![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2020-03-20-02-25-06.2020-04-13-03-51-37.jpeg)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिइएको छ। सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरेको हो।
दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए। उनका अनुसार पुस १५ भित्र नहटाएमा आफैँ हटाउने तयारी रहेको छ। साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ।
राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ। कार्यालयले सोही क्षेत्रका तीनवटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ। लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालले बताए। पटकपटक सडक मिचेका भन्ने गुनासो आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।