न्यु इनर्जी भेहिकल उत्पादक कम्पनी बिवाइडीको ‘साउथ एसिया रिजनल मिट’ नेपालमा सम्पन्न भएको छ । बिवाइडी हेडक्वार्टर सान्जेनका प्रतिनिधिहरू, बिवाइडी इन्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागितामा सम्मेलन भएको हो ।
इभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बिवाइडीका सोरुम, वर्कसप, चार्जिङ स्टेसनजस्ता आवश्यक पूर्वाधार तीव्र गतिमा विस्तार भइरहेको कम्पनीले जनाएको छ । काठमाडौंमा भएको दक्षिण एसियाली डिलरहरूको सम्मेलनमा बिवाइडीको साउथ एसिया हेर्ने डेपुटी जनरल म्यानेजर केत्सु जांबले कम्पनीको योजना र विश्वभर बिवाइडीको बिक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए ।
बिवाइडीको न्यु इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको उल्लेख गर्दै जांबले भने, ‘बिवाइडीको दक्षिण एसिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्नेछ ।’ कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी इभीको प्रयोगमा दक्षिण एसियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन् ।
हाल नेपालमा विद्युतीय सवारी प्रयोगका बारेमा उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी इभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताका कारण सम्भव भएको हो । बिवाइडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’का कारण इभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’
बिवाइडी इन्डियाका विभिन्न १३ ग्रुपको सहभागिता रहेको कार्यक्रममा उनीहरूले भारतमा लन्च भएको एक महिनामै ६ सय इभी सिक्स र एक हजार पाँच सय एटो–३ बुकिङ भएको जानकारी दिएका थिए । बिवाइडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं, ललितपुर, पोखरा, चितवन, विराटनगर, बिर्तामोड, बुटवल, नेपालगन्ज र धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको जनाएको छ । कम्पनीले केही अघि नक्सालमा ‘स्टेट अफ आर्ट सोरुम’को सञ्चालन गर्नुका साथै बिवाइडीको पहिलो एसयुभी एटो–३ पनि लन्च गरेको थियो ।