
साढे दुई करोडभन्दा बढी खर्चेर निर्माण गरेको बिपी राजमार्गको डाइभर्सन बर्खा नलाग्दै बगाएको छ । गत १०, ११ र १२ असोजको अबिरल वर्षापछिको बाढीले बिपी राजमार्गको १४ स्थानमा करिब आठ किलोमिटर सडक बगाएको थियो । बगाएको स्थानमा सडक डिभिजन कार्यालय भक्तपुरले डाइभर्सन निर्माण गरेको थियो ।
बर्खामा समेत नियमित यातायात सञ्चालन गर्ने उद्देश्यले निर्माण भएका डाइभर्सन बर्खा लाग्नुअघि (सोमबार) अगावै आएको सामान्य बाढीले तीन ठाउँमा बगाएको छ। साथै, धेरै ठाउँको डाइभर्सन आधा बगाएकोले सिंगल लेन भएको छ । सोमबारको वर्षापछि आएको रोशी खोलाको बाढीले डाइभर्सन बगाएको हो ।
बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ माम्ती र बर्खेखोलाको दुई स्थान र रोशी–९, बोक्सीकुण्डमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएको छ । यस्तै, रोशी–७, कटुन्जेलगायतको स्थानमा आधा सडक बगाएर एक लेन बनाएको छ ।
१५ घण्टापछि खुल्यो बिपी राजमार्ग
सोमबार आएको बाढीबाट अवरुद्ध बनेको बिपी राजमार्ग १५ घण्टापछि सञ्चालनमा आएको छ। सोमबार राति ९ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो साढे १ बजेबाट सञ्चालनमा आएको हो। काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा जाने सवारीसाधानलाई काभ्रेपलाञ्चोकको भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो।
बाढीले अवरुद्ध राजमार्ग सञ्चालन भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । बिपी राजमार्गको तीन ठाउँमा डाइभर्सन बगाएकोमा सडक विभाग, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधिहरू र स्थानीयको पहलमा सडक सञ्चालन भएको लामाले बताए ।
असोजको बाढीले राजमार्गको १४ ठाउँमा बगाएपछि डाइभर्सन बनाइएको थियो । उक्त डाइभर्सन १३ ठाउँमा स्तरोन्नति गरिसकेको र एक ठाउँमा स्तरोन्नति गर्न बाँकी थियो । फिल्डमै भेटिएका सडक विभागका डिजी रामहरि पोखरेलले बाढीले बगाएको सडक खुलाएको बताए ।