काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका विभिन्न निकायमा संस्थागत रूपमा मौलाएको भ्रष्टाचारको जालो जरैदेखि उखेल्न सरकारलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले युवा नेतृत्वको सरकारले उच्च तहका बिचौलियाहरूको सञ्जाल तोड्न गरेको प्रयासको सराहना गरेका हुन्।
उनले राजनीति, प्रशासन, न्यायालय, सुरक्षा अंग तथा बाह्य शक्तिकेन्द्रसँगको मिलेमतोमा हुने गरेको भनिएको खर्बौँ रुपैयाँको अपचलनले देशको अर्थतन्त्रसँगै समाजको नैतिक धरातलसमेत कमजोर बनाएको बताएका छन्। भ्रष्टाचारको जालो माथिदेखि तलसम्म संस्थागत बन्दै गएको उल्लेख गर्दै भट्टराईले त्यसलाई जरैदेखि नउखेली सुशासन सम्भव नहुने धारणा व्यक्त गरेका छन्। सुशासनविना समृद्धिको नारा केवल औपचारिक कुरामा सीमित हुने उनको भनाइ छ।
भट्टराईले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई तार्किक निष्कर्षमा पुर्याउन सूचना संकलन, कानुनी प्रक्रिया, अनुसन्धान, अभियोजन र मुद्दा फर्स्योटलगायत सबै प्रक्रियागत क्षेत्रमा पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्कर्षमा पुर्याउन कुनै पनि प्रकारको दबाबसामु नझुक्न सरकारलाई आग्रहसमेत गरेका छन्।