१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Saturday, 05 July, 2025
भवानीश्वर गौतम काठमाडाैं
२o७९ मङ्सिर २० मंगलबार o५:५७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठूला विद्यालय बनाउन  एक अर्ब विनियोजन भएको पाँच महिनासम्म कार्यविधिसमेत बनेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार o५:५७:oo

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी रहेका ठूला विद्यालय निर्माणका लागि बजेट सुनिश्चित गरेको पाँच महिनासम्म कार्यविधि पनि नबन्दा कार्यक्रम नै अलपत्र बनेको छ । चालू आर्थिक वर्षको बजेटमा कार्यक्रमसहित एक अर्ब सात करोड रकम सुनिश्चित गरे पनि कार्यविधि नबन्दा काम अघि नबढेको हो । 

सरकारले शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ठूला विद्यालय निर्माणका लागि बजेट विनियोजन गरेको छ । एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन सेन्टर (इमिस)को तथ्यांकअनुसार देशभर दुई हजारभन्दा बढी विद्यार्थी रहेका विद्यालय ७४ रहेको इकाइका अधिकारीले बताए । छुट्याएको बजेटले जति विद्यालयलाई पुग्छ त्यसैअनुसार काम गर्ने योजना छ । तर, अर्थ मन्त्रालयका सहसचिवले दुई महिनाभन्दा बढी समयसम्म कार्यविधि रोकिदिँदा कार्यक्रम अघि बढ्न सकेको छैन । इकाइले कार्यविधि निर्माण गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । 

आयोजना निर्देशक डिल्लीराम लुइँटेलले कार्यविधि स्वीकृति ढिलाइ हुँदा निर्माण कार्य नै प्रभावित हुने बताए । उनले भने, ‘सबै ठूला विद्यालय एकै वर्षमा निर्माण हुन सक्दैनन्, यो वर्ष केही विद्यालय निर्माण गरेर अर्को वर्ष पनि निरन्तरता दिने गरी कार्यक्रम अघि बढाइएको थियो, कार्यविधि नबन्दा काम अघि बढेको छैन ।’ सो रकमबाट यस वर्ष एक दर्जनजति ठूला विद्यालय निर्माण गर्ने योजना थियो । अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्यविधि छलफलको प्रक्रियामा रहेको बताए ।

भूकम्पले भत्काएका सात हजार ८३ विद्यालयको पुनर्निर्माण सम्पन्न
०७२ वैशाखको भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सबैभन्दा बढी विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार आठ सय ५३, कन्ट्रयाक्टरमार्फत चार सय ४४, एनजिओमार्फत सात सय ८६ गरी कुल सात हजार ८३ विद्यालय पुनर्निर्माण भएको केन्द्रीय आयोजनाले जनाएको छ । 

आयोजनाको पछिल्लो अपडेटअनुसार पाँच सय विद्यालय निर्माणाधीन छन् । एक सय ५७ विद्यालय व्यवस्थापन समिति, तीन सय ३६ कन्ट्रयाक्टर र सात विद्यालय एनजिओमार्फत निर्माण भइरहेको छ । भूकम्पले भत्काएका सात हजार पाँच सय ८३ विद्यालय पुनर्निर्माणको योजना बनेको थियो । जसमा ६ हजार १० विद्यालय व्यवस्थापन समिति, सात सय ८० कन्ट्रयाक्टर र एनजिओले सात सय ९३ विद्यालयको जिम्मा लिएका थिए । 

दातृ निकाय जाइकाले छिटो काम सकेको छ । भूकम्पले भत्काएकामध्ये दुई सय ७४ विद्यालय पुनर्निर्माण गरेको छ । पहिले जिम्मा लिएका विद्यालय निर्माण गरिसक्दा पनि केही बजेट रहेपछि थप निर्माण गरेको थियो । दुई वर्षका लागि बढाएको समयमै जाइकाले पुनर्निर्माणको काम सकेको छ । ३० नोभेम्बरबाट प्रोजेक्ट सकिएको छ । यस अवधिमा उसले दुई सय ७३ विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । ललितपुरको एउटा विद्यालय भने सम्पन्न हुन बाँकी छ । 

ठूला विद्यालय सुविधासम्पन्न बनाउने योजना
भौतिक र शैक्षिक रूपमा सुविधासम्पन्न गराउने उद्देश्यले सरकारले ठूला विद्यालय निर्माणको अवधारणा ल्याएको हो । टाढाबाट पनि विद्यार्थी आउन सक्ने, आवासीय सुविधा, सुविधासम्पन्न ल्याब, कक्षाकोठा र पूर्वाधार भएको विद्यालय निर्माण गर्ने र विद्यार्थी आकर्षित गर्ने सरकारको योजना छ ।