मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २० शुक्रबार २३:१५:oo
Read Time : > 4 मिनेट
समाचार

पूर्वश्रीमतीको उजुरीमा पक्राउ परेका इन्स्पेक्टर गुरुङ जेल चलान 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार २३:१५:oo

पूर्वश्रीमतीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ जेल चलान भएका छन्। बलात्कार तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत, ललितपुरका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले इन्स्पेक्टर गुरुङलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

गत २० साउनमा उनी पूर्वश्रीमती बस्ने ललितपुरको महालक्ष्मी नगरपालिका– ४ स्थित डेरामा पुगेका थिए । सोही दिन आफूलाई बलात्कार गरी कुटपिट गरेको उनकी पूर्वश्रीमतीले आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि दुई साताअघि गुरुङ पक्राउ परेका थिए। बयानको क्रममा भने गुरुङले झगडा भएको स्वीकार गरेका छन्, तर बलात्कार अस्वीकार गरेका छन् । 
प्रहरीका अनुसार ०६७ सालमा उनीहरूको बिहे भएकोमा ०८१ मा जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको हो । उनीहरूका दुई छोरी र एक छोरा छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरूबिच भेटघाट भइरहने गर्दथ्यो । ३० साउनमा जेठी छोरीलाई उपचार गरेर डेरामा लगेको अवस्थामा उनीहरूबिच झगडा भएको हो । 

०७३ सालमा प्रहरीमा भर्ना भएका इन्स्पेक्टर गुरुङ सशस्त्र प्रहरी गण नक्सालमा कार्यरत थिए। थुनामा गएसँगै उनी स्वतः निलम्बनमा परेका छन्। 

इन्स्पेक्टर गुरुङको बयान यस्तो छ– 

जाहेरवालासँग मेरो ०६७ सालमा विवाह भई विवाह भएको केही समयपश्चात् हाम्रो सम्बन्धमा सानो–सानो कुरामा झैझगडा भइरहन्थ्यो । ०७३ मा जागिरको सुरुवात भइसकेपश्चात् प्रारम्भिक दिनहरूमा सम्बन्ध सुमधुर नै थियो, तर पुनः स-साना विषयमा निहुँ बनाई झै-झगडा गर्ने र ममाथि हातपात नै गर्ने जाहेरवालाको बानीमा भने कुनै परिवर्तन आएन । यसैक्रममा ०७८ सालमा कामको सिलसिलामा मसँग चिनजान भएकी एकजना महिलासँगको फोनसंवादको विषयलाई लिई मेरो विषयमा जाहेरवालाले मसँग झगडा गर्नुका साथै सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत बदनाम नै गरिन् । हामीबिचको विवाद समाधानभन्दा पनि अझ समस्यायुक्त भयो । यही क्रममा निज जाहेरवालाले नेपाल प्रहरीको महिला सेल कालीमाटी, प्रहरी वृत्त कीर्तिपुर, जिल्ला प्रहरी परिसर काठमाडाैं, नेपाल प्रहरी प्रधान कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय काठमाडाैंमा दुईपटक गरी विभिन्न निकायमा मेरोविरुद्धमा उजुरी गरिन् । उजुरीउपर आवश्यक छलफल भई अबउप्रान्त पुरानो कुनै पनि विषयलाई लिई विवाद नगर्ने र मिलेर बस्ने सहमति भयो । तर, निज जाहेरवालाले सहमति मिलेर बस्ने गर्ने, तर व्यवहारमा तँसँग मिलेर पनि बस्दिनँ, सम्बन्धविच्छेद पनि गर्दिनँ र तँलाई दुःख दिन पनि छोड्दिनँ भन्ने गर्दथिन् । यसरी नै मैले चरम दुःख र हैरानी भोग्दै आइरहेको थिएँ । यही सिलसिलामा मैले घरको सम्पूर्ण खर्च व्यवस्थापन गर्दागर्दै पनि निज जाहेरवालाले ०८० जेठतिर मेरोविरुद्धमा काठमाडाैं जिल्ला अदालतमा मानाचामलको मुद्दा हालिन् र एक वर्षपछि आफैँ मिलेर मुद्दा फिर्ता लिनुपर्छ भनी मुद्दा फिर्ता लिइन् । तर, मलाई विभिन्न तरिकाले दु:ख दिने कार्य भने निरन्तर गरिनै रहिन् । यही क्रममा सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत मेरो विषयमा बदनाम हुने गरी विभिन्न  विषयवस्तु राख्ने गर्दथिन् । ०८१ भदाैमा निज जाहेरवालाले हाल भएको भनिएको वारदातको जाहेरी दरखास्तमा पेस गरेका पेस्तोल र ऐ. को गोली (राउन्ड) सहितका फोटोहरू र मेरोविरुद्धमा लेखिएका विषय सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । यस्ता प्रकारका क्रियाकलापले म आजित भई मैले काठमाडाैं जिल्ला अदालतमा अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको थिएँ । पछि दुवैजनाको सहमतिमा सम्बन्धविच्छेद गर्ने सहमति भयो । त्यसक्रममा मैले कर्मचारी सञ्चय कोषबाट रु. ८५,००,०००।– (पचासी लाख), राष्ट्रिय वाणिज्य वैंकबाट रु. १२,००,०००।– (बाह्र लाख) र अन्य आफन्त र साथीहरूबाट केही रकम सापटी लिई ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ इमाडोलमा जाहेरवालाको नाममा मात्र खरिद गरिएको घर निजले नै बिक्री गरेकोमा त्यसको कुनै रकम दाबी नगर्ने, दाङ जिल्लाको घोराहीमा रहेको जग्गामा पनि कुनै दाबी नगर्ने, रुकुम जिल्लाको बाँफीकोट गा.पा. वडा नं. ३ मा रहेको जग्गा र ऐ. जिल्लाको सदरमुकाममा रहेको जग्गामा पनि निज जाहेरवालाकै नाममा रहने, तीन सन्तानको सम्पूर्ण शैक्षिक खर्च मैले नै व्यहोर्ने र पालनपोषण भनी मासिक रूपमा रु. ३५,०००।-  (पैँतीस हजार) समेत निज जाहेरवालालाई दिने सहमति भयो । गाउँमा मेरो बुबा बसिराखेको एउटा कच्ची घरबाहेक मैले भएको सम्पूर्ण सम्पत्ति निज जाहेरवालालाई नै दिइसकेको र घर खरिद गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋण जाहेरवालाले घर बिक्री गर्दा नतिरिदिएका कारण करिब रु. २५,०००।– (पच्चीस हजार) मासिक रूपमा बैंकले तलबी खाताबाट नै काट्ने भएपछि मेरो आर्थिक अवस्थाले नभ्याएकाले मासिक रूपमा मैले जाहेरवालालाई दिनुपर्ने रु. ३५,०००।– (पैँतीस हजार) दिन सकेको थिइनँ, तर छोराछोरीका लागि शैक्षिक खर्च र अन्य भैपरी आउने खर्च ऋण–सापटी गरेर पनि व्यवस्थापन गर्दै आएको छु । यी र यस्तै विषयलाई लिई निज जाहेरवालाले मलाई पटक-पटक दुःख दिने क्रममा सम्बन्धविच्छेदपश्चात् पनि म कार्यरत रहेको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्साल काठमाडाैंमा आई गणका सहायक गणप्रमुखको कार्यकक्षमा प्र.ना.उ. राजु लामा, प्र.नि. शेरबहादुर बस्नेत र प्र.नि. उदीत भण्डारीको अगाडि म प्रहरी पोसाकमा रहेकै बखत मलाई हातपात गर्दै तँलाई कुनै पनि हालतमा सुखले बस्न दिदिनँ, मैले सक्ने अवस्था भएमा तँलाई जसरी पनि मार्छु भनी धम्क्याएकी थिइन् । यसरी निज जाहेरवालाले बारम्बार दुःख दिने गरे तापनि आफ्ना तीन सन्तानको माया र कर्तव्यबोधले मैले सन्तानप्रतिको जिम्मेवारी छाेडेको थिइनँ । सोही क्रममा ०८२ साउन २९ गते बिहान ११ बजेको समयमा ठुली छोरी र सानी छोरी म कार्यरत रहेको कार्यालयमा आएका थिए । त्यसपछि ठुली छोरीलाई नेपाल प्रहरी अस्पताल लिई निजको दाँतको उपचार गराई पुनः मेरो कार्यालयमा आएपछि खाजा खाएपश्चात् ठुली छोरी निजहरू बस्ने स्थान सेतीपाखा गइन् र सानी छोरीको ३० गते बिहान मात्र उपचार हुने भएकाले २९ गते बेलुका सानी छोरी मसँगै अफिसमा बसिन् । ऐ. मितिको ३० गते बिहान म अफिसमा व्यस्त भएकाले मेरो अफिसमा कार्यरत रहेको एकजना प्रहरी कर्मचारीलाई पठाई नेपाल प्रहरी अस्पतालमा उपचार गराई पुनः अफिसमा फर्किए । म दिनभर अफिसको काममा व्यस्त भएँ र सानी छोरी पनि दिनभरि अफिसमा नै रहिन् । बेलुका म घर फर्किनुपर्ने र सानी छोरी म हाल बसिरहेको स्थानमा जान नचाहने भएकाले निज छोरीलाई निजहरू बसिरहेको स्थान सेतीपाखा पुर्‍याइदिन भनी अं. १९:१५ बजेको समयमा म मेरो स्कुटरमा सानी छोरीलाई साथमा लिई त्यसतर्फ गएँ । लगनखेलबाट सातदोबाटोतर्फ जाँदै गर्दा सातदोबाटो चोक पुग्नुअगावै एक फार्मेसीबाट सानी छोरीका लागि भनी टुथपेस्ट किनिदिएँ । त्यस्तै, हात्तीवन खरिबोटबाट भित्र गइसकेपछि एक पसलबाट एक क्यारेट अन्डा र एक दर्जन केरा खरिद गरी जाहेरवालासमेत बस्ने घरको कम्पाउँड गेटको बाहिर गई स्कुटर रोकी ठुली छोरीलाई बाहिर बोलाएँ  ।  छोरी आएपछि सानी छोरी गेटभित्र गइन्, साथमा ल्याएको अन्डा र केरा ठुली छोरीलाई दिएँ । मेरो ब्यागभित्र भएको सानी छोरीको अस्पतालको बिरामी पुर्जा निकाली ठुली छोरीलाई दिएँ । यसै क्रममा मेरो तीन वर्षको छोरा बाबा भन्दै गेटबाहिर आएपछि एकछिन छोरालाई समातेँ । झोला भुइँमा राखी छोरालाई केही समय स्कुटरको माथि राखेँ र ठुली छोरीलाई अब भाइलाई भित्र लैजाऊ म फर्किन्छु भनेँ । तर, छोराले म बाबासँगै जान्छु भनी भित्र जान मानेन र ठुली छोरीले भाइलाई भित्रसम्म पुर्‍याइदिनुस् बाबा भनिन् । त्यसपछि मैले छोरी म भित्र आउँदिनँ, यसभन्दा अघि तिमीहरूलाई तरकारीको बोरा पुर्‍याइदिन आउँदा तिम्रो ममीले मेरो घरमा आएको भनी भिडियो बनाएकी थिइन् । त्यही भएर म भित्र आउँदिनँ, भाइलाई लिएर जाऊ भनेँ । छोरीले भनिन्– बाबा आज म छु, केही पनि हुँदैन, भाइलाई ढोकासम्म मात्र पुर्‍याइदिनुस् भनिन् । त्यसपछि मैले छोरालाई जाहेरवाला बस्ने फ्ल्याटभित्र प्रवेश गर्ने ढोकामा बसालेँ, त्यसै क्रममा जाहेरवालाले- ‘ओई गुरुङ तँसँग कुरा गर्नुछ, बस्,  तैँले मेरो बदनाम गर्ने ?’ भनिन् । मैले छोरी म गएँ भनी ढोकाबाट फर्किनै लाग्दा जाहेरवाला भित्रबाट आई ममाथि कुटपिट गर्न थालिन्, मैले आफूलाई बचाउँदै कम्पाउन्ड गेटसम्म आइपुग्दा पनि निज जाहेरवालाले ममाथि हातपात गरिनै रहिन् । मलाई समाती पकडी गेटबाहिर जान नदिएपछि मैले आफूलाई बचाउन हातले धकेलेको हुँ । त्यसपछि म आफू आएको स्कुटर स्टार्ट गरी त्यहाँबाट निस्किएको थिएँ । म त्यहाँबाट निस्किएको करिब १५–२० मिनेटपछि एकजना साथीले मलाई फोन गरी ‘जाहेरवालाले अनुहारमा रगत लतपतिएको फोटो फेसबुकमा हाली गुरुङले कुट्यो भनी पोस्ट गरेकी छिन् के भएको हो ?’ भनेपछि मात्र निजलाई चोट लागेको भनी थाहा पाएको हुँ । निज जाहेरवालाले मलाई कुटपिट गर्दै बाहिर निस्कन नदिन लछारपछार गर्दा गेटको ढोका वा अन्य कुनै स्थानमा ठोक्किँदा निजलाई चोट लागेको हुन सक्छ । भए–गरेको सत्य साँचो व्यहोरा यही हो । जाहेरी दरखास्तमा उल्लेख गरिएका अन्य आरोपहरू मलाई दुःख हैरानी दिने र मेरो व्यावसायिक भविष्य समाप्त पार्ने मनसाय राखी लगाइएको झुटा आरोप मात्र हो ।

छुटाउनुभयो की ?