१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर १७ शनिबार १४:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या आरोप लागेका सांसद महतोलाई सहज छैन सपथ

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १७ शनिबार १४:०३:००

महोत्तरी क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमालेका लक्ष्मी महतोलाई सपथ ग्रहण सहज नहुने देखिएको छ। सशस्त्र प्रहरी असई हत्या आरोपमा जनकपुर उच्च अदालतले दिएको आदेशले सपथ ग्रहण असहज भएको हो।

दुई वर्ष पहिले २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै जनकपुर उच्च अदालतले महतोलाई पुर्पक्षका लागि थुनामै राख्ने  आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि तारेख लिन नपुगेका महतो हाल अदालतको फरार सूचीमा छन्।

महोत्तरीका एसपी कृष्ण पंगेनीले समेत लक्ष्मी महतोलाई पक्राउ गर्न कुनै बाधा अड्चन नरहेको बताउँदै सोहि विषयमा माथिल्लो अधिकारीहरुसँग छलफल भइरहेको बताए। उनले उच्च अदालतको आदेशको कपि आफूसँग एक–दुई दिन अघि नै आएको बताएका छन्। महतोलाई कहिले पक्राउ गर्ने नखुलाएका एसपी पंगेनीले भने, ‘धैर्य राख्नुस् हामी यस विषयमा गम्भिर छौं।’

यस्तो छ उच्च अदालतको आदेश  ः
उच्च अदालत जनकपुरका न्यायाधिश पुष्पराज कोईराला र न्यायाधिश प्रभा बस्नेतसमेतको संयुक्त ईजलासले २०७७ मंसिर १९ गते दिएको आदेश हेर्दा, नेपाल सरकारको निवेदनमा विपक्षी भनिएका लक्ष्मी महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा (६७)बमोजम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा महोत्तरी जिल्ला अदालतबाट सोहि ऐनको दफा (६८) र (७२) नं. बमोजिम उनीबाट एकलाख धरौट वा जेथा जमानी माग्ने गरी पुर्पक्षमा राख्न आदेश दिएकोमा सो आदेश नमिलेको देखिँदा उक्त आदेश बदर गरिदिएको छ। उच्च अदालत जनकपुरले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा प्रतिवादी लक्ष्मी महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा (६७) बमोजिम थुनामै राखी मुद्दा पुर्पक्ष गर्नु।

किन आरोपी बनाइए महतो :
२०७२ साल भदौ महिनामा मधेशमा आन्दोलन चलिरहेको थियो। यता आन्दोनले उग्र रुप लिइरहँदा प्रहरीलाई आन्दोलन नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो। सो क्रममा जलेश्वर बजार भरिने गरी गाउँगाउँबाट आन्दोलनकारीहरु आएका थिए। आन्दोलनकारीको भिड अनियन्त्रित हुँदै जाँदा प्रहरीले अकस्मात गोली चलाउँदा रोहन चौधरी, अमित कापर, वीरेन्द्र विच्छा र रामविवेकको गोली लागेर मृत्यु भयो।

आन्दोलनकारीको मृत्युले आक्रोशित भिडले सो घटनाको दुई दिनपश्चात् सशस्त्र प्रहरी असई थमन विकको कुटपिट गरी हत्या गर्यो। बिहान जलेश्वर बजारमा कुटपिट गरी घाइते बनाइएकोमा उनलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी जनकपुर थप उपचारका लागि पठाइएको थियो। तर, उनी जनकपुर नपुग्दै महोत्तरी गाउँपालिकाको सोनुषडा चौरीस्थित धान खेतमै लखेटीलखेटी उनको हत्या गरियो। उनी सवार एम्बुलेन्समा आगो लगाई जलाइयो।

उक्त घटनामा प्रहरीले महतोसहित २८ जनालाई आरोपी बनायो। २८ मध्ये चारजना हाल पुर्पक्षका लागि थुनामा छन् भने थप एकजनालाई पक्राउ गरी अदालतमा पेश गरेकोमा उनी समेत तारेखमा छुटेका छन्। यता आरोपीमध्येका पूर्व प्रदेश राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र र नेता सुरेश पाण्डेयसमेत तारेखमा छुटेका छन्।