
ताप्लेजुङको मैवाखोला गाउँपालिका– ६, फाकुम्बाको च्यानडाँडामाथिबाट आएको पहिरोले पुरी दुईजना बेपत्ता भएका छन्। मैवाखोला गाउँपालिका– ६ स्थित च्यानडाँडा भन्ने ठाउँमा गएको पहिरोले दुई घर पुर्दा दुईजना बेपत्ता भएका हुन्।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले चेप्टे शेर्पा भनेर चिनिने लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको घर पहिरोले पुरिएको बताए । लाक्पाखाङ्डुको घरमा उनी स्वयं आफ्ना नातिनातिनासँग बस्दै आएका थिए। पहिरो जाँदा उनका १२ वर्षीय नाति दारिञ्जी शेर्पा घाइते भएका छन् भने १४ वर्षीया नातिनी मिङ्मा याङ्गी शेर्पा सकुशल रहेको जानकारी प्राप्त भएको छ।
उक्त पहिरोमा लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको श्रीमती बेपत्ता भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।