१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
यम बम काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०७:०९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेसमा जनमत पार्टी र पश्चिममा नागरिक उन्मुक्ति पार्टी उदाए

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०७:०९:००

- मधेस र थरूहट आन्दोलनसँगै जन्मिएका क्षेत्रीय दलहरू मर्ज हुँदै बिलाउँदै गएका वेला मधेसमा जनमत र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको उदय, दुवै दल प्रदेश सरकार गठन गर्न निर्णायक बन्न सक्ने आकलन

- सोमबार रातिसम्मको मतगणना हेर्दा समानुपातिकतर्फ जनमत र नागरिक उन्मुक्ति पार्टी क्रमशः आठौँ र दशौँ स्थानमा छन् । मधेसमा जनमत पार्टीले चार सय ३२ मतसहित अग्रता कायम गरेको छ भने प्रदेश सभातर्फ सुदूरपश्चिमको समानुपातिक मतको पहिलो विवरण पनि सार्वजनिक भएको छैन ।

मधेस आन्दोलनकै आलोकमा उदाएका नेताहरू नै संसद् पुग्न केन्द्रीय दलको बुई चढिरहेका वेला दुईवटा क्षेत्रीय दल उदाएका छन् । ६ महिनाअघिको स्थानीय तह निर्वाचनमा जबर्जस्त प्रदर्शन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी प्रदेश र संघीय संसद्मा पुग्ने भएका छन् । 

पश्चिम तराईमा केन्द्रित नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकार र मधेसकेन्द्रित जनमत पार्टीले मधेस प्रदेश पहिलोपटक संसदीय निर्वाचन लडेका छन् र उनीहरूका उम्मेदवार प्रदेश सभासँगै प्रतिनिधिसभामा निर्वाचित हुने प्रारम्भिक रुझान देखिएको छ । 

मधेस र थरूहट आन्दोलनसँगै जन्मिएका क्षेत्रीय दलहरू मर्ज हुँदै बिलाउँदै गएका वेला ३० वैशाखमा भएको चुनावमा उन्मुक्तिले चार पालिका र जनमतले दुई पालिका जितेका थिए । 

जसपा अध्यक्ष उपेन्द्र यादव एमालेको सहयोगमा संसद् छिर्ने दाउमा रहेका वेला जनमतका अध्यक्ष चन्द्रकान्त (सिके) राउत भारी पर्ने देखिएको छ । सप्तरी २ को मतगणनामा राउत अघिअघि रहँदा यादव पछिपछि छन् भने लोसपाका जयप्रकाश ठाकुर दोस्रोका लागि पछ्याइरहेका छन् ।

०७२ मा कैलाली टीकापुरमा भएको घटनाको जगमा १० महिनाअघि मात्र दर्ता भएको नागरिक उन्मुक्तिले कैलालीका तीन निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज हुँदा विकल्पमा उन्मुक्तिबाट समर्थन पाएका चौधरीका बुबा लालवीर चौधरीले बर्दिया २ गठबन्धनलाई पछि पार्दै अग्रता बनाएका छन् ।

सोमबार रातिसम्मको मतगणना हेर्दा समानुपातिकतर्फ जनमत र नागरिक उन्मुक्ति पार्टी क्रमशः आठौँ र दशौँ स्थानमा छन् । मधेसमा जनमत पार्टीले चार सय ३२ मतसहित अग्रता कायम गरेको छ भने प्रदेश सभातर्फ सुदूरपश्चिमको समानुपातिक मतको पहिलो विवरण पनि सार्वजनिक भएको छैन ।

एउटा शक्तिको रूपमा नागरिक उन्मुक्ति आउन सक्छ : विजयकान्त कर्ण राजनीतिक विश्लेषक

मधेस आन्दोलनले नेता र पार्टी जन्माएकोे अधिकार प्राप्तिका लागि हो । तर, मधेसकेन्द्रित दलहरू सत्ताको भर्‍याङ बने । मधेसी जनअधिकार फोरम कैलालीसम्म पुगेको थियो । तर, अहिले मधेसमै मधेसी दल खुम्चिएका छन् । जसरी सद्भावनाले तराईमा आन्दोलन गर्न नसकेपछि तमलोपा र फोरमको जन्म भयो, पश्चिममा थारूको मुद्दा उठाउन नसकेपछि थरूहट आन्दोलन भयो । ०६४/६५ मा तराई–मधेसमा धेरै पार्टी बनेका थिए । थरूहट आन्दोलनको नेतृत्वमा (रेशम, लक्ष्मण) अहिले नागरिक उन्मुक्ति पार्र्टी जन्मियो । मधेसी र थारूको स्वतन्त्रतामा कांग्रेस, एमाले र माओवादीले काम गर्न सकेनन् भन्ने भान परेपछि आफ्नो उन्मुक्ति र लडाइँका लागि लागेका हुन् । नागरिक उन्मुक्तिले समानुपातिकमा सप्तरी, सुनसरीसम्म भोट पाउँछ । अब एउटा शक्तिका रूपमा नागरिक उन्मुक्ति हुन सक्छ । 

उन्मुक्तिको रणनीति प्रदेशमा निर्णायक

उन्मुक्तिले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा कम्तीमा तीनदेखि चार सिट र चारदेखि पाँच लाख मत समानुपातिकमा आउने आन्तरिक आकलन गरेको छ । सुरुवाती नतिजामा उन्मुक्तिकी अध्यक्षसमेत रहेकी रञ्जिता चौधरी श्रेष्ठले कैलाली १ मा, २ मा अरुणकुमार चौधरी र ३ मा गंगाराम चौधरीले अग्रता बनाएका छन् । यी तीनमध्ये दुईवटा सिट जित्ने सम्भावना छ । त्यसबाहेक कञ्चनपुर १ र बर्दियालाई ‘ग्रिन जोन’मा राखेको छ । 

उन्मुक्तिले प्रतिनिधिसभातर्फ बर्दिया २ मा लालवीर चौधरी र कैलाली ५ मा जगदीश चौधरी गरी (३४) तथा प्रदेश सभातर्फ ५७ उम्मेदवार उठाएको छ । ‘सुदूरपश्चिम प्रदेश सरकारमा त हामी निर्णायक हुन्छौैँ नै दुईमत छैन, एक्लै सरकार बनाउन त सक्दैनौैँ,’ नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित भन्छन्, ‘संघमा पनि राष्ट्रिय पार्टी बनेर संसद्मा थारूका मुद्दा राख्नेछौँ ।’ सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ५३ सिट छ । 

उन्मुक्तिले कैलाली, कञ्चनपुर, बैतडी ,दार्चुला, बर्दिया, बाँँके, रुपन्देही, नवपरासी पश्चिम, दाङ, कपिलवस्तु, नवलपरासी पूूर्व, रामेछाप, दोलखा, काठमाडौं, सिराहा, सर्लाही, सप्तरी, रौतहट, बारा, सुनसरी, मोरङ र उदयपुरमा उम्मेदवार खडा गरेको छ ।

स्थानीय निर्वाचनमा टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका जितेको उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल बनेको थियो । पालिकामा यसका ९९ जना जनप्रतिनिधि छन् ।

०७४ मा कैलाली १ मा रेशम चौधरीले भूमिगत अवस्थामै जितेका थिए । ‘अहिले बर्दियाबाट चुनाव लड्न खोजे पनि दिइएन,’ पण्डितले भने, ‘पहिचानको आन्दोलन र दमनका कारण विभेदमा परेका थारू, आदिवासी, जनजातिको आक्रोश विस्फोट भइरहेको हो ।’ रेशम जेलबाट बाहिर आएपछि पार्टी झन् सशक्त हुने र पहिचानवादीको संगठन हुने उनको दाबी छ ।

संविधान जारी हुनुअघि ०७२ भदौमा थरूहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनले टीकापुरमा हिंसात्मक रूप लिएपछि आठ सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाएका थिए । टीकापुर क्षेत्रमा थरूहट आन्दोलनको नेतृत्व गरिरहेका रेशम घटना भएपछि फरार भएकै अवस्थामा ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

चुनाव जितेपछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरीसहित आठजनालाई जन्मकैदको सजाय भएको छ । घटनाको दोस्रो दिन टीकापुर क्षेत्रमा थारू समुदायका केही घरमा तोडफोड र आगजनी भए पनि कारबाही नभएको दाबी पण्डितको छ । स्थानीय चुनावदेखि संसदीय चुनावसम्म उन्मुक्तिले यही मुद्दा बनाएको छ ।

जनमत पार्टी सप्तरीबाहिर छाउने प्रयासमा

कुनै वेला ‘मधेसलाई नेपालबाट अलग्याएर छुट्टै मधेस देश बनाउने’ भन्दै पृथकतावादी आन्दोलन चलाइरहेका राउत ०७५ यता शान्तिपूर्ण राजनीतिमा छन् । २४ फागुन ०७५ मा सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको उद्घोष गरेका राउतले गत स्थानीय चुनावमा भाग लिए । राउतको गृहजिल्ला सप्तरीका दुईवटा स्थानीय तहमा जनमत पार्टी विजयी भएको थियो ।

अहिले प्रतिनिधिसभातर्फ ५४ र प्रदेश सभा ९० सिटमा यो पार्टीका उम्मेदवार छन् । सप्तरीमा राउतले अग्रता लिइरहेका वेला प्रदेश सभातर्फ पाँच सिटमा अग्रता छ । जनमतले प्रदेश सभातर्फ धनुषा ३ ‘ख’, सप्तरी २ ‘क’ र ‘ख, सप्तरी ४ ‘ख’ र रुपन्देही ५ ‘ख’ मा अग्रता लिएको छ ।

जनमतका प्रवक्ता चन्दन सिंह आफ्नो पार्टीको प्रतिनिधित्व प्रतिनिधिसभामा पनि रहने र प्रदेश सभामा निर्णायक बन्ने दाबी गर्छन् । ‘मधेसमा भएको शोषण र अन्यायविरुद्धको नेतृत्व हामीले लिइरहेका छौँ, जनताले नयाँ रणनीतिक विकल्प खोजेका छन्, त्यो विकल्प हामी हौँ,’ उनले भने ।

राजनीतिक विश्लेषक विजयकान्त कर्ण मधेसमा जनमत पार्टी विकल्प बनिनसकेको बताउँछन् । ‘महन्थ, उपेन्द्र र राजेन्द्रजीहरूप्रतिको अविश्वासका कारण यहाँका जनताले नयाँ नेतृत्व र नयाँ पार्टी खोजिरहेका छन् । त्यसमा जनमत प्रवेश भएको छ,’ कर्ण भन्छन्, ‘तर, सिकेजीहरूले केही सिट त ल्याउनुहोला, तर अझै उहाँहरू वैकल्पिक भइसक्नु भएको छैन । त्यसका लागि उहाँहरूले मिहिनेत गर्नुपर्छ, समय लाग्छ ।’