
इन्डोनेसियामा महँगीविरुद्ध उठेको हिंसात्मक सरकारविरोधी प्रदर्शनले अहिले पूरै देश हल्लाएको छ । राजधानी जकार्तामा प्रदर्शनका क्रममा प्रहरीको गाडीले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोश झन् बढेको छ । प्रदर्शन नियन्त्रणबाहिर गएपछि एक भिडियो सम्बोधनमा राष्ट्रपति प्रबोवो सुबियान्तोले शान्ति कायम गर्न आह्वान गरे । उनले आमनागरिकलाई सरकार र आफ्नो नेतृत्वमाथि विश्वास गर्नसमेत अनुरोध गरे । तर, राष्ट्रपतिको सम्बेधनले पनि मानिसलाई शान्त पार्न सकेको छैन ।
प्रदर्शनकारीले घुमुवा प्रहरीको ब्रिगेडको मुख्यालयमा ढुंगा प्रहार गरे । मध्य जकार्ताको क्विताङ छिमेकमा रहेको प्रहरीपरिसरनजिकै रहेको पाँचतले भवनमा आगो लगाइदिए । अधिकारीहरूका अनुसार प्रदर्शनकारीले आगो लगाइदिएको भनिएको भवनमा तीनजना मारिएका छन् । भारी वर्षाका बाबजुद भएको प्रदर्शनलाई अक्टोबरमा पदभार ग्रहण गरेका प्राबोवोको शासनका लागि सबैभन्दा ठुलो परीक्षाका रूपमा हेरिएको छ ।
पछिल्लो दंगालाई महिनौँदेखिको आर्थिक र राजनीतिक निराशाको पराकाष्ठा बताइएको छ । देशका ५८० सांसदलाई तलबका अतिरिक्त मासिक पाँच करोड इन्डोनेसियन रुपैयाँ (तीन हजार अमेरिकी डलर) आवास भत्ता पाउने रिपोर्ट बाहिरिएपछि आक्रोश सडकमा छताछुल्ल भएको हो । गत वर्षदेखि दिन थालिएको सो भत्ताको तथ्यांकगत जानकारी हालै सार्वजनिक भएको हो । सांसदहरूले पाउने भत्ता जकार्ता क्षेत्रलाई तोकिएको न्यूनतम ज्यालाको लगभग १० गुणा हो भने देशका विपन्न क्षेत्रको मासिक न्यूनतम ज्यालाको लगभग २० गुणा हो ।
२८ करोडभन्दा बढी जनसंख्या भएको इन्डोनेसियामा प्रहरी र संसद् सदस्यमाथि प्राय: भ्रष्टाचारको आरोप लाग्ने गर्छ । विरोध प्रदर्शन आयोजना गर्ने समूहमध्ये एक सदस्य गेजयन मेमांगिलले सांसदहरूको तलब कटौती गर्नुपर्ने आफूहरूको पहिलो माग भएको बताए । त्यसबाहेक प्रदर्शनकारीले कर र मुद्रास्फीतिले जनजीवन निकै कठिन भएको दाबी गरे । प्रदर्शनका आयोजकले मुद्रास्फीति दरअनुसार न्यूनतम ज्याला बढाउनसमेत माग राखेका छन् ।
पूर्वसैन्य जनरल रहेका राष्ट्रपति प्रबोवोले पाँच वर्षभित्र आर्थिक वृद्धि आठ प्रतिशतमा पुर्याउने र देश लगानीका लागि आकर्षक बनाउने वाचासहित चुनाव लडेका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारमाथि लगाएको उच्च भन्सार शुल्कले अनिश्चिततालाई थप बढाएको छ । इन्डोनेसियाली सामान अमेरिका भित्रिँदा अहिले १९ प्रतिशत भन्सार दरको सामना गर्नुपर्ने हुन्छ । तथापि, वासिंटनले सिद्धान्तत: इन्डोनेसियाका पाम तेल, कोको र रबरमाथिको भन्सार शुल्क छुट दिन सहमत जनाएको छ । अमेरिका चीनपछि इन्डोनेसियाको दोस्रो ठुलो निर्यात बजार हो । विश्व बैंकले अनुमान गरेअनुसार इन्डोनेसियाको अर्थतन्त्र सन् २०२५ र २०२७ को बिचमा औसत ४.८ प्रतिशतले बढ्नेछ, जुन प्रबोवोले प्रतिज्ञा गरेको स्तरभन्दा धेरै कम हो ।
सोमबारदेखि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । त्यस दिन कालो पोसाक लगाएका प्रदर्शनकारीले इन्डोनेसियाको संसद् भवनमा प्रवेश गर्ने प्रयास गर्दा दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछिका दिन पनि विरोध जारी थियो । बिहीबार सामाजिक सञ्जालमा मोटराइकल चालक मारिएको भिडियो भाइरल भएपछि आक्रोश सुरक्षा बलविरुद्ध सोझियो र हिंसा झन् भड्कियो । मृतक २१ वर्षीय अफान कुर्नियावानले खाना वितरण गर्ने काम गरिरहेका वेला संसद् भवनबाहिर एउटा बख्तरबन्द प्रहरी गाडीले उनलाई ठक्कर दिएको बताइएको छ । दंगा प्रहरीले भिडलाई तितरबितर पारिरहेको समयमा उनी आक्रमणको घानमा परेको बताएको छ ।
कुर्नियावानको मृत्युपछि प्रदर्शनकारीले शुक्रबार जकार्तामा घुमुवा प्रहरीको ब्रिगेडको मुख्यालय घेराउ गरेका थिए । त्यहाँ केहीले ट्राफिक चिह्न र अन्य पूर्वाधार नष्ट गरे । रात पर्दै जाँदा झडप बढ्दै गयो र त्यो छिट्टै राजधानी जकार्ता र बाहिर फैलियो । अश्रुग्यासको प्रहारपछि पनि भिड तितरबितर भइरहेको थिएन । इन्डोनेसियाको दोस्रो ठुलो सहर सुराबायामा प्रदर्शनकारीले सवारी साधनमा आगो लगाउँदै गभर्नरको कार्यालयपरिसरलाई नै आक्रमणको निसाना बनाएका थिए । त्यहाँ पनि सुरक्षा बलले अश्रुग्यास, पानीको फोहोरा प्रयोग गरेका थिए । तर, प्रदर्शनकारीले काठका भाँडामार्फत प्रतिकार गरे । त्यसपछि देशका अन्य सहरमा पनि प्रदर्शन भए । तिनमा पूर्वी पपुवा क्षेत्रको सुराबाया, सोलो, योग्याकार्ता, मेदान, मकास्सर, मानाडो, बान्डुङ र मनोकवारी समावेश छन् ।
इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले शनिबार जकार्ताबाट करिब एक हजार ६०० किलोमिटर पूर्वमा रहेको मकास्सरको क्षेत्रीय संसद् भवनमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको बताएको छ । अधिकारीले शुक्रबार प्रदर्शनकारीले उक्त भवनमा आगो लगाएको बताएका छन् । इन्डोनेसियाका राष्ट्रपतिले २१ वर्षीया कुर्नियावानको मृत्युको कारणमाथि ‘पूर्ण र पारदर्शी अनुसन्धान’ गर्न आह्वान गरेका छन् । इन्डोनेसियाको सेयर बजारमा सेयरको तीव्र बिक्री भइरहेकै समयमा सुरु भएको पछिल्लो विरोध–प्रदर्शनले प्रबोवोको प्रशासनमाथि संकट थपेको छ । तीव्र सेयर बिक्रीका कारण शुक्रबार इन्डोनेसियन रुपैयाँको भाउमै गिरावट आएको थियो । यस्तोमा प्रबोवोले आक्रोशित जनसंख्यालाई आश्वस्त पार्ने प्रयास गर्दा थप आर्थिक मन्दीले आगोमा घिउ थप्न सक्छ ।
निर्वाचित भएपछि ‘लोकतान्त्रिक रूपमा काम गर्ने’ वाचा गरेका प्रबोबोले आवश्यक परेमा ‘निर्णायक कारबाही’ गर्नबाट पछि नहट्ने चेतावनी दिएका थिए । बढ्दो संकटबिच पूर्वजनरलले सत्ता जोगाउन निरंकुश तरिका अपनाउन सक्ने चिन्ता बढेको छ ।
–अलजजिराबाट