सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो। अर्को वर्ष अझ बढी कटान भयो।’ ०४४ मा गाउँभरि नदी बग्न सुरु भयो । जुन दिन खेतमा नदी पस्यो, त्यसै दिनदेखि नै यहाँका बासिन्दाको उठीबास भयो ।

उनले भने, ‘अरू गाउँले त तत्कालै छाडेर हिँडिहाले । मचाहिँ किनार–किनार सर्दै त्यतै बसिरहेँ । अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सीप नलागेर म पनि बसाइँ सरेँ।’ उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो। अहिले अन्यत्रबाट थपिएकासमेत गरेर डेढ सयभन्दा बढी परिवार यहाँ बसोवास गर्दछन्।

खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका उनले जानेको अरू कुनै काम थिएन। बिहे भएर गएकी छोरीले किनिदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर उनका श्रीमान्–श्रीमती बस्दै आएका छन्। ‘बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु। मुस्किलले जीवन चलिरहेको छ ।’

यसरी विस्थापित हुनुपर्दाको समस्या उनलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ। त्यो गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन। चारकिल्ला ठोकिएजस्तो थियो यो ठाउँ। यहाँ पहाडे र मधेसी परिवारको मिश्रित बसोवास थियो। उनले भने, ‘यस्तो अवस्थामा सबै एकसाथ बिल्लीबाठ भयौँ।’

आफूहरूले ऐलानी जग्गामा खेती र बसोवास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै  परिवारको नम्बरी जग्गा रहेको उनी बताउँछन्। उनका अनुसार छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि फेरि नदीले बाटो फेरेको थियो। 

छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्छन्, ‘उहाँ केटाकेटी हुञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो। त्यतिवेला बढीमा सय मिटर चौडा थियो।’ नदीतर्फ औँल्याउँदै उनले भने, ‘अहिले त तीनवटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’ 

छेडीपोखरीमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो। अहिले नदी योबीचकै धारबाट बगिरहेको छ। पछिल्लो समय नदीको तटबन्ध गरिए पनि बर्सेनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउँछन्।

राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यालयमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन्।
 
चुरे संरक्षणको निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरूले चेतावनी दिएका छन्। वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा. विजयकुमारसिंह दनुवार भन्छन्, ‘जुन मात्रामा चुरेले विनास भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ।’ 

तीन दशकभित्र जलाद नदीले तीनवटा धार परिवर्तन गरेको छ । काठको चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नांगाे भइसकेको छ। वन फँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ।

वर्षामा आउने भेलले ढुंगा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ। चुरेभन्दा माथिको महाभारत पर्वत शृंखलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ। महाभारत शृंखलाका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमिकरण हुनेछ। ‘महाभारतका पहाड उत्खनन गर्दा २५–३० प्रतिशत मात्रै निर्यातयोग्य ढुंगा, गिट्टी निस्कन्छ। बाँकी ७०–७५ प्रतिशत ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ,’ डा सिंह भन्छन्, ‘दर्जनौँ पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन।’ रासस