मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०७:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेवानिको दिल्ली–भैरहवा उडान अनिश्चित

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०७:०८:००

नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा गर्न लागेको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । निगमले १२ मंसिरदेखि सातामा चार दिन काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो ।

तर, नेपाल र भारतका उड्डयन क्षेत्रका नियामक निकायले निगमलाई अझै उडान अनुमति दिएका छैनन् । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नागरिक उड्डयन महानिर्देशनालय (भारत)सँग उडान रुटको प्रस्ताव पेस गरेको थियो । ‘दुवै देशका नियामक निकायबाट अझै कुनै जवाफ आएको छैन,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘नियमनकारी निकायबाटै उडान अनुमति नपाएपछि भैरहवा उडान तत्काललाई अनिश्चित बनेको छ ।’ उडान अनुमति नपाएपछि निगमले दिल्ली–भैरहवा–काठमाडौं रुटको टिकट काटेको छैन । अब नियामकबाट अनुमति पाइहाले पनि १२ गते भैरहवामा उडान गर्न कठिन हुने भएकाले उडान नै अनिश्चित भएको उनको भनाइ छ । 

नयाँ विमानस्थल भएकाले भैरहवाबाट उडान गर्न दुवै देशका नियमनकारी निकायको अनुमति चाहिन्छ । सुरुमा नेपालको निकायले अनुमति दिएपछि बल्ल भारतीय पक्षले अनुमति दिने गर्छ । तर, क्यानले नै दिल्ली–भैरहवा–काठमाडौं रुटको उडान अनुमति दिन आनाकानी गरिरहेको छ । क्यानले जिबिआइएबाट यात्रुलाई दिल्ली जान पनि पाउने गरी उडानतालिका बनाउन अनुरोध गरेको छ । काठमाडौंबाट दिल्ली जाने र दिल्लीबाट भैरहवा भएर काठमाडौं फर्किने गरी रुट तय गरेको हुनाले अनुमति नदिएको क्यानको जिकिर छ ।

क्यानले दिल्ली–भैरहवा–दिल्ली वा भैरहवा–दिल्ली–भैरहवा उडान हुने गरी रुट बनाउन अनुरोध गरेको हो । दिल्लीबाट भैरहवा फर्किने मात्र होइन, भैरहवाबाट दिल्ली जाने यात्रुहरू पनि उडान गर्न पाउनुपर्ने क्यानको भनाइ छ । क्यानले भैरहवामा दुईतर्फी उडान गर्ने गरी तालिका बनाउन अनुरोध गरेको निगमकी प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, ‘सायद अब नयाँ तरिकाले वर्कआउट हुन्छ होला ।’ 

निगमले सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तत्कालका लागि राउन्ड ट्रिप गरे तापनि भोलिका दिनमा भैरहवा–दिल्ली–भैरहवा दुईतर्फी उडान गर्ने योजना निगमले बनाएको प्रवक्ता खड्काले बताइन् ।

यसअघि नै काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवाबाट अनिवार्य उडान गर्न क्यानले निर्देशन दिइसकेको छ । क्यानले विन्टर सेड्युल बनाउँदा भैरहवाबाट उडान राख्न निर्देशन दिएको थियो । तर, हिमालय र नेवानिले भैरहवा उडान गर्न नमानेपछि क्यानले अन्तर्राष्ट्रिय उडान नै कटौती गरिदिएको थियो । निगमको भारततर्फ चारवटासहित सातामा १४ उडान कटौती भएको प्रवक्ता खड्काको भनाइ छ ।

हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान सुरु गरिसकेको छ । ‘क्यानले न निगमको दिल्ली–भैरहवा–काठमाडौं उडानको प्रस्ताव स्वीकृत गरेको छ, न कटौती गरिएका उडानहरू खुला गरिदिएको छ,’ निगम स्रोतले भन्यो, ‘काठमाडौं–दिल्ली उडान कटौती हुँदा निगमको सातामा नौ करोडभन्दा बढी आम्दानी गुमिरहेको छ ।’