पुरुष टी–२० एसिया कप क्यालिफायरको तयारीका लागि अभ्यास खेल खेल्न भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। प्रतियोगिताको तयारीका लागि पोखरा रोजेको भुटानले यहाँ चारवटा अभ्यास खेल खेल्नेछ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने अभ्यास खेलअन्तर्गत भुटानले मंगलबार र बुधबार गरी दुई खेल गण्डकी–११ सँग खेल्नेछ। त्यसपछि दुई खेल क्यान–११ सँग खेल्ने गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले जानकारी दिए।
पोखरा रंगशालामा मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा गण्डकी–११ ले भुटानलाई आठ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भुटान १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो।
९७ रनको लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा दुई विकेट गुमाउँदै ९७ रन बनाएर लक्ष्य पूरा गर्यो।
भुटानका लागि सनम चोपेलले १९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाए। रन्जुन मिक्यो दोर्जीले ३० बलमा दुई चौका र एक छक्कासहित २७ रन जोडे। त्यस्तै, टासी पुनतोसोले ४२ बलमा २० तथा नामगे थिन्लेले १८ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए।
गण्डकीको जितमा ईश्वर क्षेत्रीले २२ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३४ रन बनाए। दीपकप्रसाद डुम्रेले १९ बलमा दुई चौका र दुई छक्कासहित २६ रन तथा अर्जुन कुमालले १८ बलमा एक चौका र दुई छक्कासहित २२ रन जोडे। सिब्रिन श्रेष्ठले सात बलमा दुई चौकासहित १० रन बनाए।