१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Friday, 05 July, 2024
सुवास भट्ट काठमाडौं
२o७९ मङ्सिर ८ बिहीबार १५:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री र पटकपटक चुनाव जितेका यी चर्चित नेता जसले जोगाउन सकेनन् जमानत

दुईपटक सांसद् र दुवै पटक मन्त्री भएका श्रेष्ठ, तीनपटक सांसद् र एकपटक मन्त्री भएका कर्ण तथा दुईपटक सांसद् र एकपटक राज्यमन्त्री भएका मानन्धरको जमानत जफत

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १५:२४:oo

कतिपय चर्चित नेताहरूले यसपटक जमानतसमेत जोगाउन सकेनन्। जसमा पूर्वमन्त्री र पटकपटक चुनाव जितेकाहरूसमेत छन्। जारी मतगणनामा हालसम्म जमानत जफत भएकामा पूर्व मन्त्रीहरू राजेन्द्रप्रसाद श्रेष्ठ, लक्ष्यमणलाल कर्ण र रामवीर मानन्धर छन्।

एक महिनाअघिसम्म पनि मन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठको जमानत जफत भएको छ। यसपटक प्रतिनिधिसभामा काठमाडौं ७ बाट चुनाव लडेका श्रेष्ठको जमानत जफत भयो। न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो। कुल सदर मतको १० प्रतिशत कटाउन नसक्नेको जमानत जफत हुने व्यवस्था छ।

काठमाडौं ७ मा कुल ३६ हजार ६१ सदर मत रहेकामा श्रेष्ठले दुई हजार ४६१ मत पाएका छन्। कुल सदर मतको अनुपातमा उनले ६.८ प्रतिशतमात्र पाएका छन्। श्रेष्ठ मध्यावधि निर्वाचन ०५१ मा प्रत्यक्ष सांसद् चुनिएका थिए भने ०७४ मा समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद् थिए। उनी दुईपटक मन्त्री भइसकेका व्यक्ति हुन्। ०५५ मा आवास तथा भौतिक योजनामन्त्री र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। उनको दल जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि श्रेष्ठसहित जसपाका चार मन्त्रीलाई देउवाले गत २७ असोजमा बर्खास्त गरेका थिए।

जमानत जफत भएका अर्का उम्मेदवार हुन्, रामवीर मानन्धर। एमालेबाट टिकट नपाएपछि काठमाडौं ७ बाटै स्वतन्त्र चुनाव लडेका मानन्धर एक हजार २१५ मतमा सीमित भए। यो कुल सदर मतको ३.३ प्रतिशत हो। मानन्धर यही क्षेत्रबाट ०७० र ०७४ गरी दुईपटक सांसद् जितेका नेता हुन्। केपी ओली नेतृत्वको सरकारमा ०७६ मा उनी शहरी विकास राज्यमन्त्री भएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि यसपटक जमानत जोगाउन सकेनन्। पर्सा १ बाट उम्मेदवारी दिएका उनले एक हजार ११७ मत पाए। ४८ हजार ५२६ सदर मतमा उनले पाएको मतको हिस्सा २.३ प्रतिशतमात्र हो। ०६४ र ०७० मा समानुपातिक सांसद् बनेका उनी ०७४ मा पर्सा ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा उनी बिनाविभागीय मन्त्रीसमेत बनेका थिए।

ad
ad
ad
ad