झापा गौरीगन्ज गाउँपालिका– ५, डाँगीटोला र ६ फत्तेपुरका २५ सय घरपरिवारका लागि शुद्ध खानेपानी पुर्याउने भन्दै साढे चार लाख लिटर क्षमताको खजुरगाछी खानेपानी आयोजना निर्माण थालिएको आठ वर्ष बितिसक्यो । संघ सरकारको अनुदान र गाउँपालिकाको बजेटसहित तीन करोड ७१ लाख खर्च भइसकेको छ । तर, आठ वर्षअघि गौरीगन्ज– ६ मा निर्माण गरिएको खानेपानी ट्यांकी प्रयोगविहीन बनेको छ । खानेपानी वितरणका लागि बनाइएको संरचना अहिले झारले ढाकिएको छ । ७५ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा हालसम्म ६ किलोमिटर मात्र विस्तार भएको छ । जसकारण यहाँका बासिन्दा ट्युबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।
झापा निर्वाचन क्षेत्र– ५ अन्तर्गत पर्ने गौरीगन्ज–५ र ६ भारतसँगको सीमावर्ती क्षेत्र हो । यहाँका नागरिकले अघिल्लोपटक एमाले अध्यक्ष केपी ओली र गत फागुनको चुनावमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई जिताएर पठाए । ओली पूर्वप्रधानमन्त्री हुन् भने शाह प्रधानमन्त्री छन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्की पनि यसै निर्वाचन क्षेत्रका हुन् ।
फत्तेपुरका सहदेवप्रसाद गन्गाईंले ट्युबेलको आर्सेनिकयुक्त पानी खानुको विकल्प नरहेको बताए । ‘सिमानाका बाटोघाटोको त कुरै नगरौँ, खानेपानी पनि शुद्ध छैन । खानेपानी देऊ न भनेर भन्दाभन्दै हामी गलिसक्यौँ,’ उनी भन्छन्, ‘केपी ओलीलाई यही क्षेत्रका जनताले जिताएर प्रधानमन्त्री बनाए । अहिले बालेन यहीँबाट जितेर प्रधानमन्त्री बनेका छन् । यही निर्वाचन क्षेत्रका हिक्मत कार्की प्रदेशको मुख्यमन्त्री भए । यहाँका जनताले सुविधा पाएनन् । अहिले कलको पानी खान्छौँ । त्यो कलको पानी प्रायः रातै हुन्छ ।’
सीमावासीलाई सरकारले नहेरेको गौरीगन्ज–५, डाँगीटोलाका पूजन हरिजन बताउँछन् । ‘सीमावासीलाई त कसले हेर्छ र ! चुनावका वेलामा सबै गर्छौँ भन्दै आउँछन् । सकिएपछि कोही आउँदैनन्,’ उनी भन्छन्, ‘हाम्रो बस्तीका लागि खानेपानीको ट्यांकी बनेर अलपत्र छ । हामी कलको पानी खान्छौँ । त्यो पानी रातो आउँछ । फिल्टरसम्म गर्न सकेका छैनौँ ।’
सिमानाका बस्तीमा खानेपानी नहुँदा ट्युबेलको आर्सेनिकयुक्त पानी खानुपरेको फत्तेपुरकी महेश ताजपुरिया बताउँछन् । ‘धारा ल्याइदिए त यहाँका बासिन्दाले शुद्ध खानेपानी खान पाउँथे,’ उनी भन्छन्, ‘हामीले त धारा ल्याइदिनु भनेर कसलाई भन्नु ? कसैलाई भनेका छैनौँ । पानी ल्याइदिए त हुन्थ्यो नि !’
पाँच करोड बजेट भए खानेपानी वितरण प्रक्रिया सुरु हुने दाबी
गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले संघ सरकारबाट पाँच करोड बजेट आएमा खानेपानी वितरण प्रक्रिया सुरु गर्न सकिने बताइन् । ‘त्यति रकमले आयोजना पूरै सकिने त होइन । तर, खानेपानी खुवाउने प्रक्रिया सुरु गर्न सकिन्छ,’ उनले भनिन् ।
चालू आर्थिक वर्षमा पनि संघ सरकारबाट गाउँपालिकाभरिका उपभोक्तालाई स्वच्छ खानेपानी आयोजना निर्माण तथा पाइपलाइन विस्तारका लागि एक करोड ५ लाख रकम विनियोजन भएको उनले बताइन् । ‘संघको बजेटमा काम भएको हो । जति बजेट आयो त्यति काम भएको छ । यो वडा नम्बर ५ र ६ का लागि हो । निर्माण सम्पन्न गर्न हामीले पहल गरिरहेका छौँ,’ उनले भनिन्, ‘पाइपलाइन विस्तार गर्न पूरै बाँकी छ । बजेट आएदेखि काम अघि बढ्ने थियो ।’
आयोजना थालिएको १० वर्षमा तीन करोड ७१ लाख खर्च भएको छ । तर, खानेपानी ट्यांकी, डिपबोरिङ, कम्पाउन्टवाल, गेट, अपरेटर क्वार्टर, शौचालय तथा बाथरुम, फ्ल्याट केबल, पम्प, भल्भ निर्माण भएको छ । ७५ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा हालसम्म ६ किलोमिटर मात्र विस्तार भएको छ ।
संघ सरकारको अनुदानमा गौरीगन्ज गाउँपालिकाले २ करोड ३ लाखमा ट्यांकी निर्माण गरेको हो । ट्यांकीमा डिपबोरिङ योजना, खानेपानी पाइपलाइन विस्तारलगायत कामका लागि ९४ लाख १० हजार खर्च भइसकेको छ । त्यस्तै, ०७६/७७ यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापामार्फत आर्थिक वर्ष ०८१/८२ सम्म ७४ लाख ७६ हजार पनि खर्च भएको छ । डिभिजन कार्यालयको बजेटबाट कम्पाउन्टवाल, गेट, अपरेटर क्वार्टर, शौचालय तथा बाथरुम, फ्ल्याट केबल, पम्प, भल्भ तथा पाइप खरिद गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ । आयोजनाको कुल लागत २२ करोड ५१ लाख १३ हजार २६१ रुपैयाँ छ ।