मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘इन्गेजमेन्ट’ टुटेपछि  युवतीले गरिन् आत्मदाह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार ०६:०७:००

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा २७ वर्षीया पुष्पा न्यौपानेको आत्मदाहले महिलामाथि नरोकिएको हिंसाको चरम रूपलाई उजागर गरेको छ । दुवै परिवारको अनुमतिमा धुम्बाराहीका सुधन संग्रौलासँग इन्गेजमेन्ट गरे पनि पछि विवाह नगर्ने भन्दै केटा पक्षले सम्झौता तोडेपछि उनले आइतबार साँझ सुधनकै घरको ढोकाअगाडि आत्मदाह गरेकी हुन् । शरीरमा पेट्रोल छर्केर आगो लगाएकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ सेन्टर लगिएका थियो । उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । 

दुवैतर्फका अभिभावकले मञ्जुरी दिएपछि पुष्पा र सुधनबीच १८ भदौमा बुद्धनगरस्थित पुष्पाकै घरमा इन्गेजमेन्ट भएको थियो । वर्ष दिनभित्र विवाह गर्ने सहमतिमा इन्गेजमेन्ट भएको मृतक पुष्पाका काका उत्तम न्यौपानेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । ‘दुवै पक्षको चित्त बुझेपछि राजीखुसी, मञ्जुरीले गत १८ भदौमा भतिजीको घर बुद्धनगर बानेश्वरमा जनै–सुपारी, टीकाटालो, दान–दक्षिण भई एक वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको हो,’ जाहेरीमा भनिएको छ । 

तर, शनिबार सुधनले पुष्पाको घर गएर एकाएक ‘इन्गेजमेन्ट’ तोडेका थिए । त्यसपछि दुई पक्षबीचको विवाद चुलीमा पुगेको थियो । यही क्रममा पुष्पा भोलिपल्टै अर्थात् आइतबार धुम्बाराहीस्थित सुधनको घर पुगेकी थिइन् । विवादकै बीच पुष्पाले सुधनको घरअगाडि आत्मदाह गरेकी हुन् । ‘१८ मंसिरमा प्रतिवादीहरूले धुम्बाराहीस्थित घरमा बोलाई थप मानसिक यातना दिएपछि भतिजी पुष्पा न्यौपानेले प्रतिवादीहरूको अगाडि पेट्रोल शरीरमा खन्याई आत्महत्या गर्न लाग्दासमेत नरोकी उल्टै आत्महत्या गर्न दुरुत्साहन गरेको देखियो । तपाईंहरूको छोरीजस्तै लाग्ने महिलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्महत्या गर्दै छिन् भनी बचाउनको सट्टा आत्महत्या गर्न दुरुत्साहन गरेको देखियो,’ जाहेरीमा उल्लेख छ । सुधनसहित उनका परिवारले पुष्पालाई मानसिक यातना दिएको पीडित परिवारको आरोप छ । 

‘वर्ष दिनभित्र विवाह गर्ने किटान गरी विवाहको निश्चय भएकोमा एकाएक १७ मंसिरमा प्रतिवादी बुद्धनगरस्थित घरमा आई ‘हामी विवाह गर्न सक्दैनौँ, विवाह क्यान्सिल गरौँ’ भन्दै जनै–सुपारी, इन्गेजमेन्ट कार्यक्रममा दिए–लिएको दक्षिणा एवं गरगहनासमेत फिर्ता गरी प्रतिवादीहरूले मानसिक यातना दिएका हुन्,’ जाहेरीमा उल्लेख छ । 

पीडित पक्षले सुधनसहित २९ वर्षीया मधु संग्रौला, ५७ वर्षीय दिनेश संग्रौला, ५७ वर्षीय बिन्दु संग्रौलासहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएकोमा सुधनलाई मात्र पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थपेको छ । सुधनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १८५ को आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरअन्तर्गत म्याद थप भएको जिल्ला प्रहरी परिसर काठसमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । 

‘घटनामा संलग्न भएको अभियोगमा एकजना पक्राउ परेका छन् । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को देहाय १८५ को आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरअन्तर्गत मुद्दा दर्ता भएको छ । अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ,’ उनले भने । सुधनलाई अहिले प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । 

सुधन कपडा व्यापारी हुन् । उनको न्युरोडमा कपडाको ‘होलसेल’ पसल छ । मृतक पुष्पा पनि कपडा व्यापारी नै हुन् । उनको दरबारमार्गमा ‘केल्मी ब्रान्ड’को ‘सोरुम’ छ । वर्ष दिनअघि व्यापारकै क्रममा दुई नजिकिएका थिए । टेलिफोन तथा सामाजिक सञ्जालमा दोहोरो कुराकानी हुने क्रममा दुईबीच प्रेम बसेका थियो । यही क्रममा दुईबीच एक–अर्काको घर आउजाउ चलिरहन्थ्यो ।