मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : तेन्दुलकर र क्रिकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o५:५६:oo

भारतका महान् क्रिकेटर सचिन तेन्दुलकरका क्रिकेट गुरु रमाकान्त आचरेकरले उनलाई मैदानी अभ्यासको भट्टीमा जलाईजलाई क्रिकेट जगत्का हिरा बनाएर निकालेका थिए । आचरेकरले आफ्नो स्कुटरमा राखेर सचिनलाई एकै दिनमा चारचार म्याच खेलाउन लाने गर्थे । सचिन स्कुलपछि खाजा खाएर अभ्यासका लागि मैदानमा पुग्थे । मैदानमा गुरु आचरेकरले उनलाई कठोर अभ्यास गराउँथे ।

एक दिन गुरु आचरेकरले सचिनलाई एउटा जुनियर म्याचमा सहभागी हुन पठाए । तर, सचिन गुरुको आज्ञा पालना नगरी आफ्ना साथीहरूसित आफ्नै स्कुलको सिनियर टोलीको खेल हेर्न वाङ्खडे क्रिकेट मैदान पुगे । संयोगले उनका गुरु आचरेकर पनि त्यही मैदानमा थिए । सचिनले गुरुलाई देखे । खाजा खाने समयमा सचिन आफ्नो टिफिन बक्स लिएर गुरुलाई भेट्न गए । गुरुले पहिल्यै सचिनलाई देखेर उनले आजको म्याच छाडेको बुझिसकेका थिए । तैपनि, उनले सचिनसित सोधे– तिम्रो म्याच कस्तो भयो ? तिम्रो प्रदर्शन कस्तो रह्यो ? तिमीले कति रन बनायौ ? सचिनले इमानदारीपूर्वक सत्य स्विकार्दै भने– गुरु, आज म म्याचमा सहभागी हुन गइनँ । म यहाँ स्कुलको सिनियर टोलीका लागि ताली बजाएर हौसला बढाउन आएँ ।

सचिनको जवाफ सुन्नासाथ गुरु आचरेकरले उनको गालामा जोडले एक थप्पड हिर्काए र भने– तिम्रो काम अरूका लागि ताली बजाउने होइन, आफ्ना लागि अरूलाई ताली बजाउन बाध्य पार्ने हो ।

सचिनको जीवनमा त्यही एक थप्पडले ठुलो मोड ल्याइदियो । त्यस दिनदेखि उनले मन लगाएर अभ्यास सुरु गरे । आखिर उनको निरन्तरको अभ्यास र बेजोड प्रतिभाले संसारलाई ताली बजाइरहन बाध्य बनाइछाडे ।
 

↑