१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तनहुँको व्यास नगरपालिका–१० निवासी शारीरिक अशक्ता भएकी कृष्ण थापा मतदान केन्द्र अपांगतामैत्री बनाउनेबारे सुझाव दिँदै । फाइल तस्बिर : रासस
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

३९२ मतदान केन्द्र पूर्ण अपांगमैत्री, अन्यमा सामान्य संरचना

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१९:oo

हिँडडुल गर्न नसक्ने मतदातालाई गाडीको व्यवस्था

निर्वाचन आयोगले तीन सय ९२ मतदान केन्द्र अपांगमैत्री बनाएको छ । २२ हजार २२७ मतदान केन्द्रमध्ये काठमाडौं उपत्यकाभित्र र सातवटै प्रदेशका राजधानीमा गरी १० जिल्लाको तीन सय ९२ मतदान केन्द्र पूर्ण रूपले अपांगमैत्री बनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 

तथ्यांक विभागका अनुसार कुल जनसंख्याको करिब दुई प्रतिशत अपांगता भएका व्यक्ति छन् । ‘अपांगता भएका व्यक्ति सबै मतदान केन्द्रमा हुन सक्छन् । अहिले हामीले केही ठाउँमा ४०–५० जना हेरेर नमुनाका रूपमा सयवटा मतदानस्थल र तीन सय ९२ केन्द्रलाई पूर्ण रूपले अपांगमैत्री तोकेका छौँ,’ थपलियाले भने । उनका यी मतदान केन्द्रमा एक हजार २८ पुरुष र आठ सय ३८ महिला गरी कुल एक हजार ८८६ अपांगता भएका मतदाता छन् । 

आयोगले इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम (आइएफइएस)को सहयोगमा नमुनाका रूपमा सहरी क्षेत्रमा अपांगमैत्री मतदान केन्द्र बनाएको हो ।आयोगको तथ्यांकअनुसार प्रदेश १ को राजधानी मोरङस्थित विराटनगर महानगरपालिकामा आठ तथा बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा एक–एक मतदानस्थल अपांगमैत्री रहेको छ ।  

प्रदेश २ को राजधानी धनुषास्थित जनकपुर उपमहानगरपालिकामा १० मतदानस्थल अपांगमैत्री छन् । बागमती प्रदेशको राजधानी मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिकामा १०, काठमाडौं उपत्यकास्थित काठमाडौं महानगरमा नौ र गोकर्णेश्वर नगरपालिकामा एक, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा १०–१० गरी ४० वटा मतदानस्थल अपांगमैत्री छन् ।

गण्डकी प्रदेशको राजधानी कास्कीस्थित पोखरा महानगरपालिकामा १०, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकामा ६ र तिलोत्तमा नगरपालिकामा चार, कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्र नगरपालिकामा १०, सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा पाँच–पाँच मतदानस्थल रहेका छन् ।     

अन्य ठाउँमा सामान्य संरचना
प्रमुख आयुक्त थपलियाले अन्यत्र पनि मतदानस्थल र केन्द्र बनाउँदा त्यहीँभित्र फरक ढंगले सामान्य अपांगमैत्री संरचना बनाउन भनिएको बताए । सबै केन्द्रमा सामान्य संरचना अपांग र अशक्त मतदातामैत्री नै हुने उनको भनाइ छ । 

आयोगले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, यौनिक अल्पसंख्यक मतदाताको सहज पहुँच हुने गरी पूर्ण र सामान्य रूपमा अपांगमैत्री हुने गरी मतदान केन्द्र निर्माण गरेको थपलियाले बताए । ‘हरेक मतदान केन्द्रमा सामान्य खालको विश्रामस्थल निर्माण गरिएको छ । मतदान कक्ष बनाउँदा मतपेटिका अग्लो ठाउँमा नराख्न, होचो कद भएका र अपांगता भएका व्यक्तिले सजिलै मत संकेत र मतपेटिकामा आफैँ मत खसाउन सक्ने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने । मतदानका क्रममा पनि उनीहरूलाई लाइनमा नराखी विशेष प्राथमिकता दिन मतदान अधिकृतलाई निर्देशन दिइएको थपलियाले बताए । 

आयोगले दृष्टिविहीन, शारीरिक रूपले अशक्त वा अरू कुनै कारणले मत संकेत गर्न नसक्ने मतदाताले आफ्नो साथमा लिएर आएको सहयोगीलाई मतदान केन्द्रमा जान दिने व्यवस्थासमेत मिलाएको छ । सहयोगी नभएको त्यस्तो मतदातालाई मतदान अधिकृत वा कर्मचारीले नै सहजीकरण गरिदिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

हिँडडुल गर्न नसक्ने मतदातालाई गाडीको व्यवस्था
आयोगले मतदान केन्द्रमा आउन नसक्ने अपांगता भएका वा अशक्त मतदातालाई गाडीको व्यवस्था गर्न स्थानीय प्रशासन र मतदान अधिकृतलाई निर्देशन दिइसकेको छ । आयोगको सवारी आवागमन व्यवस्थापन मापदण्डअनुसार अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि वासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि वासस्थानसम्म आवतजावत गर्न गाडीको व्यवस्था गर्न भनेको हो । यस्ता व्यक्तिले म्याद रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारी प्रयोग गर्न पाउनेछन् । 

‘अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा सवारी सञ्चालन अनुमतिपत्र जारी गर्न सक्नेछ,’ मापदण्डमा भनिएको छ । 

गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवतीलगायत मतदातालाई सकेसम्म मतदान केन्द्रसम्म जानका निम्ति आवश्यक समन्वय गरेर सवारीको उपयुक्त प्रबन्ध गर्न भनिएको प्रमुख आयुक्त थपलियाले बताए । ‘आउन नसक्ने यस्ता मतदातालाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था मिलाउन पनि मतदान अधिकृतलाई निर्देशन दिइएको छ । मतदान गरिसकेपछि सहज ढंगले बाहिर जाने व्यवस्था मिलाउन पनि भनिएको छ,’ उनले भने । 

मतदानमा सबै मतदाताको समान पहुँचका लागि यो व्यवस्था गरिएको थपलियाले बताए । ‘सबै मतको मूल्यबराबर हुन्छ । सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यो निर्वाचन लैंगिक, समावेशी र अपांगमैत्री दृष्टिकोणबाट एउटा नमुना मतदान भएको छ भन्ने स्थापित हुने गरी काम गरेका छौँ,’ उनले भने ।

अर्काेलाई मत हाल्न लगाए कारबाही
अपांगमैत्री मतदान केन्द्रको व्यवस्थापन गरेको आयोगले अपांगता भएका र अशक्त व्यक्तिले अरूलाई मत हाल्न लगाए निर्वाचन कसुर ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । स्थानीय तह निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका व्यक्ति वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताको नाममा कुनै उम्मेदवार बादलको प्रतिनिधिले वारेस बनेर मतदान गरेको पाइएको थियो । त्यसवेला आफैँ मतदान गर्न सक्ने मतदाताहरूले समेत आफू अशक्त भएको भनी अरूमार्फत मतदान गराएको सूचना आएकाले त्यस्तो नियमित दोहोरिन नदिन नियम तोकिएको थपलियाले बताए । आफू सक्षम हुँदाहुँदै अरूलाई मतदान गराएमा कारबाही हुने उनले चेतावनी दिए । 

यस्ता हुनेछन् पूर्ण अपांगमैत्री मतदान केन्द्र
पूर्ण अपांगमैत्री मतदान केन्द्र तीन सय ९२ वटा छन् । अपांगमैत्री मतदान केन्द्रमा सांकेतिक भाषा सूची, सांकेतिक भाषा प्रयोग गर्ने कर्मचारी, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री राखिएको छ । रंगीचंगी डोरी तथा पोल तथा र्‍याम्प निर्माण गरिएको छ । यी केन्द्रमा ह्विलचेयर सहजै प्रवेश गर्न सक्नेछ । त्यस्तै, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिएको छ ।

इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम (आइएफइएस)ले सयमध्ये २४ मतदानस्थलमा सरकारी मापदण्डअनुसार ह्विलचेयर चढ्ने र्‍याम्प बनाइदिएको छ । न्यून दृष्टि भएका मतदातालाई लाइन पहिचानका लागि रातो रिबनले बाँसलाई बेरिएको छ । महिला र पुरुष छुट्याउने बाँसको डन्डी नीलो रिबनले बेरिएको छ ।  सही मतदान गर्ने तरिकासहित ब्रेललिपि पोस्टर तयार गरिएको छ ।

मतदान केन्द्रमा आउने मतदाताका लागि शब्दावली सांकेतिक भाषामा प्रिन्ट गरेर टाँसिएको छ । ‘जस्तो भित्र जानुस् भन्ने ठाउँ सांकेतिक शब्दावलीबाट पहिचान गर्नुहुन्छ । मतदाता नामावली रुजु गराउने ठाउँमा त्यस्तै टाँसिएको छ । मतदान केन्द्रभित्र बाहिर जानुस् भन्नेसम्म आवश्यक १७ वटा सांकेतिक भाषामा शब्दावली राखिएको छ,’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले भने । उनका अनुसार आइएफइएसले जिल्ला निर्वाचन केन्द्रमार्फत अन्य मतदान केन्द्रमा अपांगता भएका व्यक्तिलाई सहज रूपमा मतदान गराउने मतदाता शिक्षा सामग्री दिएको छ । 
 

ad
ad