१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Friday, 04 July, 2025
पवन बराइली काठमाडौं
२o७९ मङ्सिर २२ बिहीबार २o:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किम्फको २०औँ संस्करण सुरु

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार २o:४६:oo

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु भएको छ। बिहीबार राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा बलिउड निर्देशक प्रकाश झाले फेस्टिभलको २०औँ संस्करणको शुभारम्भ गरेका हुन्। 

फेस्टिभल उद्घाटन समारोहमा बोल्दै आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा काठमाडौंलाई सांस्कृतिक सहरको रूपमा स्थापना गर्नतर्फ अघि बढ्न काठमाडौं महानगरलाई आग्रह गरे। 

‘काठमाडौंलाई फिल्म, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केस्ट्राको विश्व हब बनाउन सकिन्छ र यसतर्फ म काठमाडौं महानगरलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने। 

त्यस्तै, फेस्टिभलको उद्घाटन समारोहमा बलिउड निर्देशक झाले काठमाडौं आफूलाई मनपर्ने सहरमध्ये भएकोले यो सहरलाई सांस्कृतिक रूपमा जीवन्त सहर बनाउनुपर्ने बताए। 

फेस्टिभलमा उनी अभिनीत फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शनसमेत गरियो। झासहित फिल्म निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए। फिल्म स्क्रिनिङपछि झा र गनीले फिल्म हेरेका दर्शकसँग फिल्मको क्राफ्टबारे अन्तर्क्रिया गरे।

फेस्टिभलमा कमलकुमार निर्देशित डकुमेन्ट्री ‘बाघको बंगारा’ प्रिमियर गरिएको छ। ‘हेर्ने कथा’ टिमले निर्माण गरेको  डकुमेन्ट्रीमा उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले मह सिकार गर्दाको संघर्षको कथा चित्रण गरिएको छ। 

समारोहमा निर्णायक मण्डल टिमका किरणभक्त जोशी, जिन्ना ली र माइकल पजले किम्फसँग जोडिएको सन्दर्भबारे धारणा राखेका थिए। ‘फिल्म निर्माण कार्य आफैँमा चुनौतीपूर्ण हो, सिक्ने र धैर्य गर्ने बानी सिक्नुपर्छ,’ चर्चित एनिमेटरसमेत रहेका जोशीले बताए।

समारोहमा युरोपेली युनियनको नेपाल नियोगकी उपप्रमुख जोएल इभोनेटले नेपालको फिल्म संस्कृति विकास गर्नमा किम्फ फेस्टिभलले पुर्याएको योगदानको चर्चा गरिन्। युरोपेली युनियनले नेपालको जलवायु संकट, मानवअधिकार, शिक्षा स्वास्थ्य र संस्कृति प्रवर्धनको क्षेत्रमा काम गरिरहेको उनले बताइन्।

आगामी २६ गतेसम्म चल्ने फेस्टिभलमा ३० मुलुकका ६० भन्दा बढी फिल्म देखाइने भएको छ। फेस्टिभलमा भाग लिन दुई दर्जनभन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन्।

फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’सँगै हुनेछ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछन् भने नेपाली पानोरमाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ। त्यसैगरी, महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ।