१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार ०६:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आयोगको परिणामपछि एमालेले चुनावको समीक्षा गर्ने : गठबन्धन नभत्किएसम्म सरकार गठनमा ‘ब्याक’ बस्ने नीति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार ०६:४८:००

एमालेले निर्वाचन आयोगले औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरेपछि मात्रै निर्वाचनको समीक्षा गर्ने भएको छ । सत्तारूढ गठबन्धनले चुनावको प्रारम्भिक समीक्षा गर्दै शक्ति बाँडफाँडकेन्द्रित छलफल प्रारम्भ गरे पनि एमालेले भने आयोगले औपचारिक परिणाम सार्वजनिक गरेपछि मात्रै चुनावको समीक्षा गर्ने निष्कर्षमा पुगेको हो । 

तत्कालका लागि सरकार गठनका लागि औपचारिक पहल नगर्ने, तर गठबन्धन भत्किए अग्रसरता देखाउने नीति एमालेले अख्तियार गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू अहिलेकै गठबन्धनका पक्षमा उभिएकाले केन्द्रदेखि प्रदेशसम्मका शक्ति बाँडफाँडमा किचलो देखिएर गठबन्धन भत्किने अवस्थामा मात्र एमाले सरकार गठनका लागि अग्रसरता देखाउने नीति अख्तियार गरेको हो । त्यहीकारण एमालेले औपचारिक बैठक बोलाएर चुनावी समीक्षा र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिकाबारे छलफल गर्न नहतारिएको एक पदाधिकारीले बताए । 

रघुवीर महासेठ, सचिव, एमाले

निर्वाचन आयोगले परिणाम घोषणा गरिसकेपछि अध्यक्ष कमरेडले सम्भवतः केन्द्रीय सचिवालयको बैठक बोलाउनुहुन्छ र त्यसपछि बैठकमै हामी चुनावको समीक्षा र अहिलेको राजनीतिक परिस्थितिबारे छलफल गर्छौँ ।

सचिव रघुवीर महासेठले पनि निर्वाचन आयोगले औपचारिक रूपमा चुनावको परिणाम सार्वजनिक गरिसकेपछि मात्र अध्यक्षले पार्टी बैठक बोलाउने बताए । ‘निर्वाचन आयोगले परिणाम घोषणा गरिसकेपछि अध्यक्ष कमरेडले सम्भवतः केन्द्रीय सचिवालयको बैठक बोलाउनुहुन्छ र त्यसपछि बैठकमै हामी चुनावको समीक्षा र अहिलेको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्छाै“,’ उनले भने । 

निर्वाचन आयोगले पुसको पहिलो साताभित्र परिणाम सार्वजनिक गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने गरी काम बढाइरहेको छ । परिणाम सार्वजनिक नभएसम्म सरकार गठन प्रक्रिया अघि नबढ्ने भएकाले चुनावको समीक्षासहित पार्टीको भूमिकाबारे धारणा तय गर्नुपर्ने अवस्था नरहेकाले अध्यक्ष केपी ओली पार्टीका नेता–कार्यकर्ताहरूसँगको आन्तरिक भेटघाटमै व्यस्त देखिएका छन् । बैठकअघि प्रदेश अध्यक्ष र इन्चार्जमार्फत ‘ब्रिफिङ’ लिने तयारीमा ओली छन् । 

गठबन्धनबाट माओवादी बाहिरिए वाम सरकार 
माओवादी सत्तारूढ गठबन्धनबाट बाहिरिने निष्कर्षमा नपुगेसम्म वामपन्थी सरकार निर्माणका लागि पहल नगर्ने निष्कर्षमा एमाले पुगेको छ । सत्तारूढ गठबन्धनमा रहेका तीन वाम दल माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा औपचारिक वक्तव्यमार्फत अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएपछि एमाले तत्काल वामपन्थी सरकार निर्माणका लागि औपचारिक पहल नगर्ने निष्कर्षमा पुगेको हो ।

चुनावी समीक्षाका लागि सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँचदलीय सत्तारूढ गठबन्धनको बैठक बसेको थियो । बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपछि एमाले नेताहरूले सरकार गठनबारे प्रतिक्रिया सार्वजनिक गरेका छन् । 

एमाले सचिव महासेठले माओवादी सत्तारूढ गठबन्धनबाट चुनाव लडेको र पुरानै गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा देखिएकाले पार्टीको पहलमा तत्कालका लागि वाम गठबन्धनको सरकार बन्ने सम्भावना नदेखिएको बताए । माओवादी वाम सरकारको विपक्षमा देखिएकाले त्यस विषयमा एमालेभित्र एजेन्डाकै रूपमा छलफल हुने सम्भावना नरहेको उनको भनाइ छ ।