१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘अब पालो मोरक्कोको’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o२:oo

विश्वकपको क्वार्टरफाइनल समाप्तिसम्म एकपछि अर्को सनसनीपूर्ण नतिजा निकाली सेमिफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकन राष्ट्र बन्यो

२२औँ संस्करणको विश्वकप सुरु हुनुअघि युरोपियन र दक्षिण अमेरिकी टोलीकै दबदबा हुने अनुमान थियो । फुटबलको महाकुम्भ मेला जति समापनतर्फ लम्किरहेको छ, त्यति नै रोमाञ्चक र सनसनीपूर्ण नतिजा आइरहेका छन् । यस्ता टोली पनि देखिए, जसले विश्वकपमा तहल्का नै मच्चाए । ती राष्ट्रले सफलता प्राप्त गर्दा फुटबलकै शक्तिशाली भनिने राष्ट्र क्रमशः घर फर्किएका छन् । प्रिक्वार्टरफाइनलसम्म एसियन राष्ट्र जापानको खुबै चर्चा चुलिएको थियो । जापानले यसपटकको विश्वकपमा कम्तीमा पनि प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्छ भन्ने थियो । तर, जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध भयो । 

अब सेमिफाइनल समीकरण पूरा भएपछि विश्वकपमा एक राष्ट्र चम्किलो ताराझैँ चम्किरहेको छ । जसले पूरै विश्वका फुटबल पण्डितहरूलाई सोच्न बाध्य बनाएको छ । मोरक्को कसैले पनि सेमिफाइनलसम्म पुग्छ भनी अनुमानै लगाएका थिएनन् । धेरैले मोरक्को प्रिक्वार्टरफाइनल पुग्दा पत्याएका थिएनन् । विश्वकपको क्वार्टरफाइनल समाप्तिसम्म मोरक्कोले एकपछि अर्को स्तब्धपूर्ण नतिजा निकाली पहिलो अफ्रिकन राष्ट्रका रूपमा अन्तिम चारमा पुगेको छ । 

मोरक्कोले वर्तमान फुटबल जगत्कै उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुललाई तेस्रो क्वार्टरफाइनलमा १–० ले हराउँदै इतिहास रचेको हो । यस ऐतिहासिक सफलतासँगै युरोपियनबाहेक अन्य अन्तर्राष्ट्रिय मिडियाहरूले भन्न थालेका छन्, ‘दिस टाइम फर अफ्रिका’ अर्थात्, अब पालो अफ्रिकाको हो । १२ वर्षअघि दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा विश्वचर्चित गायिका साकिराले यो गीत गाएकी थिइन् । त्यो वेला विश्वकपको सन्दर्भ जोडिएर विश्वकप अफ्रिका महादेशमा भनिएको थियो । 

अहिले मोरक्कोलाई जोडेर विश्वकपमा अफ्रिकाको पालो भनिएको छ । विश्वकपको २२औँ संस्करणको यात्रासम्म एक्लो अफ्रिकन टोली सेमिफाइनलमा पुगेपछि अफ्रिकन समर्थक मात्र नभएर अन्य स–साना राष्ट्रका फुटबलप्रेमी पनि हर्षित छन् । नगन्य खेलाडीले युरोपियन फुटबलमा चर्चा कमाए पनि मोरक्को देशको नाम आमफुटबलप्रेमी कमैले सुनेका थिए । छैटौँपटक विश्वकपमा सहभागी मोरक्कोले शनिबार राति प्राप्त जितसँगै संसारको ध्यान आकर्षित गर्न सफल भएको छ । मोरक्को फाइनल पुग्न बुधबार साबिक विजेता फ्रान्ससँग भिड्नेछ । 

पिएसजीका केलियन र हाकिमी मिल्ने साथी
फ्रान्स केलियन एम्बाप्पेलेसहित स्टार खेलाडीले भरिएको टोली हो । केलियन एम्बाप्पे र मोरक्कोका रक्षक अर्चरफ हाकिमी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट खेल्छन् । संयोग, यी दुई खेलाडी क्लबमा निकै मिल्ने साथी हुन् । क्लब फुटबलमा मात्रै हैन, विश्वकप चलिरहँदासमेत एकले अर्कालाई समर्थन जनाउँदै सामाजिक सञ्जालमा केही न केही लेखिरहेका हुन्छन् । मोरक्कोले त्यही एम्बाप्पे सम्मिलित फ्रान्सलाई सेमिफाइनलमा हराउने योजना बनाउनेछ ।  मोरक्को अर्काे कीर्तिमान कोर्न चाहन्छ । कतारमा विश्वकप हुनुअघि लगभग ३.६७ करोड जनसंख्या भएको सानो अफ्रिकन राष्ट्र विश्वकपको अन्तिम चारमा पुग्ने कुनै फुटबल विज्ञले अनुमान गरेका थिएनन् । कारण पनि थियो, अहिलेसम्म अफ्रिकन टोलीले केवल क्वार्टरफाइनल यात्रा मात्र गरेका थिए । क्यामरुन सन् १९९०, सेनेगल २००२ र घाना २०१० मा क्वार्टरफाइनलमा स्थान बनाएका थिए । 

राजा भी आईको साथ 
मोरक्कोको फुटबल विकासमा राजा मोहम्मद भी आईको समेत ठूलो योगदान छ । सन् १९९९ देखि मोरक्कोका राजा मोहम्मदले फुटबल विकासमा कुनै कन्जुस्याइँ गरेनन् । फुटबल एकेडेमी सञ्चालनमा ठूलो आर्थिक सहयोग राजा मोहम्मदले गरेका छन् । यसको नतिजा विश्वकपमा देखिएको छ । खेलाडीको पारिवारिक समस्याको सारथी बनेका छन्, मोहम्मद । घरेलु लिग (बोटोला)मा ठूलो लगानी छ । खेलाडी सधैँ व्यस्त हुन पाएका छन् । जसका कारण व्यावसायिक लिगमा खेलाडीको प्रदर्शन उम्दा छ । अफ्रिकन च्याम्पियन्स लिगमा मोरक्को क्लबको बढ्दो आकर्षण छ । पछिल्लो समय ट्युनिसिया, नाइजेरिया क्लबको दबदबा रहने प्रतियोगितामा मोरक्कोका क्लबको आगमन बढ्दो छ । 

समर्थक र परिवारको हौसला
मोरक्कोका खेलाडीको उच्च प्रदर्शनमा समर्थक र परिवारले समेत ठूलो हौसला प्रदान गरिरहेका छन् । पोर्चुगललाई हराएपछि मिडफिल्डर सोफियान बोउफले आमालाई मैदानमा लगेर नाचेका थिए । अन्य खेलाडी समर्थकका साथ खुसीयाली साटिरहे । मोरक्कोको समर्थन गर्न धेरै समर्थक रंगशालामा उपस्थित रहने गरेका छन् । कतार एक मुस्लिम राज्य हुँदा मोरक्कोलाई साथ मिलेको छ । खेलभर समर्थकले हुटिङ गरिरहेका छन् । विश्वकपमा पाँच खेल खेलिसक्दा मैदानमा हरेक खेलमा मोरक्कोका समर्थकको बाक्लो उपस्थिति छ । विश्वकपमा मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगललाई हराएको छ । जुन राष्ट्र फिफा वरीयतामा निकै माथि छन् । मोरक्कोले क्यानडाविरुद्ध मात्रै एक गोल व्यहोरेको थियो । उत्तर अफ्रिकन राष्ट्र मोरक्कोले विश्वकप जिते फुटबलमा एक क्रान्ति पक्कै आउनेछ । 

ad
ad