१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ११ आइतबार ०६:२०:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिनिधिसभामा कसलाई धक्का, कसलाई राहत ?

Read Time : > 6 मिनेट
२०७९ मङ्सिर ११ आइतबार ०६:२०:००

अघिल्लो निर्वाचनको तुलनामा एमालेलाई दुई र माओवादीलाई चार प्रदेशमा झट्का, दुई प्रदेशमा कांग्रेसको ‘कमब्याक’

प्रतिनिधिसभातर्फको परिणाम अन्तिम चरणतिर पुग्दा अघिल्लो निर्वाचनको समग्र शक्ति सन्तुलनमा उथलपुथल देखिएको छ । कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो, दोस्रो र तेस्रो दल हुने निश्चित छ । तर, प्रदेशगत रूपमा ठूला दलका लागि परिणाम सन्तोषजनक छैन । यससँगै संघीय संसद्को प्रादेशिक शक्ति सन्तुलनमा पनि व्यापक हेरफेर भएको छ । 

चौथो शक्तिका रूपमा उल्लेख्य सिटसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । पहिलो दलका रूपमा कांग्रेसले बागमती र गण्डकीबाट प्रतिनिधिसभामा सशक्त उपस्थिति जनाउँदा स्वतन्त्र पार्टीले दोस्रो दल एमालेले भन्दा बढी सिट जितेर बागमतीबाट कांग्रेसपछि जबर्जस्त उपस्थिति जनाएको छ । 

एमालेले लुम्बिनी र प्रदेश १ मा साख जोगाउँदै मधेस प्रदेशबाट सिट संख्यामा फड्को मारेको छ । तर, कर्णालीमा शून्यमा झरेको छ । जब कि ०७४ मा एमालेले यो प्रदेशमा ६ सिट जितेको थियो । त्यस्तै, सुदूरपश्चिम र बागमतीमा उसले ठूलो क्षति व्यहोरेको छ । सुदूरपश्चिममा अघिल्लोपटक ११ सिट रहेको एमाले अहिले दुई सिटमा खुम्चिएको छ । बाजुराको नतिजा आउन बाँकी छ । एमालेले क्षति व्यहोरेका अधिकांश सिट जित्दै कांग्रेस पहिलो दल बनेको छ ।

तेस्रो दल माओवादी सुदूरपश्चिम र बागमतीभित्र उपत्यकाका १५ सिटमा शून्यको अवस्थामा पुगेको छ । त्यस्तै, मधेस, लुम्बिनी र प्रदेश १ मा पनि माओवादीले अघिल्लो निर्वाचनको तुलनामा सिट गुमाएर क्षति व्यहोरेको छ । उसले गुमाएका बहुसंख्यक सिटमा एमालेले जित निकालेको छ । 

प्रदेश १ मा ०७४ को निर्वाचनमा १६ सिट जितेको एमालेले यो पटक १० सिट जितेको छ । पाँच सिट जितेको कांग्रेसले एक सिट थपेर ६ पुर्‍याएको छ । इलामका दुई क्षेत्र र सुनसरीको एक क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ भने मोरङ र सुनसरीको एक–एक क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ । अग्रता लिइरहेको र प्रतिस्पर्धामा रहेको क्षेत्र जितेमा एमालेले प्रदेश १ मा साख जोगाउन सक्नेछ । ६ सिट जितेको माओवादी ३ सिटमा झरेको छ भने राप्रपाले अघिल्लोपटकको जितलाई निरन्तरता दिएको छ ।

एमालेले अघिल्लोपटक जितेको ओखलढुंगा, खोटाङ, संखुवासभा, तेह्रथुम, मोरङ ३ र मोरङ ६ गुमाएको छ । तर, ०४८ देखि निर्वाचन नजितेको सोलुखम्बुमा पहिलोपटक जित हासिल गरेको छ भने माओवादीले उदयपुर २ मा जितेको छ । त्यस्तै, कांग्रेसले जितेका क्षेत्रहरू मोरङ २, सुनसरी २ र ३ एमालेले यसपटक खोसेको छ ।

त्यस्तै, कांग्रेसले एमालेले जितेको संखुवासभा, तेह्रथुम, मोरङ ३, मोरङ ६ र ओखलढुंगा जितेको छ भने माओवादीले जितेका झापा १ पनि जितेको छ । माओवादीले जितेको मोरङ ५ एमालेका बागी स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले जितेका छन् । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोगमा जित दोहोर्‍याएका छन् । माओवादीले अघिल्लोपटक जितेको सोलुखुम्बु र उदयपुर २ गुमाएको छ । एमाले विभाजन हुँदा दुई सांसद लिएर गएको एकीकृत समाजवादी शून्यमा झरेको छ । 

प्रदेश २ : एमालेको फड्को, माओवादी र मधेसकेन्द्रित दललाई क्षति 
०७४ मा एमालेले प्रदेश २ मा दुई, कांग्रेसले ६, संघीय समाजवादी फोरमले नौ, राजपाले १० र माओवादीले पाँच सिट जितेका थिए । यो निर्वाचनमा एमालेले तेब्बर बढी सिट जितेर फड्को मारेको छ भने माओवादी र पुराना मधेसकेन्द्रित दलले ठूलो क्षति व्यहोरेका छन् । एमालेले सात सिटमा जित निकाल्दा पाँच सिट जितेको माओवादीले दुई सिटमा चित्त बुझाएको छ । कांग्रेसले दुई सिट थपेर आठ सिटमा जित निकाल्दा १० सिट जितेको तत्कालीन राजपा यो निर्वाचनमा छिन्नभिन्न हुँदै लोसपाबाट चुनाव लड्दा तीन सिट जितेर चित्त बुझाउन बाध्य भएको छ । 

तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लड्दा नौ सिट जितेको उपेन्द्र यादवको जसपाले अहिले पाँच सिटमा चित्त बुझाएको छ । यादवलाई आधा मतान्तरले पराजित गरेर मधेसमा उदाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जित हासिल गरेका छन् । 

त्यस्तै, एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालसहित दुई सिट जितेको छ भने स्वतन्त्रबाट उम्मेदवारी दिएका तीनजना उम्मेदवारले जितेका छन् । 

बागमती : स्वतन्त्र पार्टीको उदय, उपत्यकामा माओवादी शून्य, एमालेलाई क्षति
०७४ को निर्वाचनको तुलनामा एमालेले ठूलो क्षति व्यहोर्दा कांग्रेसले धेरै सिट जितेको छ भने बागमतीबाट रवि लामिछानेले नेतृत्व गरेको स्वतन्त्र पार्टी सात सिट जितेर राष्ट्रिय शक्तिका रूपमा उदाएको छ । अघिल्लो चुनावमा बागमतीमा सात सिट जितेको माओवादी चार क्षेत्रमा सीमित भएको छ । उसले उपत्यकाका १५ सिटमध्ये कुनै पनि क्षेत्र जित्न सकेन । अघिल्लो चुनावमा २० सिट जितेको एमालेले यो चुनावमा प्रदेशबाट जम्मा चार सिट जितेर ठूलो क्षति व्यहोरेको छ । बागमतीभित्र पनि एमालेले उपत्यकामा ठूलो क्षति व्यहोरेको छ । काठमाडौं २, ३ ,५, ७ र ८ गुमाएको एमालेले भक्तपुर २ पनि गुमाएको छ । एमालेले जितेका काठमाडौंका तीन र भक्तपुर २ सहित चार क्षेत्र कांग्रेसले खोसेको छ । अघिल्लोपटक पाँच सिट जितेको कांग्रेस १३ सिट जितेर पहिलो शक्तिका रूपमा स्थापित भएको छ । त्यस्तै, राप्रपा दुई, एकीकृत समाजवादीले एक र नेमकिपाले एक सिट जितेका छन् ।
 
गण्डकी : कांग्रेसको उल्लेख्य प्रगति, एमाले दोस्रो शक्ति 
०७४ मा जम्मा एक सिट जितेको कांग्रेसले गठबन्धनबाट उल्लेख्य फाइदा लिँदै यो चुनावमा प्रदेशबाट प्रतिनिधिसभामा नौ सिट जितेको छ । १३ सिट जितेको एमाले पाँच सिटमा खुम्चिएको छ । एमालेले जितेको मनाङ, म्याग्दी, तनहुँका दुवै क्षेत्र, नवलपरासी पूर्व २, माओवादीले जितेको गोरखा १ यसपटक कांग्रेसले खोेसेको छ । एमालेले कास्कीको तीनवटै क्षेत्रमा क्लिन स्विप गर्दै र माओवादीले जितेको लमजुङ खोसेको छ भने पर्वतमा जितलाई निरन्तरता दिएको छ । तीन सिट जितेको माओवादी दुई सिटमा झरेको छ भने राजमोले बागलुङ १ को जितलाई गठबन्धनको शक्तिबाट जोगाएको छ । 

लुम्बिनी : साख जोगाउँदै एमाले पहिलो, माओवादीलाई क्षति
०७४ मा १२ सिट जितेको एमालेले यो निर्वाचनमा ११ सिट जितेर साख जोगाउँदै पहिलो शक्ति बनेको छ । पाँच सिट जितेको कांग्रेसले संख्या बढाएर ६ पुर्‍याउँदा माओवादीले भने क्षति व्यहोरेको छ । अघिल्लोपटक वाम गठबन्धनबाट सात सिट जितेको माओवादी तीन सिटमा झरेको छ । तत्कालीन संघीय समाजवादी फोरमको निरन्तरका रूपमा रहेका जसपा र राजमोले अघिल्लोपटक जितेको एक–एक सिट गुमाएका छन् । अघिल्लोपटक प्रदेशबाट एउटा पनि सिट जित्न नसकेको राप्रपाले तीन सिट जितेको छ भने एकीकृत समाजवादीले एक र स्वतन्त्रबाट एक उम्मेदवार विजयी भएका छन् । माओवादीले अर्घाखाँची, कपिलवस्तु १, बाँके १ र बर्दिया २ गुमाएको छ ।

कर्णाली : एमाले शून्य, कांग्रेस–माओवादी बराबरी
०७४ मा ६ सिट जितेको एमाले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा शून्य अवस्थामा पुगेको छ । अघिल्लोपटक शून्यको अवस्थामा रहेको कांग्रेसले चार सिट जितेको छ भने अघिल्लोपटक पाँच सिट जितेको माओवादीले पनि कांग्रेसकै बराबरीमा सिट जितेको छ । अघिल्लो निर्वाचनमा कर्णालीबाट एकजना स्वतन्त्र सांसद विजयी भएकोमा यसपटक जुम्लाबाट राप्रपाले प्रतिनिधिसभामा प्रतिनिधित्व गराउन सफल भएको छ । उता, कर्णालीबाटै एकीकृत समाजवादीले सल्यान, दैलेख र डोल्पाबाट तीन सिटसहित उपस्थिति जनाएको छ ।

सुदूरपश्चिम : माओवादी शून्य, कांग्रेसको कमब्याकसँगै नागरिक उन्मुक्तिको उदय
०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले ठूलो क्षति व्यहोरेका छन् । तीन सिटबाट माओवादीको उपस्थिति शून्य भएको छ भने एमाले ११ सिटबाट घटेर दुई सिटमा झर्दा शून्यको अवस्थामा पुग्नबाट जोगिएको छ । एमालेले क्षति व्यहोर्दा कांग्रेसले जितमा ‘कमब्याक’ गर्दै एक सिटबाट बढाएर सात सिट जितेको छ । 

यो प्रदेशबाट प्रतिनिधिसभामा रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिसहित उदय भएको छ । सो पार्टीले कैलालीका पाँचमध्ये तीनवटा क्षेत्र जितेर प्रदेशबाट सशक्त उपस्थिति जनाएको छ । अघिल्लो चुनावमा एक सिट जितेको महन्थ ठाकुर नेतृत्वको पार्टी शून्यको अवस्थामा पुगेको छ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि तीन सिट जितेको छ ।

प्रतिनिधिसभामा तीन नयाँ दल

यो निर्वाचनबाट राष्ट्रिय राजनीतिमा तीनवटा नयाँ शक्ति उदाएका छन् । चुनाव हुनुभन्दा झन्डै पाँच महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसद्मा बलियो शक्तिका रूपमा देखिने भएको छ ।

शनिबार साँझसम्मको मतगणनाअनुसार उसले प्रत्यक्षतर्फ सात सिट जितिसकेको छ, एउटामा अग्रता लिइरहेको छ । समानुपातिकबाट १५ सिट ल्याउने आकलन गरिएको छ ।

त्यस्तै, पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी उदाएको छ । कैलालीमा मात्रै तीन सिट जितेको छ । बर्दिया २ बाट जितेका स्वतन्त्र उम्मेदवारलाई पनि नागरिक उन्मुक्तिको समर्थन थियो ।

मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेको छ । स्वतन्त्र पार्टीले प्रदेशमा उम्मेदवारी नदिए पनि जनमत र नागरिक उन्मुक्तिको राम्रो उपस्थिति देखिएको छ ।

४७ सांसद प्रत्यक्षतर्फ दोहोरिएर निर्वाचित 
०७४ मा निर्वाचित भएका ४७ सांसद ०७९ को निर्वाचनमा पनि दोहोरिएका छन् । जसअनुसार सबैभन्दा बढी एमालेबाट १५ जना सांसद निर्वाचित भएका छन् । त्यस्तै, कांग्रेसबाट १० र माओवादीबाट १०, नेकपा एसबाट पाँच सांसद दोहोरिएर निर्वाचित भएका छन् । त्यस्तै, लोसपाबाट २, स्वतन्त्र सांसद २, राप्रपाबाट १, जसपाबाट १ र नेमकिपाबाट १ सांसद दोहोरिएर निर्वाचित भएका छन् । ०७४ र ०७९ दुवैपटक निर्वाचित प्रतिनिधिसभा सांसद :

कांग्रेस 
१. डा. नारायण खड्का, उदयपुर १ (अग्रता)
२. तेजुलाल चौधरी, सप्तरी ४
३. देवप्रसाद तिमल्सिना, रौतहट ४
४. मोहन आचार्य, रसुवा
५. प्रकाशमान सिंह, काठमाडौं १
६. गगन थापा, काठमाडौं ४
७. राजेन्द्रकुमार केसी, काठमाडौं १०
८. शशांक कोइराला, नवलपरासी पूर्व १
९. सञ्जयकुमार गौतम, बर्दिया १
१०. शेरबहादुर देउवा, डडेल्धुरा

एमाले 
१. केपी ओली, झापा ५
२. योगेश भट्टराई, ताप्लेजुङ
३. वसन्तकुमार नेम्वाङ, पाँचथर
४. लालप्रसाद साँवा लिम्बू, झापा ३
५. राजेन्द्र राई, धनकुटा
६. लीलानाथ श्रेष्ठ, सिराहा ३
७. कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९
८. गोकुल बाँस्कोटा, काभ्रे २
९. विद्या भट्टराई, कास्की २
१०. पदम गिरी, पर्वत 
११. गोकर्णराज विष्ट, गुल्मी २
१२. टोपबहादुर रायमाझी, अर्घखाँची
१३. छविलाल विश्वकर्मा, रुपन्देही १
१४. विष्णुप्रसाद पौडेल, रुपन्देही २
१५. दामोदर भण्डारी, बैतडी
१६. सुवास नेम्वाङ, इलाम २ (अग्रता)

माओवादी
१. पुष्पकमल दाहाल प्रचण्ड, गोरखा २
२. सुदन किराँती, भोजपुर
३. अमनलाल मोदी, मोरङ ४
४. गिरिराजमणि पोखरेल, महोत्तरी १ (अग्रता)
५. महिन्द्र राय यादव, सर्लाही २
६. हितबहादुर तामाङ, नुवाकोट १
७. देवेन्द्र पौडेल, बाग्लुङ २
८. वर्षमान पुन, रोल्पा
९. शक्तिबहादुर बस्नेत, जाजरकोट
१०. जनार्दन शर्मा, रुकुम पश्चिम

नेकपा एस
१. कृष्णकुमार श्रेष्ठ, बारा ४
२. माधवकुमार नेपाल, रौतहट १
३. मेटमणि चौधरी, दाङ १
४. धनबहादुर बुढा, रोल्पा
५. प्रेम आले, डोटी

नेमकिपा
१. प्रेम सुवाल, भक्तपुर १

जसपा
१. प्रदीप यादव, पर्सा १

लोसपा
१. महन्थ ठाकुर, महोत्तरी ३
२. शरत्सिंह भण्डारी, महोत्तरी २

राप्रपा
१. राजेन्द्र लिङ्देन, झापा ३

स्वतन्त्र 
१. अमरेशकुमार सिंह, सर्लाही ४
२. प्रभु साह, रौतहट ३