
नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्नका लागि १४ जनाले आवेदन दिएका छन् । ९ भदौको मन्त्रिपरिषद्ले आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरेको सिफारिस समितिले १४ भदौमा सात दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको थियो । त्यसमा अन्तिम दिन शुक्रबारसम्म १४ जनाले प्रस्ताव पेस गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
त्यसमा घनश्याम बुढाथोकी (ललितपुर), विक्रान्त पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णुबाबु मिश्र (काठमाडौं), बुद्धकाजी श्रेष्ठ (काठमाडौं), डा. दामोदर बसौला (कास्की) र चिन्तामणि शिवाकोटी (काठमाडौं)ले प्रस्ताव दिएका छन् ।
यस्तै, ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार ढकाल (मोरङ), प्राडा दीपकबहादुर भण्डारी (लम्जुङ), डा. राजेन्द्र पण्डित (काठमाडौं), यज्ञप्रसाद कोइराला (दाङ), रमेशकुमार भट्टराई (भक्तपुर) र महेश्वर न्यौपाने (भक्तपुर)ले आवेदन दिएका छन् ।
सिफारिस समितिमा आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी छन् भने सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन् । उनीहरूले अब प्राप्त आवेदनबाट तोकिएको मापदण्डका आधारमा पाँचजनाको नाम सर्टलिस्ट गर्नेछन् । समितिले छनोटमा परेका पाँचजनाको व्यावसायिक योजनासहित अन्तर्वार्ता लिनेछ । त्यसका आधारमा तीनजनाको नाम छनोट गरेर नियुक्तका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ । त्यसका आधारमा मन्त्रिपरिषद्ले कुनै एकजनालाई प्राधिकरणको अध्यक्षलाई नियुक्ति गर्नेछ, जसको कार्यकाल चार वर्षको हुनेछ ।
यसअघि १२ फागुनमा प्राधिकरणका अध्यक्ष नियुक्ति भएका शरद ओझाको योग्यता र कार्यक्षमता नपुगेको देखिएपछि सरकारले २ भदौमा उनलाई बर्खास्त गरेको थियो । त्यसपछि अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । साथै, नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढाइएको छ।