मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ भदौ २५ बुधबार o५:४५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओली–देउवासहित पुराना नेता राजनीतिको किनारामा धकेलिए, आफ्नै कारण कलंकको टीका लगाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार o५:४५:oo

जेन–जी आन्दोलन उत्कर्षमा पुग्दा पनि प्रधानमन्त्री केपी ओलीको सत्तालिप्सा र हठका कारण उनीसहित समकालीन नेताहरू  नै राजनीतिको किनारामा थकेलिएका छन् । जीवनको उत्तरार्धमा उनीहरूले कलंकको टीका लगाएर अपमानपूर्वक बहिर्गमित हुनुपरेको छ । 

देश तहसनहस भइसक्दासमेत परिस्थितिलाई नजरअन्दाज गरेका ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबैजसो पुराना नेताको राजनीति संकटमा पुगेको छ । समय र परिस्थितिले नेटो काटेपछि मात्रै ओलीले मंगलबार दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए । 

राजीनामापछि पत्नी राधिकासहित ओली ‘भूमिगत’ बनेका छन् । ओलीलाई सरकारको नेतृत्व सम्हाल्न सारथिको भूमिका खेल्दै आएका देउवासहितका पुरानो पुस्ताका नेताहरू राजनीतिको केन्द्रमा फर्किने सम्भावना लगभग अन्त्य भएको छ ।

मुलुक नै रक्त आहालमा डुबेर राज्यविहीनताको अवस्थामा पुग्दा पनि सत्ता हाँकेका ओली र देउवालाई दबाब दिन ती पार्टीका दोस्रो र युवा पुस्ताका नेता पनि चुकेका छन् । जसकारण उनीहरूप्रति नागरिकको भरोसा लगभग समाप्त भएको छ । त्यसो त, एमालेमा उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित केही केन्द्रीय सदस्य, प्रदेश र जिल्ला अध्यक्ष, सांसद, पूर्वसांसदसहित नेता–कार्यकर्ताले ओलीलाई तत्काल सरकार छाड्न दबाब दिएका थिए । तर, ओलीले ती आवाजलाई गनेनन् । कांग्रेसभित्र पनि गगन थापा, विश्वप्रकाश शर्माले तत्काल सरकार छाड्न दिएको दबाबलाई देउवाले टेरेनन् । बरु उनले अन्तिम घडीसम्म मन्त्री फिर्ता नबोलाएर प्रधानमन्त्री ओलीलाई साथ दिइरहे । 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 

चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका ओलीले संवाद, समन्वय र सहकार्यको सट्टा अन्तिम घडीसम्म दम्भ र अहंकार देखाइरहे । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध एक्कासि जनमत बढिरहँदा उनले उल्टै राष्ट्रियताको मुद्दासँग जोडेर जेन–जी पुस्ताको माग र चाहनाविपरीत अभिव्यक्ति दिए । जेन–जीलाई ‘मागी खाने भाँडो’ भनेर अपमानित गरे । 

सर्वत्र परिस्थिति बिग्रिएपछि मात्रै प्रधानमन्त्रीले ‘संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानका लागि’ भन्दै राजीनामा दिएका हुन् । ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारै स्वीकृत गरेका छन् । पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि जिम्मेवारी सम्हाल्न भनेका छन् ।

पछिल्लो समय सरकारमा नरहेको भएपनि माओवादी अध्यक्ष प्रचण्ड, एकीकिृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालप्रति पनि जनआक्रोश देखिएका छ । उनीहरू पनि अब सत्ता राजनीतिको केन्द्रमा नदेखिने आकलन छ ।

नेपालमा भएका ठुला राजनीतिक परिवर्तनका आन्दोलन

००७ : कांग्रेसको अगुवाइमा भएको आन्दोलनबाट दिल्लीमा तत्कालीन राजा, आन्दोलनकारी र राणाबिचको त्रिपक्षीय सम्झौताछि ००७ फागुनमा प्रजातन्त्र स्थापना भएको थियो । तर, प्रजातन्त्र एक दशकभन्दा बढी टिकेन, ०१७ मा तत्कालीन राजा महेन्द्रले कु गरेर निरंकुश पञ्चायती व्यवस्था सञ्चालन गरे ।

०४६ : निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध ०४६ मा जनआन्दोलन भयो । उक्त आन्दोलनले संवैधानिक राजतन्त्रात्मक बहुलदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्‍यो । कांग्रेसले नेतृत्व गरेको ५० दिन लामो उक्त आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा सहभागी थिए ।

०६२/६३ : कांग्रेस–एमालेसहित सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीसमेत सामेल १९ दिने जनआन्दोलनबाट ११ वैशाख ०६३ मा लोकतन्त्र स्थापना भयो । ०६४ मा भएको संविधानसभा चुनावपछि १५ जेठ ०६५ मा नेपालमा लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । जनआन्दोलनको उपलब्धि संस्थागत गर्दै ३ असोज ०७२ मा नेपालको संविधान जारी भयो ।

०८२ : जेन–जी युवाले ‘बेबी नेपो’ र भ्रष्टाचारविरुद्ध अभियान चलाइरहँदा सरकारले २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइदियो । जेन–जीलाई आन्दोलनमा होमिन सरकारको यो कदम मुख्य आधार बन्यो । उनीहरूले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग राख्दै २३ भदौमा सुरु गरेको आन्दोलनले दुई दिनमै सत्तापलट गरिदियो । प्रधानमन्त्री केपी ओली र उनका साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा कलंकको टीका लगाएर राजनीतिको केन्द्रबाट किनारामा धकेलिएका छन् ।