मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
तुल्सीपुर– ६ रजौरास्थित आफन्तको घरमा बसेका शंकर
Invalid date format o९:५४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शव जलाएर काजकिरिया गरिसकेका व्यक्ति घरमा आएपछि... 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५४:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गोलौराका ४६ वर्षीय शंकर भण्डारी रोजगारको सिलसिलामा गत २४ जेठमा भारत गए । तर, भारत गएपछि उनी सम्पर्कविहीन बने । घरबाट नेपालगन्ज जाँदासम्म सम्पर्कमै रहे पनि भारत पुगेको दुई महिनासम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरे । खोजी गर्दा उनीजस्तै अनुहारका व्यक्ति दुर्घटनामा परी मृत्यु भएको जानकारी आयो । त्यसपछि उनलाई ल्याउन शंकरका दाजुका छोरा कृष्ण भण्डारी भारत गए । भारत गएपछि उनकै जस्तो अनुहार भएका व्यक्तिको अस्पतालमा मृत्यु भएको भनिएपछि उनी शंकर नै भएको भन्दै शव घरमा ल्याइयो । २७ साउनमा शव तुल्सीपुर ल्याएर अन्त्येष्टि गरेर काजकिरिया गरियो । 

तर, काजकिरिया सकिएको केही महिनामै सम्बन्धित व्यक्ति सम्पर्कमा आए । सोमबार मात्रै शंकरले आफू अमिलिया पुगेको भनी श्रीमतीलाई फोन गरे । मृत्यु भइसकेको भनिएको र काजकिरिया नै गरिसकेको व्यक्ति जिउँदै भएको भनी स्वयंले फोन गर्दा घरपरिवार अचम्मित भए । ‘आफू घर आउँदै गरेको, अमिलिया आएको भनेपछि हामी अचम्मित भयौँ,’ शंकरकी श्रीमती देविका भण्डारीले भनिन्, ‘मरिसकेको र किरिया गरेको व्यक्ति त अर्कै पो हुनुहुँदो रहेछ ।’

शंकर अहिले तुल्सीपुर– ६ रजौरास्थित आफन्तको घरमा बसेका छन् । एकपटक काजकिरिया गरिसकेको व्यक्तिको पुन: न्वारन र बिहे गरेपछि मात्रै घर जानुपर्ने धार्मिक मान्यता छ । सोहीअनुसार पुन: बिहे गरेर मात्रै घर जाने भनेर आफन्तीको घरमा बसेको शंकरले बताए । ‘अब फेरि सीधै घर जान मिल्दैन रे,’ उनले भने, ‘फेरि न्वारन गरेर, बिहे गरेपछि मात्रै घर जान मिल्ने भएकाले त्यो विधि पुर्‍याएर मात्रै घर जान्छु ।’

शंकर घर आउँदा उनलाई आफ्नो काजकिरिया भइसकेको भन्ने थाहा थिएन । अमिलिया आएर श्रीमतीलाई फोन गरेपछि मात्रै थाहा भएको उनले बताए । नेपालबाट गएर उनले भारतको गोवामा डुंगामा काम गर्दै आएका थिए । आफूसँग पैसा नभएकाले सिम किन्न नसकेको र त्यसले गर्दा घरपरिवारसँग सम्पर्कमा आउन नसकेको उनको भनाइ छ । ‘मसँग पैसा थिएन, त्यसैले सिम किन्न पाएको थिइनँ,’ उनले भने, ‘पैसा आएपछि सिम किन्नुपर्ला भनेको थिएँ, छिट्टै घर आउनुपर्ने भयो, अनि एकैपटक अमिलिया आएर फोन गरेँ ।’ उनका एक छोरा र छोरी छन् । भण्डारी तीन वर्षअघि सशस्त्र प्रहरीबाट अवकाश भएका हुन् ।