मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:३७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

जेन–जी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ निर्वाचनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । त्यसअघि काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भनेका थिए । तर, यसका लागि संसद् विघटन गर्नुपर्ने सर्त उनको छ ।

यी परिदृश्यमा अबको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले वार्ता नै पहिलो विकल्प भएको बताए । जेन–जीले संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मको कुरा गरेको भन्दै गुरुङ अरू कुनै राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री मान्ने अवस्था नरहेको बताउँछन् । त्यसैले वार्ताबाट नागरिक समाजको अगुवाइमा सरकार गठन गरिनुपर्ने विकल्प उनी सुझाउँछन् । यसमा जेन–जीले राखेका माग संविधान संशोधन गरेर सम्बोधन गर्ने गरी वार्ताबाट टुंगो लगाउनुपर्ने गुरुङको भनाइ छ । सेनाको समन्वयमा आन्दोलनकारी र राष्ट्रपतिबिच संवाद भएर आन्दोलनले निकास पाउने गुरुङले देखेका छन् ।

गुरुङका अनुसार नागरिक समाजबाट सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने, आन्दोलनकारीलाई मन्त्रिपरिषद्को सदस्य बनाउने र नयाँ चुनाव घोषणा गर्ने अबको विकल्प हो । चुनाव गराइसकेपछि ताजा जनादेश लिएर नयाँ सरकार गठन गर्ने र राज्य सञ्चालन गर्नेतिर देश अगाडि बढ्छ । श्रीलंकामा यस्तै भइसकेको छ । बंगलादेशमा गठित अन्तरिम सरकारले आगामी फेब्रुअरीमा चुनाव गराउँदैै छ । नागरिक सरकार गठनका लागि वार्ता गर्ने जेन–जी नेता को हो भन्ने नखुलेकाले केही जटिलता रहेको पूर्वमहासचिव गुरुङ बताउँछन् । ‘वार्ताका लागि जेन–जीको लिडर को हो ? विभिन्न ठाउँमा जुलुस अगाडि बढेको छ । लिडरसिप कोही देखा परेको छैन । अर्गनाइज्ड कोही देखिँदैन । सेफ ल्यान्डिङ गराउन लिडर चाहियो,’ उनले भने ।