Skip This
ज्युँदै छन् मनु र मनुस्मृति 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Friday, 15 November, 2024
परशुराम रम्तेल
२o७८ फाल्गुण १७ मंगलबार o७:२८:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ज्युँदै छन् मनु र मनुस्मृति 

मनु यति धेरै विभेदकारी विचार बोकेका मान्छे थिए कि त्यसको हिसाबकिताब गरिसाध्य छैन

Read Time : > 5 मिनेट
परशुराम रम्तेल
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार o७:२८:oo

पूर्वीय राजनीतिक दार्शनिकका रूपमा स्थापित मनु भारतीय दार्शनिक थिए । उनीद्वारा परिकल्पित विचारहरूको क्रमबद्ध र व्यवस्थित संग्रह मनुस्मृति हो । त्यतिवेलाको राजतन्त्रात्मक व्यवस्था, जनताको जीवनस्तर, आर्थिक व्यवस्था, रीतिरिवाज एवं परम्परा, जनताको चेतनास्तर, धार्मिक व्यवस्था आदिको पृष्ठभूमिमा मनुको क्षमता अब्बल नै हुनुपर्छ । उनले परिकल्पना गरेको विचार हाबी भई अन्ततः लामो समय स्थापित रह्यो । 

ऋग्वेदले मनुलाई मानवका पिता र सृष्टिका प्रवर्तक मानेको छ । कानुनका दृष्टिले पूर्वीय दर्शनमा वेदपछि यसलाई लिने गरिन्छ, अझ प्रधानता छ । त्यस बखत संविधान तथा ऐन, कानुन भनेकै मनुस्मृति थियो । राज्य सञ्चालकले यसैका आधारमा राज्य सञ्चालन गर्थे । यसमा स्त्रीको नाम दिएर महिलालाई र शूद्रको नाम दिएर एउटा वर्ग (दलित समुदाय)लाई पुरुष र समाजले नियन्त्रणमा राख्ने, कजाउने, सेवाचाकरीमा लगाउने, थिचोमिचो, हेलाहोचो, विभेद र अपमान गर्ने गरी नियम, कानुन, प्रथा परम्पराको प्रबन्धन गरिएको देखिन्छ । मनुस्मृतिद्वारा समाज विकास एवं सभ्यताको मुख्य संवाहक शक्ति रहँदै आएका दलित समुदायमाथि जबर्जस्ती थोपरेको अन्याय, अत्याचार, विभेद र उत्पीडनका स्वरूपहरूलाई यो आलेखमा छोटो विश्लेषणको यत्न गरिएको छ । 

विभेदको बीजारोपण : संसारको विकासका लागि मुख, बाहु, तिघ्रा र खुट्टाबाट क्रमैसँग ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्रहरूलाई उत्पन्न गरे (मनुस्मृति÷३१) । मनुले मानिसलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी चार जातमा विभक्त गर्दै उनीहरूले गर्ने कामको पनि विभाजन गरे । जसअनुसार ब्राह्मणलाई पढ्ने–पढाउने, यज्ञ गर्ने–गराउने, दान दिने–लिने गरी ६ प्रकारका कार्य, क्षेत्रीयका लागि प्रजाहरूको रक्षा गर्ने, पढ्ने र विषयवासनामा आसक्त नहुने कार्य, वैश्यका लागि पशुहरूको रक्षा गर्ने, दान दिने, यज्ञ गर्ने, पढ्ने, ज्याला–मजदुरी गर्ने, ब्याजमा धन लगाउने र खेतीपातीको कार्य र शूद्रका लागि भने उल्लिखित तीन वर्णहरूको सेवा गर्ने काम तोकियो (अध्याय–२) । वर्ण विभाजन गरेर मनुले दलित समुदायलाई पढ्ने, सिक्ने, धन कमाउनेलगायत सबै कुरा वर्जित गरिदिए । मनुस्मृतिमा चार जातलाई एकपछि अर्कोको सोपना खप्टिँदै जातीय विभेदको ठूलो भड्खालो बनाइएको छ । शूद्र त अछुत हो, ऊ वास्तवमा मान्छे नै होइन झैँ बनाएर अममान्छेको तहमा राख्दै तहगत विभेदको बीजारोपण गरी कार्य विभाजन गरियो । 

विभेदका स्वरूप र प्रावधान : जुन मानिसलाई अभिवादन गर्दा फर्काउँदैन, उसलाई शूद्रलाई जस्तै गरी अपमानपूर्ण व्यवहार गरिनुपर्छ भन्छ मनुस्मृति । अर्थात् शूद्रलाई कहिल्यै पनि सम्मान गर्नुहुँदैन, सधैँ अपमान गनुपर्छ भनेर हजारौँ वर्षदेखि दिक्षित गरिँदै आएको छ । अर्थात् शूद्रलाई जीवनभर अपमान र तिरष्कार गर्नुपर्छ भन्ने डरलाग्दो र अमानवीय मनुदर्शन र मनु दुवैलाई दक्षिण एसियाका करोडौँ दलितले किमार्थ स्विकार्न सक्दैनन् । 

मनुले शूद्रलाई कहिल्यै शासनसत्तामा जान दिनु हुँदैन, नेतृत्व दिने, स्वीकार गर्ने र राज्यसत्तामा सरिक बनाउनु हुँदैन भनेर चोर, डाँका, छलकपटीहरूभन्दा पनि तल पार्ने सुविचारित काम गरेर दलितमाथि घोर अन्याय गरेका छन् । मनुको यही दर्शनसँग मिल्दो प्रवृत्ति अहिले पनि नेपाली राजनीतिमा व्याप्त छ । ब्राह्मण कत्ति पनि नपढेको भए पनि शासकको उर्दीको भरमा धर्मको प्रवक्ता र विद्वान् बन्न सक्छ । तर, दलित जतिसुकै शास्त्रहरू पढेको, ज्ञानी, बुद्धिमानी भए पनि शूद्र भएकै कारण ऊ धर्मको व्याख्याता, विद्वान् बन्न सक्दैन भनेर मनुले लाजै नमानी बेतुकको तर्क पेस गरेका छन् । 

उनले जातअनुसारको ब्याज निर्धारण गरेकोबाट पनि शोषण दुष्चक्र कति जबर्जस्त रहेछ देख्न सकिन्छ । शूद्रले अरू जातिबाट ऋण लिएको छ भने सेवा चाकरी गरेर ऋण तिर्दै जानुपर्छ, तर शूद्रबाट गैरशूद्र जातिले ऋण लिएको छ भने चाहिँ उनीहरूले शूद्रको सेवा गर्नु पर्दैन सके सक्दामा तिर्दै जाने, नसके बरु नतिर्ने तर शूद्रको काम भने गर्नुहुँदैन भन्ने व्यवस्था गरेर मनुले सामाजिक सौहाद्र्रलाई नै खलबल्याउने नियम बनाएका छन् । यो प्राकृतिक नियमका हिसाबले पनि अमानुसिक ठहर्छ ।

अलग–अलग नियम : मनुले दण्ड, सजायको महलमा ब्राह्मणलाई अरू दुई वर्णकाले तथानाम गाली गरेमा नगद दण्ड सजाय गर्ने तर दलितले गालीगलोज गरे मात्रै पनि मृत्युदण्ड नै दिने नियमको व्यवस्था गरे । मानवको बाँच्न पाउने अधिकारको दृष्टिकोणबाट हेर्दा उनी शूद्रप्रति निकै नै हिंस्रक भएको पुष्टि हुन्छ । वास्तवमा मान्छे मुख, बाहु, कम्मर वा पाउबाट नभई महिलाको योनीबाट नै जन्मिएका हुन् । उनका सबै कुरा धर्मका नाममा झुटा भ्रमबाहेक केही होइनन् । दलितले आफूभन्दा माथिका जातका कुनै पनि मान्छेलाई नाम पुकारेर गाली गर्‍यो, रिसायो वा झगडा गर्‍यो भने उसको मुखमा तातो फलाम हालिदिनुपर्छ । कुनै शास्त्र सुन्यो वा जानेको धार्मिक कुरा कसैलाई सिकायो भने उसको मुख र कानमा तात्तातो तेल हालिदिने व्यवस्था गरियो । उनले दलितले केही पनि जान्नु, बुझ्नु र जानेको भए पनि भन्नु हुँदैन भन्ने व्यवस्था बाँधिदिए । आफूमाथि जेजति शोषण, दमन र अपमान भए पनि सहेरै बस्नुपर्छ, अन्यायको विद्रोह गरे दण्ड सजायको भागिदार हुनुपर्छ भनेर एउटा सिंगो समुदायमाथि चरम उत्पीडनकारी नियम बसालिदिए । 

दृष्टान्तका लागि, मनुका विधानअनुसार तल्लो जातले द्विजको जुन अङ्गमा हिर्काउँछ, उसको त्यही अङ्ग काटिदिनुपर्छ (अध्याय आठ–२७९) । दलितले अरूमाथि हातगोडा चलायो वा फर्कायो भने उसको हातखुट्टा नै काटिदिनुपर्छ । अझ ब्राह्मणमाथि थुक्यो मात्रै भने पनि उसको ओठ, लिंग र मलद्वार नै काटिदिनुपर्छ भनेर दलितका लागि असाध्यै कठोर नियम बनाइयो । अरूले खाँदा चोरेको र ब्राह्मणले खाँदा भोक लागेर खाएको भन्नेले पनि मनुको सोचाइ नितान्त जातीय रहेको पुष्टि हुन्छ । उनी ब्राह्मण र क्षेत्रीयप्रति निकै उदार, वैश्यप्रति कम उदार र शूद्रप्रति भने निकै कठोर रूपले अनुदार नीति लिन पुग्छन् । उनले शूद्रको अरू स्त्रीसँग संसर्ग वर्जित गरेका छन् । एउटै गल्ती गैरशूद्रले गर्दा उनीहरूलाई रकमको सजाय र शूद्रले गरे मृत्युदण्डको सजाय विभेदको पराकाष्ठा हो । 

मनु विचारको प्रभाव अझै पनि दक्षिण एसियाली समाजमा यो या त्यो रूपमा व्याप्त छ । त्यस्तो अमानवीय विचार र नीतिलाई अस्वीकार गर्दै नयाँ युगअनुसारको चेतनामा फड्को मार्नु आजको आवश्यकता हो ।

ब्रह्माले ब्राह्मणको सेवाको लागि नै शूद्रलाई बनाएका हुन्, उसले कहिल्यै आराम गर्न, थकाइ मार्न वा सेवा, चाकरीबाट छुट्टी लिएर घरमा बस्न पाउँदैन भनेर मनुले दलितको कर्तव्य उल्लेख गरेका छन् । उनले वास्तवमा दलित मान्छे नभएर मेसिन भएको, उनीहरूमा मन, भावना, स्नेह, प्रेम, यौन इच्छा, रिस, आवेग, आक्रोश, थकाइ, आराम केही पनि नहुने निर्जीव वस्तुजस्तो गरी त्यहीअनुरूपको नियम र कानुनको व्यवस्था गरेका छन् । यसबाट पनि मनु कति अवैज्ञानिक थिए भन्ने पुष्टि हुन्छ । 

शूद्रले धन कमाउन, जम्मा गर्न पाउँदैन, उससँग जम्मा भएको धन, सम्पत्ति पनि ब्राह्मणले जुनसुकै वेला जफत गर्न पाउँने व्यवस्था मनुले गरिदिए । ब्राह्मण जस्तो लवाई, खवाई वा पेसा गरेर हिँड्ने दलितलाई दण्डित गर्नुपर्ने व्यवस्था मिलाए । यसरी समाजमा सबैभन्दा बढी शारीरिक श्रम गर्ने, सीप र कलाका पारखी दलित समुदायलाई जताबाट पनि बढीभन्दा बढी दबाएर राख्ने, ज्यादती गरेर कहिल्यै उठ्न नसक्ने बनाउने दुर्नियतले नियम र कानुन बनाउनुबाट मनुको नियत शूद्रप्रति अत्यन्त खराब रहेको देखिन्छ ।

शूद्रलाई राम्रो घरमा बस्न नदिने, राम्रो र सद्दे भाँडाकुँडा चलाउन नदिने र सुनचाँदीका गरगहना नभएर फलामका गरगहनाहरू लगाउनुपर्ने नियम बनाइयो, जबकि यी चिज वस्तुहरूको निर्माण तिनै दलितले गर्छन् । ख्यातिनाम भारद्वाज र विश्वामित्रजस्ता ऋषिले पनि असाध्यै दुःख, आपत परेको र खप्नै नसक्ने भोक लागेको बखतमा मात्र चाण्डाल र शिल्पीका हातबाट खानेकुरा खाएको प्रसङ्ग मनुस्मृतिमा उठाउनुले शूद्र र चाण्डालले छोएको खान हुने तर विभेदकारी जातव्यवस्था कायम राख्नका लागि मात्रै यी अमानवीय नियम बसालिएको पुष्टि हुन्छ । गाउँघरका पण्डित वा क्षेत्रीहरूले दलित समुदायका बस्तीमा पसेर ‘अरू चाहिँ खान्न, दूध र रक्सी भने छोइन्न, खान्छु’ भनी खाने गर्छन् । यसबाट मनु सिर्जित प्रचलन कति ढोंगी र पाखण्डी छन् स्पष्ट हुन्छ ।

त्यसताका शूद्रकै कोटीमा सीप र श्रममूलक कार्य गर्ने श्रमजीवी जनसमुदाय कालिगढ, शिल्पी, चित्रकारमाथि शोषण, दमन र अन्याय अत्याचार गरिन्थ्यो भन्ने देखिन्छ । शूद्रलाई सद्दे, ताजा र तागकदार अन्न, राम्रो र नयाँ कपडा दिनु हुँदैन, उसलाई कामै नलाग्ने थोत्रा कपडा र जुठो, काँचो र कुहिएको अन्न मात्रै दिनुपर्छ भनेर मनुले दलित समुदायप्रति यति धेरै निर्दयी र अमानवीयता प्रस्तुत गरेका छन् भनिसाध्य छैन, जसको अवशेष अझै विद्यमान छन् समाजमा । 

धर्मकर्म र संस्कारमा वर्जित : उनले अध्याय दशमा दलितले धर्म पनि मान्नुपर्दैन, मान्न दिनु पनि हुन्न, उनीहरूलाई संस्कार सिकाउन पनि जरुरी छैन, संस्कारी हुन पनि हुन्न, धन कमाउन दिनु पनि हुन्न र केही गरी कमाएर जम्मा गरेछन भने यिनले अरू वर्णलाई मान्दैनन्, गन्दैनन् र सेवा, चाकरी गर्दैनन् भनेका छन् । शूद्रले कहिल्यै पनि यज्ञ गर्न हुँदैन र पाउँदैन । यज्ञ धर्म कार्य हो । यदि दलितले धन कमाएको छ भने खोसेर यज्ञमा लगाउनुपर्छ । शूद्र भिक्षा दिन लायकको नै हुँदैन, त्यसैले उसबाट भिक्षा लिनु हुँदैन भनेर अध्याय एघारमा उल्लेख गरेका छन् । यसरी एउटा सिंगो समुदायलाई मानमर्दन र आत्मग्लानि हुने गरी मनुले दलित समुदायमाथि घोर अपमान, विभेद र अन्यायी वर्णाश्रम व्यवस्था निर्माण गरेर करोडौँ श्रमजीवी निरन्तर र हजाराँै वर्षदेखि अमानवीय दुश्चक्रको भयानक शोषणचक्र चलाइदिएका छन् । 

निष्कर्ष : शूद्रले सचेत भएर, सम्पन्न भएर वा स्वाभिमानी भएर कतै शासक समुदायको सेवा, चाकरी गर्दैन कि भनेर आदिम मनुका वर्तमान परिष्करणहरू हरक्षण सतर्क छन् । मनु अमानवीय, अन्यायी, विभेदकारी, अत्याचारी र घोर प्रतिक्रियावादी रहेकोमा शंका छैन । दलित समुदायको मानव अधिकार, पढ्ने–लेख्ने अधिकार, आर्थिक अधिकार, राजनीतिक अधिकार र सबैभन्दा ठूलो भनेको मान्छेको स्वतन्त्रताको अधिकारको दृष्टिमा त मनु यति धेरै आपराधिक सोच र विभेदकारी दर्शन बोकेका मान्छे थिए कि हिसाबकिताब गरिसाध्य लाग्दैन । मनु विचारको प्रभाव अझै पनि दक्षिण एसियाली समाजमा यो या त्यो रूपमा व्याप्त छ । त्यस्तो अमानवीय विचार र नीतिलाई अस्वीकार गर्दै नयाँ युग अनुसारको चेतनामा फड्को मार्नु आजको आवश्यकता हो । (रम्तेल संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्)